बुन्नूस् डोको, बस्नुपर्दैन भोको



मेरो नाम डोको हो । मलाई सामान बोक्ने काममा प्रयोग गरेको तपाईंहरूले देख्नुभएको हुनपर्छ । बिहान गोठको भकारो सोहोर्नेदेखि मेलापात जाँदासम्म, अन्नपात अनि बिस्कुन बोक्नदेखि कहिलेकाहीं बिरामी बोक्नसम्म मलाई प्रयोग गरिन्छ । कोप्रो आकारको थोरै त्रिकोणत्मक अभिव्यक्ति मेरो आकारले दिन्छ ।

हिजोआज सामान बोक्न ब्यागको प्रयोग गरिन्छ । हो म पनि गाउँले जीवनशैलीको एउटा ब्याग हुँ । अझ ब्यागभन्दा पनि पुरानो नेपाली जीवनशैली, उकाली–ओराली अनि थुम्काका लागि म सानोतिनो ट्रक नै हुँ । चक्का भएका ठूला ट्रक बाटाबाटामा दुर्गुछन् भनें मचाहिँ मान्छेको ढाडमा उकाली–ओराली अनि चौतारीमा सामान ओसार्छु ।

डोकामा दोएको दूध अडिँदैन भनेर मान्छेले मलाई अवहेलना गर्दा मलाई रिस उठ्छ । प्रत्येक सामान र वस्तुको आफ्नै प्रयोजन हुन्छ नि होइन र ? मैले तरल पदार्थ अड्याउन नसके पनि अन्य धेरै काममा उपयोगी भएर नेपालीपनलाई जोगाएको छु ।

मेरो मिल्ने दौंतरी भनेको नाम्लो हो । डोरीजस्तो नाम्लोलाई दुवैपट्टि बाँधेर मलाई ढाडमा अड्याउने मान्छेले नाम्लोको अर्को पछ्यौरी आफ्नो थाप्लो अर्थात् निधारमाथि अड्याउँछन् ।

मलाई पूर्वी नेपालको चियाबगानमा तीनपाते चियाका पात टिप्न प्रयोग गरिन्छ । त्यसो गर्दा मलाई आनन्द लाग्छ । ती पात धेरै मस्याइला अनि हलुका पनि हुन्छन् । याद राख्नुहोस्– तपाईंले दैनिक पिउने चियाका पात पनि मैले नै बोकेर कारखानासम्म लैजान्छु नि ।

मलाई बोक्दा हिजोआजका नयाँ पुस्ता लाज मान्छन् । तर, म त्यति लाज मान्न पर्नेगरी फोहोरी र तिरस्कार गर्नुपर्ने पनि छैन । आउनुहोस् आज म मेरो आत्मकथा सुनाउँछु । एउटा डोकोको आत्मकथा ।

यो मेरो कथा लेखिदिन मलाई साथी सुयोग ढकालले सहयोग गर्छन् । मेरा फोटा पनि हेर्नुहोला है ।

म पहिले यस्तो स्वरूपमा हुन्न । मलाई निगालो भन्ने सानोखाले बाँसका रूखबाट बनाइन्छ । पहिले त्यो सुरिलो सानो रूखलाई काटिन्छ । अनि लामो पारेर टुक्रा पारेपछि मलाई भिजाइन्छन् । ती भिजेका निगालाका टुक्राबाट सानो चक्कुले ध्यान दिएर लामा–लामा लमतन्न परेका चोया निकालिन्छन् । हो तिनै चोया बुनेर मलाई तयार पारिन्छ । पहाडी भेगतिर निगालो र बाँस प्रशस्तै पाइन्छन् ।

फुर्सदिला मान्छेले मलाई बनाउँदा खासै खर्च लाग्दैन । तर, बनाइसकेपछि मलाई कम्तीमा १५० देखि २५० रुपैयाँ प्रतिगोटासम्म घरमै किन्न व्यापारी आँउछन् । तिनले मलाई सहरतिर लगेर दोब्बर या डेढ गुणा मूल्यमा बेच्छन् । मलाई बुन्ने मान्छेले रोजगारी पाएका छन् । दिनभरिमा रमाइलो गर्दै, बात मार्दै सातदेखि १० वटा डोका बुन्न सकिन्छ । तर, नेपाली दाजुभाइ यहाँको अवसर नदेखी किन ज्यान मारेर विदेश पुगेका हुन् ?

मलाई पनि विदेश जान मन छ । विदेशीले पनि मनपराएर मलाई बोकेर फोटो खिच्छन् । राम्रोसँग मलाई बुनेर विदेश निर्यात गरेमा पनि आय राम्रै हुन्छ होला ।

जान्ने मान्छेले एकदेखि दुई घन्टाभित्रै मलाई तयार पार्छन् । मलाई बुन्न उति अप्ठेरो पनि छैन नि । सदीयौंदेखि नेपालीको पहिचानका रूपमा म डोको पनि रहेको छु । नेपालीपनको पहिचानका रूपमा मलाई नबिर्सिनुहोला ।

उही तपाईंको
डोको ।

प्रतिक्रिया दिनुहोस्