हलेसी १५ दिनका लागि पुनः बन्द, जिल्लाका सबै मठ–मन्दिर नखुल्ने



हलेसी (खोटाङ) । वैशाख १५ गतेदेखि लागू हुनेगरी त्रिधार्मिक (धाम) हलेसी पुनः १५ दिन बन्द हुने भएको छ । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको संयोजकत्वमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

हलेसी गुफालगायत खोटाङका सबै मठ, मन्दिर, गुम्बा, चर्च बिहान र साँझको प्रार्थनाबाहेक पूजा, प्रार्थना, भजन, कीर्तन, कलशयात्रा, बलिपूजा बन्द गर्ने निर्णय गरिएको बैठकपछि हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी गराए ।

बैठकले गरेको ६ बुँदे निर्णयअनुसार जिल्लाका १० वटै स्थानीय तहका विभिन्न समयमा लाग्ने हाटबजारसमेत अर्को निर्णय नभएसम्मका लागि बन्द हुने भएका छन् ।

कोरोना महामारी दृष्टिगत गर्दै सभा, सम्मेलन गोष्ठी, सेमिनार, उद्घाटन, शिलान्यास, चियापान कार्यक्रममात्रै होइन, राजनीतिकलगायत अन्य गतिविधि गर्न बैठकले रोक लगाएको छ ।

सरकारी तथा गैरसरकारी कार्यालय, होटल, पसललगायत सार्वजनिकस्थलमा सेनिटाइजर र मास्क अनिवार्य प्रयोग गर्न/गराउन आह्वान गरिएको छ ।

डीसीसीएमसी बैठकले नगरपालिकालाई ३० र गाउँपालिकालाई २० शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर तुरुन्त व्यवस्थापन गर्न सुझाएको छ । यसैगरी, पालिकाले आवश्यकताअनुसार क्वारेन्टिन व्यवस्था गर्नुपर्नेछ । भिटामिन तथा एन्टिजेन टेस्ट कीट जोहो गरिनुका साथै विदेशबाट आएकाको स्वास्थ्य जाँच गरी कन्ट्र्याक्ट ट्रेसिङ गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्