सरकारी पदकबाट विभूषित उपमेयर राई खोटाङकै पहिलो जनप्रतिनिधि



खोटाङ । बुधबार देशवासीले हर्षौल्लासाथ नयाँ वर्ष मनाइरहँदा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका उपप्रमुख वीणादेवी राई भने प्रबल जनसेवाश्री (चतुर्थ) पदकबाट विभूषित भइन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट उपप्रमुख राई प्रबल जनसेवाश्री (चतुर्थ) पदकबाट विभूषित भएकी हुन् । सरकारद्वारा प्रदान गरिने पदक पाउने उनी जिल्लाकै एक्लो जनप्रतिनिधि हुन् ।

‘आज नयाँ वर्षको पहिलो दिन, मेरा लागि ऐतिहासिक दिन,’ पदक थापेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखिन्, ‘सानैदेखि सामाजिक काम र राजनीतिमा लागें । जीवनमा जतिसुकै बाधा–व्यवधान आए पनि पर्वाह नगरी हिँड्ने प्रण गरेकी थिएँ । राज्यले यसरी विभूषित गर्ला भनेर कल्पनासमेत गरेकी थिइनँ ।’

सालिन्दा संविधान दिवसको अवसर पारेर मानपद्वी, अलङ्कार र पदकबाट विभूषित गरिए पनि यसपटक पहिलोपटक दुई मेयर, चार उपमेयर र एक अध्यक्षलाई समेत प्रबल जनसेवाश्री (चतुर्थ) पदकबाट विभूषित गरिएको हो । ‘प्राप्त पदकले मलाई जिम्मेवार बनाएको छ । ऊर्जा थपिएको छ,’ उनले भनिन्, ‘देश र जनताप्रति सधैं उत्तरदायी रहने प्रतिबद्धता व्यक्त गर्छु ।’

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिन्छ । राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकालाई मानपद्वी, अलङ्कार र पदकबाट विभूषित गरिन्छ ।

विभूषित भएपछि सामाजिक सञ्जालमार्फत बधाइको वर्षा भएको छ । ‘सगौरव हार्दिक बधाइ,’ दिक्तेल रूपाकोट मझुवाढी नगरपालिका मेयर दीपनारायण रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘प्रबल जनसेवा चतुर्थबाट विभूषित हुनुभएकोमा सम्पूर्ण नगरवासीको शिर उच्च भएको छ । जनसेवामार्फत राज्यलाई योगदान पुर्याउन शुभकामना व्यक्त गर्दछौं ।’

नेपाल कम्युनिस्ट पार्टी (एमाले) खोटाङ अध्यक्ष रामप्रसाद दंगालले जिल्ला कमिटीको तर्फबाट हार्दिक बधाइ दिएका छन् ।

उपमेयर राईसहित सोलु दूधकुण्ड नगरपालिका सोलुखुम्बुकी उपमेयर कल्पना राई, दमक नगरपालिका झापाकी उपमेयर गीता अधिकारी र बूढीनन्दा नगरपालिका बाजुराकी उपमेयर सृष्टि रेग्मी प्रबल जनसेवाश्री (चतुर्थ) पदकबाट विभूषित भएका हुन् ।

विभूषण समितिको सिफारिसमा मानपद्वीतर्फ महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणीबाट २, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट ७, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीबाट १, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रेणीबाट १, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट ९, सुप्रबल जनसेवाश्री तृतीयबाट ११२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट ८, प्रबल जनसेवाश्री चतुर्थबाट २००, जनसेवाश्री प्रथमबाट ११०, अलङ्कारतर्फ १५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गर्ने घोषणा गरिएको थियो ।

विभूषण ऐन–२०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री र्ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृहसचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समिति बैठकले उक्त सिफारिस गरेको हो ।

०७७ असोज ३ गते संविधान दिवसका अवसरमा उक्त वर्षको विभूषण घोषणा गरिएको थियो । ०७६ मा ४५० लाई विभूषित गर्ने घोषणा गरिए पनि विश्वव्यापी महामारी कोभिड–१९ ले प्रभावित पारेको थियो ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ३८१ जनालाई ‘लोकतन्त्र योद्धा’बाट सम्मानित गरेका थिए । २०६२–०६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपांगता भएका र १७६ बहिर्गमित पूर्वलडाकूलाई लोकतन्त्र योद्धाका रूपमा सम्मान गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्