पञ्चायतकालका अन्तिम मुखिया


तत्कालीन समयमा मुखियाले प्रयोग गर्ने पित्तलको छाप । पञ्चध्वज राई र कमलसिं राईको पालाको छाप । तस्बिर : कुम्भराज राई/तुवाचुङ डटकम

कमलसिं राई गाउँका नामी डकर्मी हुन् । ५९ वर्षीय राईले बनाएको उस्तै आकृतिका घर गाउँभरि छन् । तर, मानेभन्ज्याङ गाउँपालिका–५, उदैपुरनिवासी उनलाई गाउँलेले मुखियाकै रूपमा चिन्छन् ।

साबिक मानेभन्ज्याङ गाउँ विकास समिति क्षेत्रका उनी अन्तिम मुखिया हुन् । तात्कालिक शासन व्यवस्थामा मुखिया गाउँका प्रशासककै रूपमा कहलिन्थे । जग्गा–जमिनको तिरो (राजस्व) संकलन गर्नेदेखि झैझगडा र न्याय सम्पादनसम्मका काम मुखियाले गर्थे ।

पञ्चायतकालको उत्तराद्र्धमा उनले दुई वर्ष मुखियाको भूमिका निर्वाह गरे । संवत् २०४४ मा जग्गा–जमिन नापी भयो । नापीका आधारमा उनले ०४६ सम्म तिरो संकलन गरे । त्यसपछि बहुदलीय व्यवस्था लागू भयो । पञ्चायती व्यवस्था सधैंका लागि समाप्त भयो । मुखिया, जिम्मावाल, गौरङ, थरी, कारबारीको भूमिका सकियो ।

त्यसो त कमलसिं राई रहर वा क्षमताले मुखिया भएका होइनन् । सयौं वर्षपहिले राईका जिजुहरू यस भेगका राजा (शासक) थिए । १८औं शताब्दीमा उनका जिजु घमण्ड राईले आफ्नो शासनकालमा पृथ्वीनारायण शाहसँग विभिन्न सर्तसहित मुखिया पदमा रहने सम्झौता गरी आफ्नो राज्य एकीकरणमा गाभे । त्यसपछि मुखियाका जेठा छोरा मुखिया हुने परम्परा रह्यो । उनका हजुरबुवा पञ्चध्वज राई मुखियाका रूपमा चर्चित थिए । त्यसपछि बुवा नरमान राई मुखिया भए । नरमानका जेठा छोरा शरणजित राई मुखिया हुनुपर्ने थियो । तर, शरणजित बुवा हुँदै छुट्टिएर बसे । त्यसपछि माइला कमलसिं राईलाई २७ वर्षको उमेरमै मुखियाको जिम्मेवारी आइलाग्यो ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–५, उदैपुरका कमलसिं राई । राई पञ्चायतकालका अन्तिम मुखिया हुन् । तस्बिर : कुम्भराज राई/तुवाचुङ डटकम

राणा शासनकालपछि मुखियाको अधिकार क्षेत्र साँघुरिँदै गयो । पृथ्वीनारायण शाहसँग घमण्ड राईले दक्षिणमा उदयपुरको जहडी रिस्कु, उत्तर–पूर्वमा सोलुखुम्बुको काँकु, मुक्ली, देउसा, पञ्चन, पूर्वमा रोम्दुखोला र पश्चिममा मोलुङखोलासम्म रैतीबाट सिक्सार (अनिवार्य कोसेली) उठाउन पाउने सम्झौता गरेका थिए ।

सिक्सारमा मधेसको धान–चामलदेखि, हिमालको चौंरीको घ्यु, तामाखानीको काँचो तामासम्म उठाउन पाउने सम्झौता थियो । त्यतिबेलाका कतिपय लिखत मुखियाका घरमा सुरक्षित छन् । तात्कालिक समयका लिपि अध्ययन गर्न सके अझै प्रमाणित गर्न सकिने कमलसिं राईले गर्वसाथ सुनाए ।

गाउँआसपासका व्यक्तिले दसैंमा कोसेली बोकेर टीका थाप्न पुग्थे । उनीहरूका जग्गा तत्कालीन नेपाली सेनाले लिएका थिए । त्यसैले सेनाले दसैंमा मार हानेर पूजा गर्दा अनिवार्य राँगाको फिला ल्याइदिने चलन कमलसिंका बुवा नरमान राईको पालासम्म थियो ।

कमलसिं राईले जग्गाको तिरो संकलन गरी सालिन्दा जेठदेखि असारको पहिलो सातासम्म जिल्ला मालपोत कार्यालयमा एकमुष्ट बुझाउँथे । सुरुमा संकलित तिरो बुझाउँदा मालपोतले बाटो खर्च भनेर १० रुपैयाँ दिन्थ्यो ।

संवत् ०४५ मा भने स्थानीय विकास शुल्क भनी एक कित्ता जग्गाबराबर दुई रुपैयाँ उठाउने मुखियालाई अनुमति थियो । मुखियाले सो रुपैयाँ आफ्नो तलबसरह खर्च गर्न पाउँथे । उनले दुई हजार रुपैयाँसम्म स्थानीय विकास शुल्क संकलन गरेका थिए । त्यतिबेला काटिने रसिदमा पित्तलको छाप लगाइन्थ्यो । औंठीजस्तै छापमा मुखियाको नाम लेखिएको हुन्थ्यो ।

बहुदलसँगै व्यवस्था फेरियो । कमलसिं राई पनि व्यवस्थासँगै फेरिए । सामान्य लेखपढ गर्न सक्ने भएकाले डकर्मी काम थाले । त्यसैले जीविका गर्दै आएका छन् । बाबुबाजे त्यतिबेलाका हर्ताकर्ता भए पनि राईले त्यस्तो रवाफ कहिल्यै देखाएनन् । ‘गाउँमा जाँदा मुखिया आए है भनेर मानमनितो गर्ने चलन थियो,’ उनी विगत सम्झन्छन्, ‘त्यो समयअनुसारको व्यवस्था थियो ।’

गणतन्त्र के हो ? उनलाई त्यति ज्ञान छैन । गाउँका काम गर्नुपरे वडाध्यक्ष र गाउँपालिका अध्यक्षकहाँ पुग्नुपर्छ भन्नेसम्म थाहा छ । नेपालको इतिहासमा सयौं वर्ष प्रथाका रूपमा रहेको मुखिया÷जिम्मावाल परम्पराको उनी प्रतिनिधिपात्र मात्र हुन् । तीन दशकअघिसम्म मुखियाको भूमिका निर्वाह गरेका उनीजस्ता सयौं मुखिया गाउँघरमा छन् । उनीहरूसँग ऐतिहासिक दस्तावेज, लिखत, तमसुकहरू छन् । जसबारेमा उचित अध्ययन हुन सकेको छैन । त्यसले नेपालको सामाजिक, आर्थिक, भौतिक अवस्था देखाउन सघाउँछ । उनीहरूलाई विगतको शोषक र सामन्तका रूपमा मात्र नहेरेर, अध्ययनको पाटो बनाउनुपर्ने स्थानीय शिक्षक दीपक राईले सुझाए ।

प्रतिक्रिया दिनुहोस्