क्यानाडामा उच्च शिक्षा


उच्च शिक्षा अध्ययन, योग्यताअनुसारको अवसर र सहज जीवनयापनको सपना बोकेर विकसित देशहरूमा नेपाली विद्यार्थी जाने दर बढ्दो छ । अमेरिका, अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, क्यानाडा र युरोपका विभिन्न देशहरूमा बर्सेनि ठूलो संख्यामा नेपाली विद्यार्थी गइरहेको देखिन्छ । विशेषगरी अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानाडा धेरै विद्यार्थीको आकर्षणको केन्द्र रहेको देखिन्छ । जसको मुख्य कारण अध्ययनपश्चात् उक्त देशमा बस्न र काम गर्न ग्रीनकार्ड वा स्थायी आवासीय कार्ड प्राप्त हुने तथा राम्रो सामाजिक सुरक्षाको व्यवस्था हुनु हो । मुख्यतः यस लेखमा नेपाली विद्यार्थीका लागि क्यानाडामा उच्च शिक्षाको अवसर र चुनौतीको बारेमा केही कुराहरू प्रस्तुत गरिएको छ ।

अन्य देशहरू जस्तै अमेरिका, अस्ट्रेलियाको तुलनामा नेपाली (सामान्यतया विदेशी विद्यार्थीले क्यानाडाका विश्वविद्यालयमा भर्ना पाउन निकै गाह्रो भएको पाइन्छ । यसका मुख्य २ वटा कारण छन् । पहिलो कारण, अन्य विकसित देशहरूको तुलनामा क्यानाडामा विश्वविद्यालयको संख्या न्यून छ । अमेरिकामा ४ हजारजति विश्वविद्यालय रहेको भनिन्छ भने सन् २०१२ सम्मको तथ्यांक नियाल्दा क्यानाडामा विश्वविद्यालयको संख्या १०० भन्दा तल नै देखिन्छ । त्यसमाथि पनि विदेशी विद्यार्थीलाई भर्ना लिने विश्वविद्यालयको संख्या अझै न्यून छ । क्यानाडाका दसवटा राज्यहरूमध्ये अधिकांश विश्वविद्यालय ओन्टारियो राज्यमा अवस्थित छन् र बाँकी अन्य राज्यहरूमा विदेशी विद्यार्थी भर्ना लिने विश्वविद्यालयको संख्या सामान्यतया १ देखि ३ वटासम्म भएको देखिन्छ ।

दोस्रो कारण, नेपाली विश्वविद्यालय क्यानाडाका विश्वविद्यालय तथा प्राध्यापकसँग त्यति परिचित नहुनु । उच्च शिक्षामा विशेषगरी स्नातकोत्तर (मास्टर डिग्री) र विद्यावारिधि (पीएचडी) मा प्राध्यापकहरू आफ्नो मातहतमा अध्ययन अनुसन्धान गर्ने विद्यार्थी विदेशका राम्रा विश्वविद्यालयमा अध्ययन गरेको होस् भन्ने चाहना राख्दछन्, त्यसकारणले नेपाली विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई यहाँका विश्वविद्यालयमा भर्ना पाउन कठिन भएको पाइन्छ । क्यानाडाका विश्वविद्यालयमा विद्यावारिधी (पीएचडी) अध्ययन गर्ने अधिकांश विद्यार्थी जापान तथा युरोपका देशहरूबाट स्नातकोत्तर (मास्टर डिग्री) सकाएर आएकाहरू भेटिन्छन्् । यद्यपि क्यानाडाका राम्रा विश्वविद्यालयमा सोझै नेपालमा स्नातक तथा स्नातकोत्तर गरेर आएका नेपाली विद्यार्थीको उपस्थिति नभएको भने होइन ।

त्यस्तै अन्य देशहरूमा उच्च शिक्षाको अध्ययनका लागि नेपालमा ठूलो संख्यामा शैक्षिक परामर्श केन्द्रहरू भए पनि क्यानाडामा उच्च अध्ययनको लागि नेपालमा अत्यन्त न्यून परमर्श केन्द्रहरू भएकाले पनि धेरै विद्यार्थी सूचना र परमर्शको अभावमा क्यानाडामा उच्च शिक्षाका लागि नआएको हुन सक्दछ ।

स्नातकोत्तर तहको हकमा क्यानाडाका अधिकांश विश्वविद्यालयमा २ किसिमको पढाइ हुने गर्दछ । कोर्समा आधारित र अनुसन्धानमा आधारित । कोर्समा आधारित पढाइमा कुनै अनुसन्धान गर्नुपर्दैन, केही सीमित कोर्सहरू पूरा गरेर एउटा सामान्य प्रोजेक्ट गरे पुग्दछ । कोर्समा आधारित पढाइमा सामान्यतया कुर्नै छात्रावृत्ति तथा आर्थिक सहयोग पाइँदैन । यो कोर्स गरेर सामान्यतया विद्यावारिधिमा भर्ना हुन पाइँदैन । यो कोर्समा भर्ना पाउन अनुसन्धानमा आधारित कोर्समा भन्दा सजिलो भएको पाइन्छ । यो कोर्समा प्राध्यापकहरूसँग धेरै छलफल गर्नुपर्दैन र सम्बन्धित विषयको विभागले नै विद्यार्थीलाई छनोट गर्दछ । स्नातक गरेर केही वर्ष कार्य अनुभव भएकाहरूलाई केन्द्रित गरेर यो पढाइको डिजाइन गरिएको हो ।

अनुसन्धानमा आधारित पढाइमा केही विषयहरूको अध्ययनसँगसँगै करिब १÷२ वर्ष अनुसन्धानमा बिताउनुपर्दछ । अनुसन्धानमा आधारित स्नातकोत्तर तहमा भर्ना हुन सर्वप्रथम त सम्बन्धित विषयको प्राध्यापकसँग सम्पर्क गरी (इमेलको माध्यमबाट सम्पर्क गर्न सकिन्छ) आफू उक्त प्राध्यापकले गरिरहेको अनुसन्धानमा आफ्नो रुचि भएको र उक्त प्राध्यपकसँग अनुसन्धान गर्न इच्छुक रहेको आसय व्यक्त गर्नुपर्दछ । कुनै न कुनै प्राध्यापकको इच्छाविना अनुसन्धानमा आधारित स्नातकोत्तर तहमा भर्ना हुन कठिन हुन्छ । अनुसन्धानमा आधारित पढाइमा यदी प्राध्यापकले विद्यार्थी लिन इच्छुक भयो र भर्ना भयो भने केही न केही आर्थिक सहुलियत वा छात्रावृत्ति पनि पाउन सकिन्छ । अनुसन्धानमा आधारित स्नातकोत्तर तहमा विभिन्न विषय अध्ययनसँगै कसरी गहन सोच र अनुसन्धान गर्ने, अनुसन्धानका लेखहरू कसरी गर्ने, आफ्नो अनुसन्धान वा कुराहरूलाई कसरी प्रस्तुत गर्नेजस्ता धेरै कुराको ज्ञान प्राप्त हुन्छ । अनुसन्धानमा आधारित पढाइमा भर्ना पाउन कोर्समा आधारित पढाइको भन्दा धेरै गाह्रो छ ।

विद्यावारिधि तहको भर्ना र अनुसन्धानमा आधारित स्नातकोत्तर तहको भर्ना प्रक्रिया लगभग उस्तैउस्तै हुन्छ । विद्यावारिधि तहको भर्नाका लागि पनि सम्बन्धित विषयको प्राध्यापकसँग पूर्वसम्पर्क गर्नुपर्दछ र भर्ना आवेदन दिँदा विद्यावारिधिमा आफूले गर्ने अनुसन्धानको प्रस्ताव पनि पेस गर्नुपर्दछ । प्राध्यापकसँग पूर्वसम्पर्क गर्दा वा भर्नाका लागि आवेदन गर्दा आफ्नो व्यक्तिगत विवरणलाई राम्रोसँग प्रस्तुत गर्नुपर्दछ । आफूले लेखेको तथा प्रस्तुत गरेको कुनै अनुसन्धानमुलक लेख, अनुसन्धान संलग्न भएको विवरण र अन्य शैक्षिक तथा प्राज्ञिक उपलब्धिहरूलाई व्यक्तिगत विवरणमा उल्लेख गर्न बिर्सनुहुँदैन, यी कुराहरूले भर्ना पाउने सम्भावनालाई बढाउँछ । अरू देशको तुलनामा क्यानाडामा विद्यावारिधि गर्न धेरै समय लाग्दछ । जापान, अस्ट्रेलिया र युरोपका देशहरूमा ३ वर्षमै विद्यावारिधि गर्न सकिन्छ तर क्यानाडामा विद्यावारिधिको औसत अवधि नै ५ वर्ष रहेको भनिन्छ । विद्यावारिधिको सुरुको १÷२ वर्ष विभिन्न विषयको अध्ययन गर्नुपर्ने हुन्छ क्यानाडामा, जुन अरू देशमा त्यति गरिँदैन ।

क्यानाडा काम गर्दै पढ्दै गर्न अलि कठिन छ, त्यसैले आफ्नो पारिवारिक स्थिति आर्थिक रूपमा कमजोर छ भने, पैसा तिरेर क्यानाडा अध्ययन गर्न नआउँदा नै ठीक हुन्छ । आफ्नो शैक्षिक स्थिति राम्रो छ भने २/४ वटा विश्वविद्यालयका प्राध्यापकहरूसँग सम्पर्क गर्ने र अनुसन्धानमा आधारित स्नातकोत्तर तहमा आवेदन गर्नु उपर्युक्त हुन्छ । अनुसन्धानमा आधारित स्नातकोत्तर तहमा भर्ना भएमा आर्थिक रूपमा सहज हुन्छ । विद्यावारिधि तहमा पैसा तिरेर अध्ययन गर्ने भन्ने हुँदैन, उक्त तहमा भर्ना पाइयो भने केही न केही आर्थिक सहयोग पाइन्छ, प्राध्यापक वा विश्वविद्यालयको तर्फबाट ।

क्यानाडामा स्नातक (ब्याचेलर वा अन्डरग्य्राजुयट) अध्ययन गर्न नेपालबाट आउनु त्यति सहज छैन, आर्थिक र अन्य धेरै हिसाबले । तपाईं साँच्चै क्यानाडालाई भविष्यमा आफ्नो कार्यक्षेत्र सोच्नुभएको छ भने कि त स्थायी आवासीय कार्ड लिएर आउनुस् अथवा नेपालमा जुनसुकै विश्वविद्यालयमा ४ वर्षे स्नातकको जुनसुकै विषयमा भए पनि अध्ययन सकाउनुस् अनि यहाँका विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना भएर आउनुस् ।

स्थायी आवासीय कार्ड छ भने यहाँको राज्यले तपाईंलाई यहाँ अध्ययन गर्न विभिन्न किसिमको आर्थिक सहयोग प्रदान गर्दछ, जसले गर्दा तपाईंले सहज रूपमा उच्च शिक्षा अध्ययन गर्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्