गभर्नरद्वारा मोबाइल बैंकिङमार्फत हलेसीमा ११ हजार १११ भेटी



हलेसी (खोटाङ) । राष्ट्रबैंक गभर्नर महाप्रसाद अधिकारीले हलेसी दर्शन गरी शनिबार बिहान ११ः१० बजे ११ हजार १११ रुपैयाँ भेटी चढाएका छन् ।

गभर्नर अधिकारीले हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको माछापुच्छ्रे बैंक हलेसी शाखाको खातामा मोबाइल बैंकिङमार्फत ११ हजार १११ रुपैयाँ ट्रान्सफर गरेर भेटी चढाएका हुन् ।

हलेसीको इतिहासमा पहिलोपटक मोबाइल बैंकिङमार्फत रुपैयाँ ट्रान्सफर गरेर भेटी चढाइएको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले जानकारी गराए ।

नगरप्रमुख राईका अनुसार मोबाइल बैकिङमार्फत भेटी चढाउँदा भेटीघाटी पारदर्शी हुनुका साथै भेटी संकलन तथा गणना गर्न मानवीय जनशक्ति प्रयोग कम हुने बताए । ‘दर्शनार्थीले मोबाइल बैंकिङबाट सहयोग तथा भेटी चढाउँदा फाइदै फाइदा छ,’ उनको भनाइ छ, ‘सहयोग तथा भेटी सोझै खातामा जम्मा हुने भएकाले क्यास बोक्ने झन्झट हुँदैन ।’

प्रविधिसँग अभ्यस्त नहुनेले भने नगद भेटी चढाउन पाउनेछन् । हलेसीमा भेटी चढाउन इच्छुकले संसारका जुनसुकै ठाउँबाट मोबाइल बैंकिङमार्फत भेटी चढाउन सक्ने भएका छन् ।

राष्ट्रबैंक गभर्नर महाप्रसाद अधिकारीले हलेसीमा मोबाइल बैंकिङमार्फत ट्रान्सफर गर्नुभएको भेटी

माछापुच्छ्रे बैंक हलेसी शाखा प्रबन्धक चिरञ्जीवी थापाले दर्शनार्थीले समितिको खातामा मोबाइल बैंकिङ वा आईपीएस कनेक्ट माध्यमबाट भेटी चढाउन सक्ने सुनाए । ‘मोबाइल बैंकिङबारे जानकारले आईपीएसबाट भेटी ट्रान्सफर गर्न सक्नेछन्,’ प्रबन्धक थापाले भने, ‘हलेसी महादेवस्थान मन्दिर समितिको खाताको क्युआर कोड साता दिनभित्र इन्सटल गर्छौं ।’

साबिक सिम्पानी गाउँ विकास समिति–१ बर्रे खोटाङनिवासी गभर्नर अधिकारीले शनिबार बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म हलेसी दर्शन गरेका थिए । संवत् २०३८ मा पहिलोपटक हलेसी दर्शन गरेका उनले २९ वर्षपछि दोस्रोपटक हलेसी दर्शन गरेका हुन् । युवा समाजसेवी राकेश परियारले उनलाई दुई घन्टा लगाएर दर्शन गराएका थिए ।

संवत् ०४१ मा राष्ट्र बैंकको सहायक पदबाट जागिरे जीवन थालेका उनले नमुना मच्छिन्द्र क्याम्पस लगनखेल ललितपुरबाट आईकम गरेका हुन् । जागिर खाँदै नेपाल कमर्स क्याम्पस मीनभवनबाट स्नातक र शंकरदेव क्याम्पस पुतलीसडक काठमाडौंबाट स्नातकोत्तर गरेका थिए । उनले भारतको चेन्नईमा रहेको साउदर्न इन्डिया रिजनल काउन्सिलबाट सीएको अध्यन पूरा गरेका हुन् । भारतबाट फर्केपछि उनी राष्ट्र बैंक जागिरेको भूमिकामै फर्के ।

पाँच (०६७ देखि ०७२) वर्ष डेपुटी गभर्रनरको भूमिकासमेत निर्वाह गरेका उनी ०७६ चैत २४ मा राष्ट्र बैंक गभर्नरमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्