
पूर्वको विकट पहाडी जिल्ला खोटाङमा जन्मी, हुर्की, बढेको मैले पत्रकारितामा पाइला राखेको तीन दशक नाघिसकेको छ । जिल्लाबाट अवसर खोजीमा काठमाडौं पसेको म अनायासै पत्रकारितामा लागें । समयको चक्र अचम्मको छ । नाम चलेको वकिल बन्ने उद्देश्य बोकेर गाउँबाट सहर पसे पनि पत्रकारितामा रमाइरहेको छु ।
हुँदाखाँदाको शिक्षक जागिर चटक्कै छाडेर संवत् २०४८ को अन्त्यतिर काठमाडौं पसें । नेपाल राष्ट्रिय शिक्षक संगठनको राजनीति गरेको आरोपमा तत्कालीन जिल्ला शिक्षा अधिकारीले महिनामा तीनपटक दिक्तेल झिकाई विनाकारण स्पष्टीकरण सोधिरहेपछि शिक्षण पेसाप्रति मोहभंग भयो । त्यसपछि जागिरै छाडिदिएँ ।
जागिर खान धेरैले दौडधुप गरिरहेको बेला एक्कासि जागिर छाडेपछि मेरा साथीभाइको मात्र होइन बाउ, काकाहरूको मनसमेत कुँडियो । जागिर छाडेकोमा मलाई माया गर्ने गाउँका एक हजुरबुवाले ए नाति तँ बौलाइस् कि क्या हो ? भनेको क्षण झल्झली सम्झिरहेको छु । ०५४ मा रेडियो नेपालमा ‘हाम्रो गाउँघर’ कार्यक्रम सञ्चालन गर्दा तिनै हजुरबाको अन्तर्वार्ता प्रसारण गरें । त्यसपछि हजुरबाले भेटेपिच्छे त्यो सन्दर्भ खोतल्थे ।
काठमाडौं पसेलगत्तै ०४९ माघमा काठमाडौंको तात्कालिक नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा भएको नेकपा एमालेको पाँचौं राष्ट्रिय सम्मेलन मलाई पत्रकारिता प्रवेश गराउने पहिलो खुड्किलो बन्यो । त्यो महाधिवेशनमा बहुमत पक्षबाट मदन भण्डारीले पेस गरेको जनताको बहुदलीय जनवाद र अल्पमत पक्षबाट सीपी मैनालीको परिमार्जित नौलो जनवादमा व्यापक बहस र पैरवी भयो । काठमाडौंको डिल्लीबजारस्थित प्रकाश साप्ताहिकको कार्यालयमै अल्पमत पक्षधरको कार्यालय थियो । एमाले अखिलको राजनीतिमा संलग्न पंक्तिकारसमेत अल्पमत पक्षधरको समर्थक भएकाले प्रकाश साप्ताहिकमा पुगिरहन्थे । यसैक्रममा म पत्रकारिताप्रति आकर्षित हुँदै गएँ । त्यसो त नेपाल ल क्याम्पसमा अनेरास्ववियु प्रारम्भिक कमिटीले प्रकाशन गर्ने मासिक मुखपत्रमा संलग्न भए पनि पत्रकारितातर्फ रुचि बढ्दो थियो ।
एमालेको पाँचौं महाधिवेशनमा अल्पमत पक्षधरको हारपछि बहुदलीय जनवाद पक्षधरले प्राप्त गरेको विजय उद्दण्डतामा परिणत हुँदै गएकाले पनि राजनीति छाड्नुपर्ने अवस्था आइरहेको थियो । भण्डारीको रहस्यमयी निधनपछि एमालेमा मौलाउँदै गएको बहुमतको उद्दण्डताले अल्पमत पक्षधरलाई झनै किनारा लगाउन थालेपछि त्यसको प्रभाव निरन्तर विद्यार्थी राजनीतिमा पनि पर्न थाल्यो । अल्पमतमा लागेका विद्यार्थीमाथि अखिल नेतृत्वको दृष्टि सकारात्मक थिएन । त्यसैबेला भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा बहुमत पक्षधरले अल्पमत पक्षधरलाई किनारा लगाए । त्यो अवस्थाले त्यतिबेला धेरै विद्यार्थी बारम्बार प्रकाश साप्ताहिक पुगिरहन्थें । प्रकाशमा हरि रोका दाइ बस्ने भएकाले अरू साथीको अनुपातमा पंक्तिकारलाई प्रवेश अलि सजिलो थियो । सजिलोकै कारणले नियमित पुग्न थालें । प्रकाशमा नियमित धाउनेक्रममै पत्रकारितामा प्रवेश गर्ने माध्यम बन्यो । पत्रकारितामा रम्न चाहने इच्छा रोका दाइले समर्थन जनाएपछि बोधराज त्रिपाठी दाइको सहयोगमा पूरा भयो ।

प्रकाश साप्ताहिकमा काम गर्न थाले पनि मासिक तलब थिएन । सम्पादक बोधराज त्रिपाठीबाट कहिलेकाहीं बाटा खर्च पाउँथें । पत्रिका निकाल्ने अघिल्लो दिन दुई छाक मासुभात टन्न खान पाइने भएकाले मात्र होइन, अर्को विकल्पसमेत नभएकाले प्रकाश धाउन बाध्य थिएँ । त्यतिबेला प्रकाश आर्थिक संकटमा थियो । तसर्थ, सम्पादकले चाहेर पनि मलाई तलब दिन सक्दैनथे । पत्रकारिताप्रति आकर्षित म प्रकाशसँग सम्बन्ध घटाउने पक्षमा थिइनँ । त्यसैले साताको केही कप चिया र दुई छाक मासुभातमै चित्त बुझाएर प्रकाश साप्ताहिक धाइरहन्थें ।
०५२ अन्त्यतिर प्रकाश साप्ताहिकको व्यवस्थापन र सम्पादकबीच खटपट सुरु भयो । त्यो खटपटले मलाई फाइदा पुर्यायो । खटपट बढ्दै गएपछि ०५३ भदौदेखि त्रिपाठी दाइले प्रकाश छाडेर सौर्य साप्ताहिक प्रकाशन थाले । मासिक २ हजार ५ सय तलब खानेगरी सौर्य साप्ताहिक संवाददाताको भूमिका पाएँ । त्यसरी सुरु भएको पत्रकारिता यात्रा आजसम्म जारी छ । पत्रकारितामा लागेपछि सुख–दुःख सँगाल्न पाएँ । प्रकाशबाट सुरु भएको पत्रकारिता यात्रा जनआस्था, समदृष्टि, लुम्बिनी दैनिक (बुटवल), प्रतिपक्ष साप्ताहिक हुँदै स्पेसटाइम दैनिक जोडिनुअघि पुनः प्रकाश साप्ताहिकमै पुगें ।
शिक्षण पेसा तिलाञ्जली नदिएको भए पत्रकार बन्ने थिइनँ । पत्रकारितामा लागेर राजनीतिक, साहित्यिक, आर्थिकलगायतका क्षेत्रसम्बद्ध मूर्धन्य व्यक्तिसँग भेटघाट गर्ने अवसर पाएँ । खोटाङमा जन्मी घाँस दाउरा गर्ने किसानको छोरो पत्रकारितामा लागेकाले प्रधानमन्त्रीसँग दोहोरो कुराकानी गर्न सकें । आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा लुकेको कैयौं तथ्य उजागर गर्न सकें । यसर्थमा आफूलाई भाग्यमानी ठान्छु । अनि खोटाङे सन्तान भएकोमा गौरव गर्छु । तर आफूलाई जन्माउने, हुर्काउने खोटाङका लागि केही गर्न नसकेकोमा मन चिसो भइरहन्छ । तर पनि खोटाङलाई बिर्सेको छैन ।



