भालुवाङदेखि काठमाडौंसम्म



जीवनका सबै अनुभूति लेखनीय हुँदैनन् । केही अनुभव त्यस्ता हुन्छन् जसले वर्तमानका चुनौती सामना गर्दै अगाडी बढ्ने शिक्षा प्रदान गर्छन् । त्यसैले जीवनका केही अनुभवमध्येका पनि विशिष्ट कालखण्डका अनुभूति लेख्ने जमर्को गर्दै छु । हुन त जीवनम पचासौं वर्ष भोगिएका भोगाइ एउटै वाक्यमा पनि लेखिन सक्छन् भने एकै वाक्यमा लेखिएका कुरा भोग्न पचासौं वर्ष पनि लाग्न सक्छ । भनाइ र भोगाइको यसरी अन्तर हुन्छ । राजनीतिक जीवनको यात्रा निश्चित रूपमा पनि भनाइ र गराइको बीचको संयोजनसहितको हुन जरुरी हुँदोरहेछ । भोग्नु र लेख्नुको बीचमा धेरै अन्तर भयो भने त्यसलाई मात्र कल्पना मान्न सकिन्छ । त्यसैले यतिबेला यथार्थताको धरातलबाट कलम चलाउनेहरू नै चर्चामा भेटिन्छन् । यसो त चर्चाका लागि लेखिन्छ भन्ने मेरो भनाइ होइन । जीवनका विशिष्ट कार्यअवधिलाई शिक्षाप्रद रूपमा सम्प्रेषण गर्नु आवश्यक छ भन्ने ठानी केही लेख्ने साहस गर्दै छु ।

संविधानसभा निर्वाचन सम्पन्न भएको चार वर्ष भइसक्दा पनि संविधान बन्ने छाँटकाँट थिएन । यस्तो विशिष्ट अवस्थामा सबै नागरिकमा दायित्वबोध हुनुपर्दोरहेछ । महान् जनयुद्ध, जनआन्दोलन, मधेस तराई आन्दोलनलगायतका न्यायपूर्ण आन्दोलनबाट निरंकुश राजतन्त्र अन्त्य भयो । आन्दोलनबाट प्राप्त उपलब्धि धर्मनिरपेक्षता, गणतन्त्र, समावेशी र समानुपातिक अधिकार राज्यको अग्रगामी पुनःसंरचना आदि अन्त्य गर्न एकथरि शक्ति खुलेआम लागिपरेको अवस्थामा अग्रगामी र पश्चगामी शक्तिबीचमा चर्को लडाइँ चलिरह्यो । पार्टीभित्र गुट र गुटभित्र उपगुट बन्ने नेपालको राजनीति घिनलाग्दो खेलको चक्रमा नेताहरू फसिरहेको बेला बाह्य प्रतिक्रियावादी शक्तिले पनि चलखेल गर्ने अवसर खोजिरह्यो । यो कुरा बुझेर पनि राजनीतिक दलहरू बुझपचाइरहेका थिए । हाम्रो आफ्नै पार्टीभित्र पनि किरणपक्षका साथीहरू आफ्नै पार्टीका अध्यक्षको पुत्ला जलाइरहनुभएको थियो । चौतर्फी प्रतिक्रियावादी घेराबन्दी गरेर हाम्रो पार्टीलाई एक्ल्याउने षड्यन्त्र गरिरहेको बेला पार्टीकै विरुद्ध धोबीघाट असफल भएपछि कालोझन्डा देखाउने क्रान्तिको परिभाषा पनि परिवर्तन र जनयुद्ध जनआन्दोलन आदिबाट प्राप्त उपलब्धि रक्षा गर्दै अगाडी बढ्ने कुराको विपरीत नै थियो । उहाँहरू पनि कतैबाट प्रभावित भएर संविधानसभा विघटनका लागि हौसिरहनुभएको थियो र संविधानसभाको मृत्यु कुरिरहनुभएको थियो । यसरी भित्रबाहिरबाटै संविधानसभा विघटन गर्ने षड्यन्त्र बुनिँदै थियो । त्यस्तो अवस्थाम हाम्रो पार्टीले मलाई शान्ति तथा पुनःनिर्माणमन्त्रीको कार्यभार दियो । यो कार्यभार ओजपूर्ण र चुनौतीपूर्ण थियो ।

२०६८ कात्तिक २१ गते बिहान हामीले जाजरकोटका लागि भनेर यात्रा सुरु गरेका थियौं । सामान्य अनुमान भए पनि भोलि नै मन्त्रीको जिम्मा लिनुपर्छ भन्ने सोचेकी थिइनँ । गाइँगुइँ कुरा त चलेकै थियो । लामो समय संविधानसभाकै काममा व्यस्त भएका कारण आफ्नो कर्मभूमिमा एकपटक केही कार्यक्रम लिएर जाने तीव्र आकांक्षा भएको हुँदा र्याफ्टिङ (भेरी र्याफ्टिङ) उद्घाटन कार्यक्रममा जाजरकोट जाँदै थियौँ । भर्खरैमात्र बिरामीबाट उठेकी थिएँ । गाह्रो हुन्छ होला भनेर गुरुजीले गाडी बिस्तारै चलाइरहनुभएको थियो । हामी बुटवल पुगेपछि थाहा भयो कि मन्त्रिमण्डल (सरकार) विस्तार हुँदै छ । तैपनि हामी हिँडिरह्यौँ । मलाई शक्तिजीले भन्नु त भएकै थियो बुटवल बसौं कि भनेर तर बस्न मनले मानेन । हेरौँ त्यसो भयो भने नेपालगन्जबाट प्लेनमा फर्किनुपर्ला भनेर अगाडी बढिहाल्यौं । गाडीमा साथीहरू बधाइ भन्न थालिसक्नुभएको थियो । मलाई भने अनौठो लागेकै थिएन । किन हो खै चुनौतीको अनुभूति त भएकै थियो । संविधान निर्माण गर्न संविधानसभाको अन्तिम म्याद थप भएको थियो । जम्मा संविधान निर्माणको आठ महिना बाँकी थियो । यति छोटो समयमा शान्ति मन्त्रालयले पूरा गनुपर्ने जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ ? मानसिकता तयार पार्न गाह्रो नै अनुभूति भइरहेको थियो । सायद इमानदारी र साधनाको बाटो अलि धेरै देखेर होला पार्टीले जिम्मा दिनेबारे आँट गरेको । बाटोभरि यस्तै सोचिरहेकी थिएँ । आफूले सकेजति इमानदार ढंगले काम गर्ने प्रतिबद्धता त छ तर साधनाद्वारा क्षमता वृद्धि गनुपर्ने पनि हुन सक्छ । आवश्यकताअनुसारको क्षमता वृद्धि गर्नुपर्ने पनि हुन सक्छ । आवश्यकताअनुसारको क्षमता र तागत देखाउन सक्नु हाम्रो माओवादी प्रवृत्ति हो । तैपनि अवस्था सोचेजस्तो सजिलो थिएन ।

नेपालको अन्य राजनीतिक शक्ति अति रुढीवादी छन् । परिवर्तनको आवश्यकताबोध गरी अगाडी बढ्ने हिम्मत पनि अरूले जुटाइदिनुपर्ने हुदै आएको छ । अन्तिम अवस्थामा तातिने र परिणाम ननिकालेरै सेलाउने राजनीतिक कमजोर इच्छाशक्तिलाई सकारात्मक दिशामा जबरजस्त धकेल्नुपर्ने हुँदै आयो । आजको दिनसम्म पनि आफैँप्रति विश्वास जगाउन नसकेको कुरा भने सत्य हो । अझ त भनौँ अन्य राजनीतिक शक्ति जनताको संविधान निर्माण गर्ने चाहनामा थिएनन् । कार्यकर्तादेखि नेतासम्मले संविधान बन्दैन भन्ने गरेको सुनिन्थ्यो । यसको मतलब उनीहरू संविधान बनाउन चाहँदैनथे । यस्तो प्रतिकूल अवस्थामा मन्त्री बन्ने कुरा सामान्य जिम्माको कुरा थिएन ।

सत्य पहाडी

हामी धानखोला पुगिसकेका थियौं। फर्किनुपर्छ होला जस्तो लागिसकेको थियो । मलाई पर्किन अझै मन थिएन । शक्तिजी भनिरहनुभएको थियो कि सायद भालुवाङबाट फर्किनुपर्छ होला । वर्षमान दाइको फोन आयो त्यतिखेरै । उहाँले फोनबाटै भोलि बिहान सात बजेसम्म काठमाडौं आइपुगिसक्नुपर्ने कुरा गर्नुभयो । हामीलाई आपत परिहाल्यो । हामीले प्लेन प्रयोग पनि गर्न नसक्ने भयौं भने गाडी पनि दस बजेभित्र हिँडे पनि सात बजेसम्म काठमाडौं पुग्ने कुरा कठिनै थियो । यता, चित्र दाइलाई खबर गरेर गाडी रिजर्भका लागि भन्न लगाइयो । हामी कुरेको एक घन्टापछि गाडी आइपुग्यो । शक्तिजीहरूलाई जाजरकोटतिर बिदा गरेर हामी काठमाडौं फक्र्यौं। गाडीमा हामी केवल चारजना मात्र थियौं । जाजरकोट पुग्ने आकांक्षा फेरि एकपटक भत्कियो । नयाँ जिम्मेवारी लिँदा र काम गर्दाको अवस्था के हुने हो भन्ने लागिरहेको थियो । जीवनमा सबैभन्दा नयाँ जिम्मेवारी लिँदै थिएँ । गाडीमा रातभरि निद्रा लागेन । जनताका असीमित आशा र आकांक्षा छोटो समयमा र सीमित स्रोतबाट कसरी पूरा हुने होला ? मनमा ठूलै तरंग पैदा भएको थियो । राजनीतिक परिवर्तनलाई सार्थक बनाउन आर्थिक सामाजिक रूपान्तरण आवश्यक छ । तर, त्यो कुन ढंगको ? देशमा ठूलै बहस चलिरहकै छ । यतिखेर संक्रमणकालीन राज्य व्यवस्थापनको उपरीसंरचनाभित्र हामी पसेका छौं । आवश्यकतामा सबै ठाउँमा पस्न जरुरी छ तर फसियो भने के गर्ने ? यो विषयमा भने पार्टीको कार्यनीति स्पष्ट हुन जरुरी हुन्छ । यस्तै सोच्दै थिएँ, गाडीमा तेल सकिएछ । हामी बुटवलमा तेल हाल्न पाउने आशा गरी भाइ मदनसँग फोन गर्न पुग्यौँ । सायद हामी बुटवलमा राति एक बजेतिर पुग्दै थियौं । बेलाबखतमा मदन भाइ हामीलाई स्थानको बारेमा फोन गरेर बुझ्नुहुन्थ्यो । हामी पुगेको स्थानको जानकारी गराउँदै अगाडि बढ्यौं ।

हामी बुटवल पुग्यौँ । त्यो रात मेरो जीवनको अनौठो अनुभूतिको रात थियो । तीव्र संक्रमणकालको अवस्था राजनीतिक अस्थिरता र संविधान निर्माणविरुद्ध देशी–विदेशी शक्तिले विभिन्न रूपमा अराजक स्थिति सृजना गरिरहेको अवस्था थियो । जनतामा संविधान बन्नुपर्छ भन्ने भावना अब बन्दैन कि भन्ने शंका उत्पन्न भइरहेको अवस्थामा पार्टीभित्र र बाहिर चौतर्फी हमला भइरहेको परिस्थितिमा अन्तरिम समय अवधिका लागि शान्तिमन्त्री बन्ने कुरा कम चुनौतीको भने थिएन । यद्यपि जनयुद्धका भीषण आँधीहुरीको परिस्थिति काटेर आउनेका लागि गाह्रै भने थिएन । तर, आफ्नो वर्गका लागि बुर्जुवा शासन प्रणालीभित्र बसेर केही गर्न सकिने हो कि होइन भन्ने चुनौतीबोध हुनु पनि अन्याय हुँदैनथ्यो होला त्यतिबेला । हुन त अन्तरिम व्यवस्थापिका दुई वर्ष र संविधानसभाका तीन वर्षको कार्यकाल जोड्दा भने बुर्जुवा प्रशासनिक प्रणाली र त्यसभित्र रहनेहरूको प्रकृति, प्रवृत्ति र चरित्र भने नबुझिएको होइन । तर, अन्तरवस्तुलाई गहिराइबाट बुझ्न भने अवश्य आवश्यक हुन्थ्यो । त्यसकारण ढुंगाजस्तै नफुट्ने र नखुल्ने प्रशासकलाई हामी राजनीतिक आदर्श नयाँ संस्कारबाट आएका इमानदार मान्छेका लागि कार्यपालिकाभित्रका सबै यथार्थता पूर्ण ज्ञान लिनु फलामको चिउरा चपाउनु जस्तै थियो ।

सामाजिक हिसाबले महिला हुनु त्यसमा पनि सार्वजानिक मन्त्रीजस्तो पद सम्हाल्नु सामान्य चुनौती भने होइन । त्यो पनि सहयोगी आधार भएकालाई त ठिकै हो । तर, हामीजस्तै चौतर्फी घेराबाट संघर्ष गर्दै आदर्शको राजनीति गरिरहेकाका लागि भने कठिन कुरा हो । सायद यसैले होला बुजुर्वा राजनीति गर्नेले पनि राजनीतिमा सफल हुन चुलोचौकालाई परित्याग गर्न वैवाहिक र व्यावहारिक जीवन छाड्नुपरेको । घरायसी दायित्वको एकलौटी भूमिका आजसम्म महिलाले नै बेहोर्दै आउनुपर्दा राजनीतिमा महिलाले ठूलो संघर्षमय सामना र साधना गर्नुपरिरहेको हुन्छ । राजनीतिको २० वर्ष धेरै ठूलो निर्मम संघर्षको वर्ष पनि हो । त्यसको तुलनामा अबका वर्षहरू अवश्य कठिन हुनेछन् । हाम्रो देशको संस्कारअनुसार भ्रष्टाचार गरेर करोडौँको बैंक ब्यालेन्स गर्नेले मात्र सफल राजनीति गरेको पाइन्छ । हामीजस्तो स्वाधीन र स्वाभिमानको सरल र कष्टपूर्ण जीवन बाँचेर देश र जनताको मुक्तिको एउटा मात्र स्वार्थ बोकेर राजनीति गर्नेलाई बाँच्न गाह्रो पर्छ । यो जान्दाजान्दै पनि राजनीतिक जीवनयात्रा सुरुवात गरिएको हो । हेरौँ भोलि कस्तो हुन्छ । मनभित्रका असीमित प्रश्नको जवाफ खोज्ने प्रयत्न गर्दै म गाडीमा जागै रहेँ । हामी चितवन आइपुग्यौं । भाइ मदनले गरेको सहयोग अविस्मरणीय नै भयो । हामीलाई थाहा थिएन प्लेनमा भन्दा गाडी रिजर्भ गरेर आउन महँगो पर्छ भनेर । हामीले करिब ३० हजार गाडी भाडा तिर्यौं । म दंग भएँ । हाम्रै साथीले व्यवस्था गरिदिएको गाडी पनि यति महँगो हुँदोरहेछ भनेर ।

जीवनमा पहिलोपटक यति महँगो यात्रा गर्नुपर्यो । मलाई चिन्ता थियो, काठमाडौं ६ बजेपहिले पुगिन्छ कि नाइँ भनेर । गाडी अलि रफ्तारमा कुदाउन आग्रह गरे हामी छिट्टै उकालो लाग्यौँ । बाटो भत्किएर गाडीहरू मुस्किलले गुडिरहेका थिए । मनमनै आक्रोश, शंका र सम्भावनायुक्त योजनाका छाल उलिँदै थिए । बर्सेनि बाटो मर्मत हुन्छ । कसरी गरिन्छ थाहा छैन । अनुगमन पनि राज्यको निकायले गर्दैन । गरे पनि कमिसन खाएर सबै मिलाइहाल्छन् । कस्तो छ हाम्रो देश अनि प्रवृत्ति सम्झँदा पनि उकुुसमुकुस हुन्छ । वैकल्पिक मार्गको सम्भावना पनि थुप्रै छ । बर्सेनि कमिसन खान पल्केका शासक र भ्रष्टाचार गर्न पल्केका ठकेदार अर्को बाटो बनोस् भन्ने चाहनामा छैनन् । कागज मिलाउने र बिगार्ने काम प्रशासकको हुन्छ भने पैसा खुवाउन काम ठेकेदारको । उनीहरूलाई देशको चिन्ता भए पो । ढोङ गर्न जान्नेको कमी अवश्य छैन । बाहिर नेतालाई गाली गर्ने र भित्र भ्रष्टाचारको पोको पार्ने पनि सहरमा कम छैनन् । यो सबै राजनीतिक अस्थिरताको फाइदा उठाउनेले नै गरिरहेका छन् । दण्डहीनता अन्त्य पनि छैन र इमानदारलाई पुुरस्कृत गर्ने चलन पनि बनेन । चाहेको खण्डमा धेरै परिवर्तन पो देशमा आउन सक्छ । हे रौं यो कार्यकालले के सिकाउँछ । धेरै गर्ने त्यो पनि जिम्मेवारीबोध र इमानदारीसाथ केही गरेर देखाउने संकल्प छ । कोसिस गर्नेछु । यस्तै चुनौती मनभरि जागिरहँदा चुनौती र सम्भावनाको द्वन्द्वमा केही खुसी र केही दुःखी अवश्य हुँदोरहेछ मान्छे, नयाँ जिम्मा पाउँदा । तर, छोटो समयभित्र ठूला निर्णय र परिणाम हासिल गर्नुपर्ने भएको हुँदा चुनौती महसुस नै बढी हुँदोरहेछ ।

हामी थानकोट उक्ल्यौं । गाडी पनि रोकियो । तबमात्र सम्झना भयो चेकपोस्टमा आइपुगिएछ । म सोचाइको टुंगोमा पुगेकी थिएँ । देशका लागि केही त गर्ने कोसिस गर्दै छु । केही गर्नु पनि छ, यो देशका लागि । सबैमा राजनीतिकरण हुँदाहुँदा कार्यपालिकाका आमनिकायमा घिनलाग्दो राजनीति हुन्छ । सबै वर्गीय हुन्छ भन्ने कुरा यसले प्रमाणित हुन्छ । यतिखेर सरकार जसको भए पनि राज्यसत्ताको पकड निरंकुशकै हातमा छ । सरकार कभरजस्तै मात्र छ । भित्र जे छ त्यसलाई छोप्ने मात्र । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था घोषणा भइसक्दा पनि जंगेको पालाको मुलुकी ऐन मान्नैपर्छ हामी र हाम्रो वर्गले । तर, कांग्रेस र एमालेजस्ता पार्टीले केही नमाने पनि कुनै चर्चा हुँदैन । हामीले मात्रै कानुन मान्नुपर्ने अवस्था त्यतिन्जेल आइरहनेछ । जतिखेरसम्म जनताको नयाँ संविधान बन्दैन, जबसम्म पुराना खराब चिन्तनशैलीसहितको कार्यशैली बोकेकाको बाहुल्य भएको कार्यपालिकाभित्रका प्रशासक, न्यायपलिकाभित्रका महामहिम, व्यवस्थापिकाभित्रका सम्माननीय र माननीयहरू सबै फेरिँदैनन् र सबै फेरिएर सम्पूर्ण जनताका र जनताको बन्दैन । यस्तो संक्रमणकालीन अवस्थामा कसरी मन्त्रालय चलाउने योजना सोच्दै थिएँ, कोठामा आइपुगेको थाहै भएन । करिब ६ बजिसकेको थियो । नसुतेरै शपथ लिन जाने तयारीमा लागँे । बिहानीसँगै मेरो जीवनको इतिहासमा एउटा नयाँ पाना थपियो । निरन्तर जीवनका यात्रा खुला पानामा कोरिरहने प्रतिबद्धतासाथ कलम बन्द गरेँ ।

प्रतिक्रिया दिनुहोस्