६० वर्ष काठमाडौं उपत्यका उज्यालो पार्ने पर्फिङ एकाएक निभेपछि



६० वर्ष भनेको थोरै समय होइन । पर्फिङले ६० वर्ष काठमाडौं उपत्यका उज्यालो बनायो ।

श्री ३ चन्द्रशमशेर बेलायत भ्रमणपछि नेपालमा पनि बिजुलीबत्ती बाल्न लोभिए । बेलायतमा बिजुलबत्ती बलेको दखेपछि उनले नेपालमा पनि बिजुलीबत्ती बाल्न सारा प्रबन्ध मिलाए । बिजुलीबत्ती बाल्न फर्पिङ रोजियो ।

बेलायत सरकारको लगानी र डिजाइनअनुसार फर्पिङमा आफ्नै नामबाट चन्द्रज्योति विद्युत् गृह स्थापना गरी ५०० किलोवाट बिजुली निकालियो । बेलायतबाट आयात गरेर निर्माण थालिएको चन्द्रज्योति विद्युत् गृह सम्पन्न हुँदा ७ लाख १३ हजार २ सय ७३ रुपैयाँ खर्च भएको थियो ।

संवत् १९६४ मा निर्माण सुरु भई १९६८ मा निर्माण सम्पन्न गरियो । फर्पिङबाट उत्पादित बिजुलीलाई ‘श्री चन्द्रज्योति प्रकाश’ नाम दिइएको थियो । राजा पृथ्वी वीरविक्रम शाहले १९६८ जेठ ९ गते चन्द्रज्योति विद्युत् गृह उद्घाटन गरेका थिए ।

काठमाडौंबाट १७ किलोमिटर दूरीमा रहेको फर्पिङ क्षेत्रका कुटलीखोला, सातमुले र शेषनारायणको पानी एक ठाउँमा संकलन गरी विद्युत् गृह निर्माण गरिएको थियो ।

संवत् २०३८ बाट चन्द्रज्योति विद्युत् गृहका लागि निर्मित जलाशयको पानी ‘खानेपानी’का लागि वितरण गर्न थालियो । त्यसो गर्न थालिएपछि बिजुली उत्पादन घट्दै गयो । त्यसपछि नेपालको ६० वर्षे बिजुलीबत्तीको गौरवपूर्ण इतिहास फर्पिङको बिजुली सधैंका लागि निभ्यो । तर पनि फर्पिङ जलविद्युत् गृहले जीर्ण अवस्थामा इतिहास बोलिरहेको छ । इतिहास बोकेकै छ ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरले व्यक्तिगत प्रयोजनका लागि विद्युत् गृह निर्माण गरेका हुन् । फर्पिङको बिजुली पहिलोपटक काठमाडौंको टुँडिखेलमा बलेको थियो । तत्कालीन सरकारले विद्युत् वितरण गर्न छुट्टै ‘बिजुली अड्डा’ स्थापना गरेको थियो ।

सबै तस्बिर : सागर बस्नेत

 

 

प्रतिक्रिया दिनुहोस्