१०० पूर्णांकको गणितमा ११० नम्बर पाउने वैज्ञानिक



उच्चशिक्षामा भौतिकशास्त्र र गणितको अध्ययन गर्ने सबैले बोस आइन्स्टन सांख्यिकीको अध्ययन गर्छन् । नयाँ प्रकारको सांख्यिकीको विकास १ जनवरी १८९४ मा भारतमा जन्मेका प्रोफेसर सत्यन्द्रनाथ बोसले गरेका थिए । उनको नाममै सांख्यिकीमा प्रयुक्त हुने कणको नाम बोसन राखिएको थियो । यो सांख्यिकी ती कणमा लागू हुने गर्छ, जो एक समान हुने गर्छन् र उनीहरूको आपसमा कुनै अन्तर हुँदैन । उच्चशिक्षामा यस सांख्यिकीको विशेष महत्व रहेको छ ।

कलकत्तामा जन्मेका यी वैज्ञानिक रेल्वे अधिकारी सुरेन्द्रनाथ बोसका छोरा थिए । विद्यार्थी जीवनमा सत्यन्द्र बोसको कक्षामा प्रथम हुने लक्ष्य थियो । उनी धेरै प्रतिभाशाली थिए । उनको प्रतिभाको परिचय स्कुलमा हुने गरेका चाखलाग्दा घटनाबाट थाहा हुन्छ । उनले परीक्षाको उत्तरकापीमा एक प्रश्नलाई एकभन्दा बढी तरिकाले समाधान गरेका थिए । यसकारण गणितको प्रश्नपत्रको उत्तरकापीमा उनलाई एकपटक सय पूर्णांकमा एक सय दस नम्बर दिइयो । त्यहीबेला शिक्षकले भविष्यवाणी गरेका थिए,‘ बोस एक दिन महान् गणितज्ञ बन्नेछन् ।’ उनको प्रतिभा देखेर उनका सहपाठीसमेत सत्यन्द्रको उपस्थितिमा आफूहरूको प्रथम स्थान प्राप्त हुँदैन भन्नेमा सहमत थिए । सन् १९१५ सत्यन्द्रले कलकत्ता विश्वविद्यालयमा एमएस्सी प्रथम वर्षमा प्रथम स्थान प्राप्त गरे ।

त्यही वर्ष उनले सापेक्षिताको सिद्धान्तमा आइन्स्टाइनद्वारा जर्मनीमा लेखिएको मूल शोधपत्रलाई अंग्रेजीमा अनुवाद गरे ।  उनले सन् १९१६ मा एमएस्सी उत्तीर्ण गरे । त्यसपछि ढाका विश्वविद्यालयमा भौतिकशास्त्रको प्राध्यापक भएका थिए । त्यसताका प्रथम विश्वयुद्ध चलिरहेको थियो । विश्वयुद्धका कारण युरोपमा भएका अनुसन्धानका समाचार बाहिर आएनन् । सम्भवतः त्यसताका भौतिकविज्ञानमा धेरैजसो महत्वपूर्ण अध्ययन सुरु गरिएका थिए । आफ्नो अध्ययनको विषयमा जानकारी दिन उनले देवेन्द्रमोहन बोसलाई लेखेको पत्रबाट यस कुराको पुष्टि हुन्छ ।

देवेन्द्रमोहन बोस जर्मनीमा बसेर चुम्बकत्वबारे अध्ययन गरिरहेका थिए । युद्ध सुरु भएका कारण उनी स्वदेश फर्कन सकिरहेका थिएनन् । उनीबाट सत्यन्द्रनाथ बोसलाई आवश्यक जानकारी प्राप्त भइरहेको थियो ।  सन् १९२१ मा सत्यन्द्र बोस ढाका विश्वविद्यालयमा भौतिकशास्त्रका रिडर बने । सन् १९२३ मा उनले माल्टको समीकरणसँग सम्बन्धित अनुसन्धानकार्यलाई ब्रिटिस ‘फिलोसोफिकल’ म्यागजिनमा प्रकाशित गर्न पठाए । यहीँबाट उनको प्रसिद्धिको इतिहास सुरु भएको मानिन्छ । उनको शोधपत्र सम्बन्धित पत्रिकाका सम्पादकले प्रकाशित गर्न अस्वीकृत गरिदिए तर बोस यसबाट निराश भएनन् । उनलाई आफ्नो काम उच्च श्रेणीको छ भन्ने विश्वास थियो । बोसले आफ्नो अस्वीकृत रचना रायका लागि विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई पठाए ।

आइन्स्टाइनले उनको लेख पढे र उत्तरमा बोसलाई लेखे, ‘तपाईंको कार्य गणितका क्षेत्रमा महत्वपूर्ण योगदान हो ।’ आइन्स्टाइन स्वयम्ले उनको आलेख जर्मनी भाषामा अनुवाद गरे । सन् १९२४ मा प्रकाशित यस लेखले बोसलाई विश्वचर्चित बनायो । उनको नाम महान् वैज्ञानिक आइन्स्टाइनसँग जोडियो ।

सत्यन्द्रनाथ बोसले ढाका विश्वविद्यालयमा प्रोफेसरका निम्ति आवेदन दिए । त्यहाँका अधिकारीले बोसलाई भने, ‘तपाईंसँग पीएचडी तथा डीएससीको उपाधि नै छैन । यसनिम्ति यी डिग्री हुनुपर्छ । अतः तपाईं आइन्स्टाइनबाट कुनै सर्टिफिकेट लिएर आउनुहोस् ।’ प्रोफेसर सत्यन्द्रनाथ बोसले आइन्स्टाइनलाई यस किसिमको आसय भएको पत्र पठाए । आइन्स्टाइनले उत्तर दिए, ‘मसँगै प्रकाशित तपाईंको कार्यले तपाईंका देशवासीलाई के विश्वास होस् भने यो कार्य पीएचडीभन्दा पनि उच्च छ ।’

सन् १९२४ मा सत्यन्द्र बोस विश्वविद्यालयबाट बिदा लिएर मेडम क्युरीमातहतमा शोधकार्य गर्न पेरिस गए । उनले त्यहाँ दस महिनासम्म शोधकार्य गरे, जसमा उनले केही महिना मेडम क्युरी तथा ल्युसदा ब्रोगलीसँग बिताएका थिए ।  पेरिसबाट बोस बर्लिन गए, जहाँ अल्बर्ट आइन्स्टाइनद्वारा उनको भव्य स्वागत गरियो । त्यहीँ उनको प्लाङ्क, सोडिगर, पोली, हैजनवर्ग तथा सोमर पन्डजस्ता विश्वविख्यात वैज्ञानिकसँग भेट भयो । बोसले आइन्स्टाइनलाई गुरु माने तर बोसले उनीसँग कहिल्यै पनि सँगै बसेर काम गरेनन् ।

बर्लिनबाट फर्केपछि उनी भौतिकविज्ञानको प्रोफेसर तथा विभागप्रमुख बने । सन् १९५६ मा अवकाशपछि उनी विश्वभारती विश्वविद्यालयको उपकुलपति भए । उनले भौतिकविज्ञानको क्षेत्रमा सयौँ लेख प्रकाशित गरेका थिए । उनलाई आफ्ना विद्यार्थीसँग धेरै झुकाव थियो । उनले अनेकौँपटक आफ्ना विद्यार्थीलाई आर्थिक सहायता दिएका थिए । बेलुकी कक्षा समाप्त भएपछि उनी विद्यार्थीसँग बसेर विज्ञान विषयमा छलफल चलाउँथे ।

विश्वभारती विश्वविद्यालयबाट अवकाश प्राप्त गरेपछि उनलाई १९५८ मा लन्डनको फेलो अफ रोयल सोसाइटीको सम्मान प्राप्त भयो । यही वर्ष भारत सरकारले उनलाई पदम विभूषणबाट सम्मान गर्यो । वृद्धावस्थामा पनि उनी साधुसन्तको भेषधारण गरेर वैज्ञानिक शोधकार्यमा लागिरहे । ४ फेब्रुअरी १९७४ मा हृदयाघातका कारण यी महान् वैज्ञानिक सत्यन्द्रनाथ बोसको निधन भयो ।

 

प्रतिक्रिया दिनुहोस्