बाँच्न पाए त हो नि हाँस्न सकिने


निःशब्द छु । मनभरि शुन्यता छ । मस्तिष्क त्यस्तै । भौतिक शरीर बन्द कोठामा कैद छ । हातले कलम, किताब, कापी समाउन मानिरहेको छैन । मनमा अनेकन भावना अंकुराइरहेका छन् । आँखा खुल्न भने बाध्य छन् । छरिएका किताबले आफूलाई नै हेरिरहेको भान हुन्छ । आफूअघि रहेको ऐनाले आफैंलाई गिज्याइरहेजस्तो लाग्छ ।

सकारात्मक सोच्ने प्रयत्नरत छु । तर, कहिलेकाहीं जिन्दगी अर्थहीनजस्तो लाग्न थालेको छ । हतार–हतार सम्हालिन्छु । इच्छा र आकांक्षा जुर्मुराइरहेकै छन् । तर, समय र परिस्थितिले जबरजस्ती चिमोटिरहेजस्तो भान हुन्छ । समयमात्रै होइन, हामी पनि धेर–थोर खराब हौं भन्ने थाहा छ । तर पनि हामी समयलाई मात्र किन दोष दिइरहेका छौं ?

मन सम्हालिएको छैन । भोलिका दिन कसरी सुरुवात गर्ने भन्नेमा चिन्ता होइन, चिन्तन गर्न बाध्य छु । सहरमा घर र चाहेजति पैसा हुनेले महिनौं पुग्ने खाद्यान्नलगायत आवश्यकीय सामग्री भण्डारण गरेर राख्लान् । राखेका छन् । भण्डारण गरिएका खाद्यान्नलगायत सामग्रीमा घुन पर्लान् । एलपीजी ग्यास सिलिन्डरको कुरै नगरौं । भोलि आइपर्ने स्वास्थ्य समस्या दृष्टिगत गर्दै अक्सिजनका सिलिन्डर अटाइ–नअटाइ राख्न भ्याएकै छन् ।

हामीमध्ये धेरैलाई कोरोनाबाट बाँच्न सकिन्छ तर बच्न सकिँदैन भन्ने थाहा हुनैपर्छ । कोरोना संक्रमणले धनी र गरिब छुट्ट्याउँदैन । धनाढ्यले आफूलाई चाहिने जुनसुकै सामान आवश्यकभन्दा धेरै खरिद गर्दा साह्रोगाह्रो पर्दा पीडितले किन्न नपाउने हुन् कि भनेर चिन्ता लाग्छ । हुनेले आवश्यकभन्दा बढी सामग्री जोहो गर्दा खेर पो जाने हुन् कि ? हिजोआज नै अक्सिजन सिलिन्डरको हाहाकार भएको सञ्चारमाध्यममा समाचार पढ्दा, सुन्दा, हेर्दा अत्यावश्यक परेकाले किन्न पने नपाउने हुन् कि ? विचार गरौं न है ।

हुँदा खानेले अनावश्यक सामान जोहो गरेर राख्न सक्दैनन् । हुने खानेले अनावश्यक सामान जोहो गर्दा अत्यावश्यक पर्दा हुँदा खाने मारमा पर्ने नै भए । यस्ता समस्या विद्यमान छँदै छ । हुँदा खानेले बिहान खाए साँझ के खालान् ?

प्रसंग हुँदा खाने र हुने खानेकोमात्रै होइन, इन्द्रेणी सपना बोकेर उच्च शिक्षाका लागि काठमाडौं उपत्यकामा अध्ययनरत निम्नमध्यम वर्गका विद्यार्थी पनि प्रताडित छन् । ‘पार्ट टाइम जब’ गरेर अध्ययन पूरा गर्ने सिलसिलामा काठमाडौंमै अल्झिएका विद्यार्थीले आधारभूत आवश्यकता थाती राख्दै थरिथरिका महँगा औषधि र फलफूल खान बाध्य छन् । त्यो पनि ठिकै छ । ऋणपान गरेर सेवन गरेको औषधि र फलफूलले तंग्रिएला । अर्को महिना काम गरेर ऋण तिरौँला । तर, लकडाउन लम्बिँदै गयो भने ऋण कसरी तिर्ने ? अनि पुनः ऋण माग्दा कसले पत्याउला ? कसैले ऋण पत्याउन छाडेपछिको हालत के होला ?

यति गर्दा गर्दै पनि कोरोना संक्रमित भइहालेमा कहाँ, कसरी परीक्षण गराउने होला ? कंक्रिटको घना जंगल यो सहरमा आफ्नो भन्ने को नै छन् र । भएकाहरु पनि नजिकिन पाउँदैनन् । कस्तो विडम्वना ! कस्तो भयावह परिस्थिति ! लाग्छ– हामी सबै संक्रमित हौं । कतिपयले लक्षण देखिएर पनि परीक्षण गरेका छैनन् । उसको आफ्नै कारण होलान् । आफ्नै व्यथा र बाध्यता होलान् । खै कसले बुझिदिने, कसलाई सुनाउने अनि कसरी बयान गर्ने । यहाँ कसैले कसैलाई माया–ममता र साथभन्दा पनि सहानुभूति र सद्भाव बाडौं न है । खान नपाएकालाई खाद्यान्न बाडौं । भोकले कोही पनि मर्न नपरोस् है । पहिले ज्यान बचाऔं । बाँच्न पाए हाँस्न त छँदै छ नि ।

(लेखक, समाजशास्त्रमा स्नातकोत्तर गर्दै छिन् ।)

प्रतिक्रिया दिनुहोस्