बाउसेसँगै राजनीति गरौँला, प्रजातन्त्र ल्याउन सघाउँला



परिवर्तनका लागि मैले क्रान्तिको आह्वान गरें । क्रान्ति साध्य हो, साधन होइन । त्यसैले मैले एकतन्त्रीय शासन व्यवस्था अन्त्यका लागि संगठन निर्माण गरें । त्यही संगठनलाई नेपाली राष्ट्रिय कांग्रेस पार्टी नामकरण गरेँ । मलाई त १०४ वर्षे राणा शासन अन्त्य गर्नु थियो । यो कुरा २००३ साल तिरको हो । म २९ दिने आमरण अनशनपछि मोहनशमशेरको जेलबाट छुटेर भारत गएँ । त्यतिबेला साथीहरूले अर्को पार्टी नेपाल प्रजातान्त्रिक कांग्रेस गठन गर्नुभएछ । त्यसलाई एकैठाउँमा ल्याउन सुवर्णशमशेरहरूसँग आग्रह गरेँ । दुवैलाई मिलाएर नेपाली कांग्रेस नाम दिएँ । यतिमात्र भएर पुग्दैनथ्यो । सशस्त्र लडाइँ लड्नु थियो । त्यसकारण संगठनमा सैन्य शक्ति आवश्यक ठानी जनमुक्ति सेना गठन गरेँ । हतियार प्रबन्ध गरेँ अनि उच्च मनोबलसाथ सेनालाई अगाडि बढाउनका लागि म आफू पनि जनमुक्ति सेनाको कमान्डरको हैसियतले बन्दुक समाती फौजी पोसाकमा युद्धमोर्चामा लडाइँ लडेँ । राणा सेनासँग आमनेसामने गरी लडेको छु ।

विराटनगरको लडाइँमा हामीलाई अलि टाढासम्म हान्न हतियार आवश्यक पर्यो । त्यसैले दुई लन्चर बनाएँ, एउटालाई धनकुटा पठाएँ अर्काे विराटनगरमै राखेँ । लन्चरले भनेजस्तो काम गरेन । झाडी फडान गर्ने ट्याक्टरलाई बुलेटप्रुफ ट्यांक बनाएँ । मैले राणाविरोधी लडाइँमा यसरी लडेको थिएँ । सबै ठाउँमा हामी लडाइँ जित्दै थियौँ । यता, श्री ५ भगाइए वा भागे । आखिर जे नहुनु थियो त्यही भयो । राजा दिल्ली गए । हामीले राजालाई पाल्पा लैजाने सोच गरेका थियौँ । दिल्ली गएपछि राजा र हामीमाथि अरू नै हाबी भए । हामीले भनेअनुसार किन हुन्थ्यो । हाम्रो योजनामुताविक पाल्पा लैजान सकेको भए भारतीय प्रभाव यस तरहको कहिल्यै हुने थिएन, जुन आज पनि हामी सबैले भोग्नुपरेको छ ।

हामीले आंशिक उपलब्धि स्वीकार गर्यौं । २०१५ मा बल्लबल्ल संसदीय निर्वाचन भयो । संविधानसभाको मुद्दा हामीले त्यसबखत छाडिदियौँ । एकप्रकारले त्यो थाती राखेजस्तै थियो । त्यो निर्वाचनमा हाम्रो पार्टीले दुईतिहाइ बहुमत ल्यायो । पार्टी गठन गरेको १२ वर्षमै हामीलाई जनताको त्यति ठूलो विश्वास प्राप्त भयो । म आज पनि त्यही जनताकै शक्ति र विश्वासमा अडिएर बहुदलीय पद्धति र प्रजातन्त्रका लागि लडिरहेको छु । म २०१६ मा निर्वाचित प्रधानमन्त्री भएँ । २०१७ पुस १ गते राजाले हामी सबैलाई समाते र सुन्दरीजलको सैनिक ब्यारेकमा बन्दी बनाए । २०२५ मा जेल मुक्त भएँ । यहाँ बसेर राजनीतिक कामकारबाही गर्न अप्ठ्यारो भयो । भूमिगत रूपमा हामीले चाहेजस्तो गर्न सक्ने अवस्था रहेन । कम्युनिस्ट साथीहरूले हामीलाई सहयोग गर्न पर्नेमा राजालाई सघाउन पुगे । राजाले मलाई प्रधानमन्त्री हुँदा सोधे– प्रधानमन्त्रीजी तपाईंको काठमाडौंमा घर छैन, त्यसैले एउटा घर बनाउनुस्, टंकप्रसादजीहरूले त घर बनाइसके । राजाको कुरा बुझ्न गाह्रो भएन । सबैलाई पैसा दिएर किन्न खोज्दारहेछन् । मैले राजाको कुरा मान्ने कुरै भएन । त्यसपछि मलाई झनै राजाप्रतिको आस्थामा कमी आउन थाल्यो । क्रान्तिका लागि पैसा र हतियार एकदमै महत्वका वस्तु हुन् । त्यसैले भाषा सहज, अनि नेपाली साथीभाइलाई आउन जान पासपोर्ट र परिचयपत्र आवश्यक नपर्ने अर्काे कुरा भारत स्वतन्त्रतामा मैले भारतीयको भन्दा कम योगदान पुर्याएको थिइनँ ।

त्यसैले हिजोको मुक्तिसेनाको सैन्य शक्तिलाई एक ठाउँमा ल्याउनु, तालिम दिनु अनि राजाका सेनालाई परास्त गर्नु हाम्रो अन्तिम लक्ष्य थियो । तर, समस्या भारतमै थियो । भारतकै शक्तिको आडमा राजाले गर्नै नहुने गल्ती गरेका थिए । तथापि, हामीले त्यही देश रोज्यौँ र तयारीमा लाग्यौँ । आठ वर्ष प्रवास खासगरी वनारसमा बस्दा हामीले पूरा तयारी गरेका थियौँ । हामीसँग भएका सेना र हतियारको दाँजोमा राजाका सेनासँग केही पनि थिएन । हामी अब राजाका सेनासँग लडाइँ लड्ने अन्तिम तयारी गर्दै हतियार बोकेर सीमानजिक पठाउँदै थियौँ । तर, यो क्रम एक्कासि रोक्कियो । एक दिन इन्दिरा गान्धीले मसँग भनिन्– तपाईंसँग भएको हतियार अहिले बंगलादेशी जनतालाई दिनुहोस् पछि तपाईंलाई हतियारको हतियारै दिन्छु, त्यो पनि अझ बढी । हामीले नदिए त्यो हतियार भारत सरकारले आफ्नो कब्जामा लिन पनि सक्छ, मैले शंका गरेँ । आखिर मैले के सोचेँ भने मैले नदिए यिनीहरूले आफैँ लिन्छन् । जे भए पनि बंगलादेशी जनताले दिने धन्यवाद र यो समयको सहयोग यादगार पनि हुन्छ भनेर मैले आफैँले गिरिजाको जिम्मामा सुशील र चक्रलाई दुई ट्रक हतियारसहित बंगलादेश पठाएँ । अब त मसँग हतियार पनि छैन, पैसा पनि छैन ।

इन्दिरा गान्धी त मलाई सधैं कमजोर बनाउन चाहन्थिन्, बनाइहालिन् । हामीले राजालाई हटाएपछि त भारतको अभीष्ट पुरा हुँदैन । हाम्रो जित भनेको राष्ट्रको जित, जनताको जित, सबैभन्दा प्रजातान्त्रिक भनिने भारतको चरित्रले नेपाललाई सधैँ ओझेलमा पार्ने कोसिस गरिरह्यो । सिक्किम काण्डले त भारतको छिमेकीलाई हेर्ने दृष्टिकोणमा कुनै शंका बाँकी रहेन । हाम्रो देश अस्थिर बन्यो । राष्ट्रिय संकट पैदा भयो । हामीलाई फेरि हातहतियार खरखजाना जम्मा गर्न र पहिला जोडेका हतियारको बक्यौता तिर्न नसक्दा हामीले हवाईजहाज अपहरण गर्यौं । मैले धेरैपटक इन्दिरा गान्धीसँग हतियार मागें तर उनले हतियार दिन मानिनन् । उनी भन्थिन्, ‘म सरकारमा रहेर कसरी हतियार दिउँ । नत्र बंगालीलाई म आफैँ हतियार दिन्थेँ । किन तपाईसँग भन्थेँ । त्यसैले म तपाईंलाई एक करोड रुपैयाँ दिन्छु । फेरि किन्नुस् ।’ तर रकम दिन्छु भनेर धेरैपटक ढाँटिन्, दिइनन् । जुन रुपैयाँ हामीले पठाएको हतियारको एक भाग पनि हुँदैनथ्यो । निष्कर्षमा भन्ने हो भने तानाशाही वादशाह र उनमा केही फरक थिएन । त्यसपछि संकटकाल लगाइन् ।

मैले जे गरेँ इमान्दारीसाथ देश रक्षा र प्रजातन्त्रका लागि गरेँ । कतिपटक जेल परेँ । कतिपटक मृत्युसँग जुधेँ । मैले आफँैलाई कहिल्यै माया गरिनँ । मेरो आफ्नो भन्नु केही छैन । अहिले पनि म भाइको घरमा बसेको छु । यो पनि मलाई थाहा थिएन । सुन्दरीजल जेलबाट मलाई सरासर यहीँ ल्याएपछि थाहा भएको हो । मान्छे भन्छन्, ‘अलि कमजोर हुनुभयो ।’ हो, मेरो शरीर कमजोर भएको छ । म त आफैँमा क्यान्सर रोगी हुँ । मलाई यो क्यान्सरभन्दा देशमा लागेको क्यान्सरले सताएको छ । यो पञ्चायती सरकार क्यान्सर हो । यो त विदेशी मलजलमा हुर्किएको हुँदा हाम्रो हावापानी माटोमा सुहाउँदै सुहाउँदैन । त्यसकारण देशमा यसले क्यान्सर हुलिदियो । यसै क्यान्सरबाट देशलाई बचाउन म २०३३ पुस १६ गते स्वदेश फर्कें । जब कि मलाई सात मुद्दा लगाइएको थियो । अनि प्रत्येक मुद्दाको फैसलाअनुसार म सातपटक मारिनपथ्र्याे । राज्य बचाउने तथा प्रजातन्त्र प्राप्ति गर्ने हेतु मेरो अगाडि जुनसुकै बेला मृत्यु आएमा हाँसी–हाँसी वरण गर्नेछु ।

भौतिक सुख त मैले पहिल्यै छाडिसकेको वस्तु हो । बीपी कोइरालाले यी सबै कुरा आफ्ना कार्यकर्तामाझ भन्दै आउनुभएको कुरा हो ।
बीपी कोइरालाको सुन्दरीजल जेल मेरो अन्तस्करणको वस्तु बन्यो । म र मेरो साथीहरूको केटाकेटीमा खेल्ने ठाउँ बीपी कोइरालाको ट्वाइलेटको फोहोर खस्ने मँगाल रहेछ । त्यहाँका माछा पनि खाइयो । शरीरको लुगा गनाएपछि थाहा भयो यो त कुवाको सट्टा मँगाल रहेछ । मेरो तनमन त्यसैमा डुबुल्की मार्न थाल्यो । जुन दिनसम्म यो जेल बीपी कोइरालाको नामबाट संग्रहालयमा स्थापित हुँदैन, त्यो दिनसम्म जस्तोसुकै समस्या परे पनि लागिरहन्छु भन्ने अठोट मैले लिइसकेको थिएँ । राजाले बनाएको ब्यारेक राजाकै अभीष्टमा राजनेता थुन्ने जेलमा परिणत भयो । ग्रामीण बस्ती बीचभागमा रहेको सुन्दरीजल जेल प्रजातन्त्रका जनकलाई यातना दिने थलोका रूपमा चित्रित भयो । सुन्दरीजलमा करिब एक सय वर्षअघि नै ब्यारेक स्थापना भएको रहेछ । निश्चय नै शास कवर्गका लागि यो ठाउँ अनुकूल रहेछ भन्ने पनि बुझिन्छ ।

सेनाको महत्वपूर्ण कार्य गोलीगठ्ठा, हातहतियार र पैसा बनाउने टक्सारका रूपमा पनि सन्दरीजल चिनिने रहेछ । अन्ततः अनुत्तरदायी शासकले सुन्दरीजललाई राजनीतिक अभीष्ट पूरा गर्ने क्रिडास्थल बनाइछाडे । त्यतिमात्रै नभएर, इतिहासमा यो गाउँ यो भेगको पहिचान नै लोकतन्त्रवादीबाट तिरस्कृत भइरहने हुँदा यसको परिवर्तन आवश्यक थियो, त्यसैले पनि मैले यो कार्यलाई निरन्तरता दिइरहेँ । बाहिर गोरेटो बाटोको आवाज भित्रसम्म सुनिन सक्ने गाउँको बीचमा सुन्दरीजल जेल निर्माण गरिएछ । नाङ्गोभुतुङ्गो जेलको बार समात्दै दौडिने म यही गाउँको एक किसानको छोरो अनि एक बालक पनि । जेल निर्माण गर्दा बुर्जा नम्बर ३ पोस्ट हामीहरूकै जग्गामा बनाइएको रहेछ । बागमती नदीको पानी सिँचाइका रूपमा लाग्ने उत्तरबाट दक्षिणतिर हल्का ओरालो लागेको फाँटमा खासगरेर असारमा रोपाइँबखत हाम्रा आमा, भाउजूहरूले जेलभित्र रहेका बीपी र गणेशमानलाई सम्बोधन गर्दै लोकभाका र लयमा गीत गाउने गर्नुहुन्थ्यो रे ।

विश्वेश्वर बाजे के गर्छौ जेलमा, बाउसे गर्न आऊ हाम्रो खेतमा ।
बाउसेसँगै राजनीति गरौँला, प्रजातन्त्र ल्याउनलाई सघाउँला ।।

यस्ता असारे गीत गाउनुहुन्थ्यो भन्ने कुरा प्रशस्त सुनिन्थ्यो । यसरी गाएका गीत भने जेलभित्र अवश्य सुनिन्थ्यो । जब खेत रोप्न आएका असारे रोपारले गीत गाउन थाल्थे, जेलका पोस्टमा बसेका सेनाका जवान जेलतिर नफर्केर खेततिर हेर्दै रोपारले लय हालेर गाएका गीतमा मग्न हुन्थे भने भित्र नसुनिने कुरै भएन । जेलवरिपरि खेत भएकाले यहाँका किसानले ती लोकभाकाका गायिका कसैले पनि बीपी, गणेशमान देखेका थिएजस्तो लाग्दैन । गहिरो प्रेम, कस्तो आस्था । बीपीको नाउँ लिएर भन बीपी के गर्छौ जेलमा, तिम्रा पनि घरबार होला नि भनेर गीत गाउने गरेको भनेर भद्रबासका वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारी आफ्नो आमाले भनेको भनेर भन्नुहुन्छ । बीपीलाई बुझ्ने भन्ने गर्छन्, ‘साहित्यमा पनि त्यत्तिको दख्खल, खासगरेर मनोवैज्ञानिक विश्लेषण गर्दै यथार्थपरक रूपमा उहाँको लेख्ने बानी थियो । कक्षा नौमा पढ्दैदेघख उहाँको लेखनकार्य सुरु भयो ।’

राजनीतिक विश्लेषकको भनाइमा बीपी के हुन्, अनि अहिलेको नेपाली राजनीतिमा बीपीको आवश्यकता अर्थात् उहाँको नीति समयसापेक्ष छ । यसबारे नेपालका राजनीतिक दलहरूले बुझ्न सकेनन् वा बुझेर पनि बुझपचाए । राष्ट्रियताको सवालमा हाम्रो अहिलेजस्तो स्खलित अवस्था कहिल्यै थिएन । बीपीले भन्नुभयो, ‘यदि राष्ट्र विखण्डन हुँदैन भने मलाई राजासँगको मोह कहिल्यै हुदैनथ्यो ।’ प्रदेशका सन्दर्भमा शक्ति पृथकीकरणका आधारमा विकास क्षेत्र तोकिनुपर्छ भनी राजासाग भएको सम्वाद बाहिर नआएका होइनन् । अन्ततः राष्ट्रिय स्वाभिमान र प्रजातन्त्रका लागि बीपीले आपूmलाई समर्पण गरे ।

(लेखक बीपी संग्रहालय संस्थापक अध्यक्ष एवम् संरक्षक हुन् ।)

प्रतिक्रिया दिनुहोस्