‘आपतविपतमा हामी छौं, चिन्ता नगर्नूस् है’


मान्यवर नगर उपप्रमुखज्यू

आराम छु । आरामको कामना गर्छु । वर्ष दिनपछि फेरि चिट्ठी लेख्दै छु । अलिकति समय निकालेर अद्योपान्त पढ्न झर्को नमान्नूहोला है ।

विश्वव्यापी कोरोना महामारीबाट हलेसी तुवाचुङ नगरपालिकावासीसमेत अछुतो रहेन सकेनन् । हजुरले गत वर्ष (२०७७ मा) हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका हलेसी बजार, माल्खु, तल्लो कात्तिके, ऐंसेलुखर्क र गैरीगुठका विपन्न परिवारलाई खाद्यान्न बाँड्नुहुँदा खाद्यान्न पाउनेभन्दा बढी म खुसी भएको थिएँ ।

यसपटक पनि त्यत्तिकै खुसी छु । नगर उपप्रमुखले प्रयोग गर्ने सरकारी गाडी कोरोना संक्रमित अस्पताल पुर्याउन र उपचारपछि घरसम्म फर्काउने प्रयोजनका लागि घोषणालगत्तै कार्यान्वयनमा आएपछि मलगायत नगरवासी खुसीले पुलकित भएका छौं । खोटाङे जनप्रतिनिधिमध्ये सबैभन्दा पहिले तपाईंले घोषणा गर्नुभएको परोपकारी कामको जति नै प्रशंसा गरे पनि कमै हुन्छ ।

हामी कति भाग्यमानी । तपाईंको परोपकारी कामले आपतविपतका बेला ‘हामी (स्थानीय सरकार) छौं, कत्ति पनि चिन्ता नगर्नूहोस् है’ भन्ने सन्देश प्रवाह गरेको छ । कामले प्रमाणित गरेपछि मुखले भनिरहन पर्दैन रहेछ ।

११ वडामात्रै समेटेर हलेसी तुवाचुङ नगरपालिका बने पनि डिकुवाको बाइटारबाट राजापानीको भाटबेंसीसम्म यातायात साधनमा ओहोर–दोहोर गर्न त निकै समय लाग्छ भने पैदल हिँडेर त झन्डै एक दिन लाग्छ । बाइटार र भाटबेंसीका कोरोना संक्रमितलाई अलि गाह्रो भयो भने हलेसीमा स्थापित सुविधासम्पन्न आइसोलेसनसम्म ल्याउन सजिलो छैन । निषेधाज्ञाले सार्वजनिक यातायात साधन गुडेका छैनन् । जटिल प्रकृतिका संक्रमितलाई डोकोमा बोकेर ल्याउन समय लाग्ने नै भयो । तर, हजुरले प्रयोग गर्ने गाडीले कोरोना संक्रमितलाई अस्पताल वा आइसोलेसनसम्म लैजाने र घर फर्काउने प्रयोजनका लागि प्रयोगमा ल्याउन स्वविवेकले निर्णय गर्नु भएपछि सेवाग्राही संक्रमित मभन्दा धेरै खुसी भएको हुनुपर्छ । आपतविपतमा ज्यान बचाउन सहयोग गर्ने तपाईंलाई उनीहरूले भलो सोच्नुमात्रै पनि अमूल्य आशीर्वाद हुन सक्छ ।

अस्पताल र बिरामीका प्रकृतिअनुसार एम्बुलेन्सलाई तीन श्रेणीमा विभाजन गरिएका हुन्छन् । त्यसमध्ये ‘क’ श्रेणीका एम्बुलेन्सले चिकित्सक र मेडिकल सामग्री बोक्ने गर्छ । नर्ससहित बिरामी बोक्न ‘ख’ श्रेणीका एम्बुलेन्स प्रयोग गरिन्छ भने ‘ग’ श्रेणीकाले सामान्य वर्गका बिरामी र उनलाई आवश्यक सामान बोक्छन् । तर, तपाईंले प्रयोग गर्दै आउनुभएको बा१झ ६४२४ नम्बरको गाडीले नगरका सबै वर्गका बिरामीलाई अस्पताल पुर्याउन र उपचारपछि घरसम्म फर्काउन प्रयोग गरिनेछ । त्यतिमात्रै होइन, स्वास्थ्य सचेतना अभियानमा स्वास्थ्यकर्मीलाई वडा–वडामा पुग्न सहज हुने नै भयो । वडा–वडामा सञ्चालित स्वास्थ्यचौकीसम्म औषधि र स्वास्थ्य सामग्री पुर्याउन कति सजिलो भयो कति । यतिबेला नगरवासीलाई योजस्तो सुखद खबर अरू केही हुन सक्दैन ।

तपाईंलाई थाहा छ नि ? घर–आँगनबाटै यातायात साधन गुडे पनि गन्तव्यसम्म पुग्दा लाग्ने भाडा नभएर पैदलै हिँड्ने हामीमध्ये कतिपय नगरवासीको वास्तविकता । सेवा पाउने कोरोना संक्रमितले बा१झ ६४२४ नम्बरको गाडी र नगर उपप्रमुख बिमला राईलाई पछिसम्म सम्झनेछन् ।

उपप्रमुखज्यू

दुर्छिम स्वास्थ्यचौकीको एम्बुलेन्स बिग्रेको थुप्रै भयो । भारतीय दूतावासबाट प्राप्त एम्बुलेन्स प्रयोगहीन भएपछि हलेसी तुवाचुङ नगरपालिका एम्बुलेन्सविहीन भएको हो । आगामी आर्थिक वर्षका लागि तय गरिने बजेटमा एम्बुलेन्स खरिदका लागि जनप्रतिनिधिको एउटै आवाज हुनुपर्छ भन्ने नगरवासीको मान्यता छ ।

उपप्रमुखको गाडीले मात्रै बिरामी अस्पताल, आइसोलेसन पुर्याउन र घर फर्काउन नसक्ने अवस्थामा स्थानीयस्तरमा गुड्ने अटोलाई पनि एम्बुलेन्सका रूपमा सदुपयोग गर्दा कामयावी नै होला ।

तस्बिर सौजन्य : नवीन चाम्लिङ राई

कोराना संक्रमित बोकेर ओहोरदोहोर गर्ने गाडीचालकलाई विशेष सुविधा दिन कन्जुस गर्नुहुँदैन होला । सायद त्यस्तो व्यवस्था गर्नुभएकै होला । उहाँलाई मासिक तलबबाहेक जोखिम भत्ता र बीमाको व्यवस्था गर्नुभएकै हुनुपर्छ । पीपीईको व्यवस्थाबारे भन्नै परेन । भोलि अटो एम्बुलेन्स सञ्चालन गर्न परेमा उनीहरूलाई पनि त्यस्तो सुविधाबाट वञ्चित गराउनुभएन ।

चन्दननाथ नगरपालिका जुम्लाकी नगरप्रमुख कान्तिका सेजुवाल, प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेल र स्वास्थ्य शाखा प्रमुख पृथ्वीनाथ योगीले स्यानिटाइजर, मेडिकल मास्क, भिटामिन ‘सी’ र ‘डी’, च्यवनप्रास, एक क्यारेट अण्डा, साबुन र चना बोकेर होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई घर–घर पुगेर भेट्ने अभियान थालेका छन् । हलेसी तुवाचुङ नगरपालिकाले पनि त्यसै गर्नुपर्छ भन्ने खोजेको होइन । तर, जटिलप्रकारका कोरोना संक्रमितको मनोबल बढाउने काम गर्न आइतबार नै नपर्खनुहोला है । नगरवासीका हैसियतले यति अनुरोध गरें ।

खोटाङमै अक्सिजन प्लान्ट र पीसीआर मेसिन स्थापना गर्न जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन भइसकेको छ । हलेसी तुवाचुङ नगरपालिकाले पनि सम्भव भएसम्म त्यतातिर ध्यान दिने हो कि ? नगरले अक्सिजन सिलिन्डरमात्रै खरिद गर्न सकेको खण्डमा पनि कामको शुभारम्भ त भइहाल्नेछ ।

नगरवासीलाई बिस्तारै रोग र भोकले सताउला कि भन्न पीर छँदै छ । भोकबाट बचाउने सजिलो उपाय अपनाउन सकिन्छ । खाद्य बैंक स्थापना गरेर भोकबाट जोगाउन सकिन्छजस्तो लाग्छ । ‘हुनेले दिनूहोस्, नहुनेले लिनूहोस्’ भन्ने अभिप्रायले खाद्य बैंक स्थापना गर्न सकिन्छ । यो अभियानमा नगरका होटल व्यवसायी, जनप्रतिनिधि, राजनीतिक दलसम्बद्ध नेता, कर्मचारी, शिक्षक, समाजसेवी, व्यापारीलगायत मनकारी नगरवासीसँग अनुरोध गर्न सकिन्छ । हजुर आफैं जानकार हुनुहुन्छ । तैपनि यति लेखें । आफ्नै सम्झी माफी दिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्