विद्यार्थीलाई पिट्नु धार्मिक काम



प्रसिद्ध चिनियाँ नेता माओ त्से तुङलाई सात वर्ष उमेरमा मात्रै स्कुलमा भर्ना गरिएको थियो । उनले आफ्नो गाउँ साओसानकै प्राइमरी स्कुलमा औपचारिक अध्ययन थालेका थिए । त्यस स्कुलमा एकजना क्रूर शिक्षक थिए । उनले आफ्नै घरमा स्कुल खोलेका थिए । त्यसमा केही फी लिएर उनी विद्यार्थीलाई पढाउने गर्थे ।

बीसौं शताब्दीको सुरुतिरको त्यो स्कुलमा केही किताब पनि प्रयोग गरिन्थे । ती किताब खालि सहरकै कुरा र चर्चा–परिचर्चाले भरिएका हुन्थे । त्यसमा गाउँको आवश्यकताअनुसारको कुरा केही पनि हुँदैनथ्यो ।

त्यसमाथि शिक्षक आफैं पनि गाउँलाई, गाउँका किसानलाई र किसानका बच्चालाई घृणा गर्ने व्यक्ति थिए । माओ भर्ना भएको सो स्कुल पुरानो ढंगले चल्नेखालको थियो । त्यहाँ पुरानै ढंगले किताब रटाउने, घोकाउने गरिन्थ्यो । माओ स्कुलकालदेखि नै तीक्ष्ण बुद्धि र राम्रो स्मरण शक्ति भएका विद्यार्थी थिए । त्यसैले उनले कम्फ्युसियस नामका पुराना चिनियाँ धर्मगुरुका चारवटै मूल ग्रन्थ कण्ठस्थ पारे । ती शिक्षकले भने ती चारवटै मूल ग्रन्थको व्याख्या विश्लेषण गरेर बुझाउने जरुरत नै सम्झनेन् । खालि सुगालाई झैं रटाउनेमात्र काम गरे । भुटिभाङ केही नबुझीकन पनि कण्ठस्थ गर्नुपरेकोमा माओलाई आफ्नो पढाइप्रति नै अरुचि हुन थाल्यो । ती मूल ग्रन्थप्रतिको उनको रुचिमा पनि धेरै कमी आउन थाल्यो ।

हुन पनि कन्फ्युसियसका ती किताब साढे दुई हजार वर्ष पुराना थिए । ती किताबको भाषाशैली पनि, यहाँको संस्कृत भाषाजस्तै व्यवहारमा कहीं कतै प्रयोग हुँदैनथ्यो । साढे दुई हजार वर्ष पुरानो किताब घोकाएर शिक्षकले आफ्ना विद्यार्थीलाई हैरान पारे ।

त्यसैले अलिकति अक्षर ज्ञान हुन थाल्नासाथ माओले नयाँ भाषा, नयाँ शैली भएका नयाँ किताब पढ्न थाले । उनले आफ्नो स्कुले जीवनबारे लेखेका थिए, ‘मैले कन्फ्युसियसका ग्रन्थ पढेको थिएँ । तर, ती ग्रन्थ मलाई पटककै रुचिकर लागेनन् । मेरो रुचि पुरानो चीनका रोमान्स र विद्रोहका कथामा बेसी थियो । मैले ‘चोफइचुवान’, ‘चिन चुङ चुवान’, ‘सुई हु चुवान’, ‘फानतान’जस्ता किताब त्यसबेलै पढेको थिएँ, जब म निकै सानै थिएँ । मैले ती पुस्तक शिक्षकको कडा निगरानीका बाबजुद, छलीछलीकन लुकाएर पढेको थिएँ । उनी यस्ता अवैध किताबलाई घृणा गर्थे र त्यसको निन्दा पनि गर्थे । म र मेरा अन्य साथीले भने ती किताब स्कुलमै पढ्ने गथ्र्यौं । जब शिक्षक हामी नजिकै आउँथे, तब हामी ती किताब कुनै धर्मग्रन्थमुनि लुकाइदिन्थ्यौं । यसरी नै लुकीलुकी पढ्न थाल्दै गएपछि हामीलाई कैयौं कथा–कहानी कण्ठस्थ नै भए । यस विषयमा हामीभन्दा ठूलाबडा मानिसलाई भन्दा बेसी ज्ञान हामीलाई थियो । ती कथा ती ठूलाबडालाई पनि रुचिकर लाग्थ्यो । त्यसैले, उनीहरूलाई जुन–जुन कथा याद थियो, ती कथा हामीलाई सुनाउँथे र हामीले आफूले पढेका कथा सुनाउँथ्यौं । मलाई लाग्छ– धेरैभन्दा धेरै ज्ञान सिक्ने यो किशोरावस्थामा ममाथि ती कथाको प्रभाव अत्यधिक पर्यो ।’

प्राइमरी स्कुलमा केही हिसाबकिताब सिक्न थालेपछि माओलाई उनका पिताले बहीखाता राख्ने काम पनि सुम्पे । स्कुलमा पढ्नेदेखि लिएर आफ्नो खेतमा काम गर्ने र पिताको बहीखाता राख्ने काम एक्कैचोटि गर्नुपर्दा उनलाई निकै बोझ भयो । तापनि उनले मिहिनेतपूर्वक सबै काम फत्ते गर्दै कथा–कहानी पढ्न आफ्नो स्व–अध्ययनलाई पनि जारी राखे ।

माओका शिक्षक कुटपिट गरेर पढाउने काममा ‘मास्टर’ नै थिए । ‘आफ्ना विद्यार्थीको मस्तिष्कमा विद्या घुसाउने हो भने लठ्ठी प्रयोग गर्नुपर्छ’ भन्ने उनको मान्यता थियो । विद्यार्थीको बन्द दिमाग खोल्न लठ्ठी प्रयोग गर्न उनी अलिकति पनि हिच्किचाउँदैनथे बरु लठ्ठीले पिट्न पाइयो भने उनी खुसी नै हुन्थे । अति नै धेरै कठोर शिक्षकको यो क्रूरतामाथि चीनको तत्कालीन सामन्ती व्यवस्थाले धार्मिक पवित्रता प्रदान गरिराखेको थियो– आफ्ना विद्यार्थीलाई पिट्नु धार्मिक काम हो, पवित्र कार्य हो भनेर ।

त्यसैले आफ्ना स–साना विद्यार्थीलाई पिट्न पाएमा माओका शिक्षक पनि गौरव महसुस गर्थे । उनको धारणा थियो– म विद्यार्थीलाई पिटेर सुधार्छु, राक्षसलाई मानिस बनाउँछु र बिग्रिएको भूतलाई निकालेर फ्याँक्छु ।

लठ्ठीको मारलाई ‘विद्यार्थीका लागि वरदान’ मान्ने शिक्षकको क्रूरताको सिमाना नै थिएन । विद्यार्थीलाई हात, खुट्टा, ढाड र टाउकोमा पिटेर लठ्ठी भाँच्नु त उनका लागि दाल–भात खाएसरह थियो । कान समातेर, टाउको झुकाएर दिइने सजाय तबसम्म जारी रहन्थ्यो, जबसम्म एउटा धूप बत्ती जलेर खरानी हुँदैनथ्यो ।

कुटपिट गर्न यति कुख्यात शिक्षकको लठ्ठीको पिटाइ माओले पनि केही खाइसकेका थिए । पढ्ने, कण्ठस्थ पार्ने कुरामा माओ जतिसुकै होसियार र तेज भए पनि ती क्रूर शिक्षकले उनलाई पनि लठ्ठीको मार खुवाउन कहिले पनि छाडेनन् । अलिकति कमबेसीमात्रै हो, माओको मनमा पनि कठोर शिक्षकको क्रूरतादेखि अलिकति भय थियो तर उनी डरछेरुवाचाहिँ थिएनन् । शिक्षकद्वारा आफूहरूमाथि प्रयोग गरिँदै आएको यो हिंसाले उनको विद्रोही मनलाई पनि चुनौती दिएझैं भान भयो । त्यसैले उनले आफ्ना शिक्षकलाई नै पाठ पढाउने जुक्ति खोज्न थाले ।

आखिर एक दिन बालक माओले आफ्ना क्रूर शिक्षकको विरोध गर्ने र उनलाई पाठ सिकाउने दृढ संकल्पसाथ गाउँ छाडेर जाने निर्णय गरे !
स्कुलमा एउटा अचम्मको नियम थियो– जब कुनै विद्यार्थीलाई आफ्नो पाठ सुनाउन शिक्षकको आदेश हुन्थ्यो, तब त्यो विद्यार्थी आफ्नो ठाउँ छोडेर शिक्षक नजिकै गएर उठ्नुपथ्र्यो र आफ्ना विद्यार्थी–साथीतिर हेरेर घोकेको पाठ सुनाउनुपथ्र्यो । र, जब माओको पालो आयो, तब माओले त्यो अचम्मको नियमको विरोध गरे, साथै शिक्षक नजिकै गएर उभिन इन्कार गर्दै भने, ‘तपाईं बसीबसीकन नै मेरो आवाज सुन्नुहुन्छ भने त्यहाँ आएर किन उभिनुपर्यो ?’

आफ्नो सानो विद्यार्थीले पुरानो मान्यता तोडेको देखेर, उल्टो आफैंलाई प्रश्न गर्न थालेको देखेर शिक्षकको पारो चढ्यो । हजारौं सालदेखि चलिआएको नियमलाई माओजस्ता सात वर्षको सानो फुच्चे विद्यार्थीले चकनाचुर पार्न खोजेको देखेर उनी रिसले चुर भए । उनका आँखा राता–राता भए, जिउ थर्थरी काम्यो । रिसले आगो भएका शिक्षकले कोठा नै थर्किने स्वरमा आदेश दिए, ‘यता आइज ।’

माओ आफ्नो कुर्सी पनि घिसार्दै शिक्षक नजिकै गए । र, शिक्षक जसरी कुर्सीमा बसिरहेका थिए, त्यसरी नै उनीसरह नै जमेर बसे । शिक्षकले उनलाई जबर्जस्ती उभ्याउन खोजे । उनी पनि सजिलै उभ्भिए तर उभ्भिनासाथ उनी स्कुलबाट बाहिर भागे ।

हो, उनी साँच्चै स्कुलबाट भागे । त्यहाँबाट भाग्दै उनी पहाड चढ्न थाले । र, तीन दिनसम्म पहाडैपहाड भागिरहे । यता माओको परिवार साह्रै नै दुःखी भयो, क्रूर शिक्षक पनि सुखसँग बस्न सकेनन् । परिवारले उनको चारैतिर खोजी गर्यो ।

माओलाई धेरै नै टाढा भागिसकेकोजस्तो लागेको रहेछ । र, सहर नजिक–नजिक गइरहेको भान भएको थियो । तर, उनी तीन मिलभित्रै घुमिरहेका थिए । आखिरमा उनको खोजीमा निस्केका परिवारजनले उनलाई समातेरै छाडे । उनलाई समातेर घरमा ल्याइयो ।

तर, घरमा भने अचम्मको वातावरण थियो । पहिले–पहिले कठोर शिक्षकको जस्तै क्रूर स्वभाव भएका माओका पिता आज चुपचाप थिए ।

पहिले–पहिले उनलाई पिट्न अलिकति पनि नहिच्किचाउने माओका पिताले यसपटक पिट्ने र गाली गर्ने काम गरेनन् । उनले पिटाइ र गालीले बच्चाहरू नसुध्रने देखेर केही पनि गरेनन् ।

आफ्नो पितामाथि आफ्नो विद्रोहले राम्रो प्रभाव परेको देखेर माओ खुसी भए । त्यसमाथि क्रूर शिक्षक पनि यो तीन दिनभित्र धेरै फेरिएका रहेछन्, उनले पनि विद्रोही माओमाथि कुनै पनि प्रकारले गाली गर्ने र कुटपिट गर्ने काम गरेनन् । पछि गएर माओले यो विद्रोहलाई ‘आफ्नो पहिलो सफल हडताल’ भनेर भनेका थिए ।

माओले आफ्नो जीवनकालमा यस्ता सफल संघर्ष धेरै गरे । त्यस्ता धेरै विद्यार्थी संघर्षको नेतृत्व पनि गरे । उनले यस्ता संघर्षबारे धेरै अध्ययन, चिन्तन–मनन पनि गरे । सन् १९४९ मा चीनमा माओको नेतृत्वमा भएको जनवादी क्रान्तिको सफलतापछि आफ्नो लामो संघर्षपूर्ण जीवनमा संगालेका संघर्षका अनुभव र चिन्तन मननबाट प्राप्त ज्ञानलाई एकैठाउँमा समेटेर उनले शिक्षामा पनि परिवर्तन गर्ने प्रयास थाले । सन् १९६४ देखि माओको नेतृत्वमा भएको शैक्षिक परिवर्तनलाई ‘महान् समाजवादी शिक्षा आन्दोलन’ भनिन्छ । यही आन्दोलनलाई अझ मजबुत पार्न माओकै नेतृत्वमा भएको ‘महान् सर्वहारावादी सांस्कृतिक क्रान्ति’ले अत्यन्त महत्वपूर्ण भूमिका खेलेको थियो । पाउलो फ्रेरेलगायतका प्रख्यात शिक्षाविद्हरू यसलाई शिक्षण पद्धतिमा गरिएको क्रान्तिकारी परिवर्तनका रूपमा मूल्यांकन गर्छन् । त्यसबेला माओले आफ्नो दुःखद र संघर्षपूर्ण अनुभव र चिन्तन मननलाई एकाकार पारेर चीनको पुरानो शिक्षण पद्धति र पश्चिमी देशबाट आएको नयाँ शिक्षण पद्धतिलाई एकातिर पन्छाएर नयाँ शैक्षिक क्रान्तिको थालनी गरेका थिए ।

त्यस शैक्षिक क्रान्तिअन्तर्गत विद्यार्थीलाई धेरै ठुल्ठूला र मोटा किताबको भारी बोकाउने कामबाट मुक्त गरियो । बन्द कोठाभित्र हप्काएर, कुटेर, पिटेर, थुनेर पढाउने पद्धतिलाई फ्याँकियो । व्यावहारिक ज्ञानबाट सयौं कोस टाढा बसिरहेका शिक्षकको वाक्क–दिक्क लाग्ने, ज्यान नभएका लेक्चरबाजीबाट विद्यार्थीलाई छुट्कारा दिलाइयो । यस्ता पुराना र नयाँ रुढीवादी र अवैज्ञानिक शिक्षण पद्धतिले विद्यार्थीलाई मानसिक यातनामात्रै हुन्छ भन्ने निष्कर्षसहित नयाँ वैज्ञानिक पद्धति र समाजसँग सम्बन्धित सिद्धान्त र व्यवहारका कुरा रुचिकर ढंगले पढाउने तरिका प्रयोग गरियो ।

विद्यार्थीलाई सुगालाई जस्तै घोकाउने रटाउने र सम्झनाको भरमा जाँचमा लेख्नुपर्ने बाध्यताबाट मुक्त गरियो । र, विद्यार्थीको रुचि, क्षमता र समाजको आवश्यकताअनुसारका पाठ्यपुस्तक बनाइयो, उनीहरूभित्रको सिर्जना गर्ने क्षमतालाई विकसित पार्ने, तर्क गर्न सक्ने, सत्यतथ्य खोज्न सक्ने क्षमता निर्माण गर्ने तरिका अपनाइयो ।

यसले शिक्षामा क्रान्ति नै ल्यायो । माओको यो क्रान्ति विश्वभरि प्रख्यात छ । यो विश्वविख्यात शैक्षिक क्रान्तिबाट सबैले सकारात्मक पाठ सिक्नु जरुरी छ ।

सन्दर्भग्रन्थ

– Mao Zedong/compiled by Zhong Weuzian

–New China : First Quarter- Century

–Mao Tse Tung and the Chinese Revolution/Han Suyin

–माओरहंसराज रहबर

–सर्वहारा सांस्कृतिक क्रान्ति

–सांस्कृतिक क्रान्ति र शिक्षा/इतिहासबोध

 

प्रतिक्रिया दिनुहोस्