मोटरसाइकलभन्दा महँगो साइकल चढ्ने गजलकार



‘७० हजार रुपैयाँमा साइकल किन्दा श्रीमतीसँग ठाकठुक पर्यो,’ साइकलयात्री राजेश खतिवडाले अतीत सुनाए, ‘श्रीमतीले यत्रो महँगो माइन्टेन साइकल किन किन्नुभएको ? बरु बाइक किनेको भए दुवैजना चढ्न पाइन्थ्यो ।’ साइकलयात्री खतिवडाले श्रीमतीलाई सम्झाइ–बुझाइ गरे । अन्ततः सफल पनि भए ।

धेरैजसो साथीसँगाती मोटरसाइकल चढ्छन् । तर, उनी साइकलमै गुड्न मन पराउँछन् । गुडिरहेका छन् । साइकलमा गुडिरहेका साथीलाई मोटरसाइकलमा गुड्नेले भन्छन्, ‘किन यस्तो दुःख गरेको ?’ साथीभाइको प्रश्नको उत्तर दिँदै उनी सोध्छन्, ‘मानिस सगरमाथा किन चढ्छन् ? आखिर ओर्लिनैपर्छ ।’

मानव स्वास्थ्यका लागि साइकल गुडाउनु भनेको अचुक औषधिजस्तै हो । साइकलले वातावरण स्वच्छ राख्न सघाउ पुर्याउँछ । दुवै महत्व बुझेर साबिक बेल्टार–१ उदयपुरनिवासी राजेश खतिवडाले साइकल चढ्न थालेका हुन् । उनले चढिरहेको साइकल ७० हजार रुपैयाँ पर्छ । नेपालमा ५ लाख रुपैयाँसम्मको साइकल पाइने उनले सुनाए । ‘सेकेन्ड ह्यान्ड मोटरसाइकल ५०/६० हजारमै आउँछ,’ उनले गर्व गरे, ‘त्योभन्दा मेरो साइकल महँगो पर्यो ।’

एकताका ९५ किलो तौल भएका उनी साइकल नियमित चढ्न थालेपछि ६५ किलोमा झरेका छन् । स्वस्थ मानिसले कति घन्टा साइकल चलाउन सक्लान् ? दैनिक ७० किलोमिटर साइकल गुडाउँदा खासै समस्या हुँदैन । उदयपुरको बेल्टारबाट मोरङको विराटनगरसम्मको दूरी ९० किलोमिटर छ । उनलाई त्यति दूरी पार गर्न ६ घन्टा लाग्छ ।

उदयपुरको पहाडी गाउँ–ठाउँ साइकलमै पुग्छन् । घुम्छन् । आठ/नौ वर्षको हुँदादेखि साइकल चढ्न थालेका उनी ३६ वर्ष पुगिसकेका छन् । साइकलसँगको साथ छुटेको छैन । बेल्टारकै आफ्नो टोलमा साइकल चढ्ने अरू पनि छन् । तर, उनीहरू गाउँठाउँ वरिपरिमात्रै चलाउँछन् । त्यस अर्थमा उनी उदाहरणीय साइकलयात्री हुन् ।

‘सुरु–सुरुमा त गाह्रो भयो नि,’ उनले जानकारी गराए, ‘साइकलको सिट सानो हुने भएकाले दुखाउँछ । मलाई गाईघाटबाट साइकल चढेर बेल्टार पुग्न गाह्रो भएको थियो । त्यतिबेला बेकार किनिएजस्तो लागेको थियो । तर, गुडाउँदै जाँदा बानी पर्यो ।’ साइकल चढ्दा फाइदै फाइदा छ । कस्तो फाइदा ? ‘साइकल चढ्नेको मसल टाइट हुन्छ । उकालो हिँड्दा गलिँदैन । हिँड्दा स्वाँ–स्वाँ हुँदैन,’ उनले थपे, ‘मेरो साइकल उकालोसमेत सजिलै चढ्छ । नियमित साइकल गुडाउनेलाई सुगर, प्रेसर हुँदैन ।’ त्यतिमात्रै होइन, साइकलको कर तिर्नुपर्दैन । इन्धनका लागि घन्टौं लाइन बस्न पर्दैन । स्थानविशेषका सडकको ‘जाम’बाट पिरोलिनुपदैन । भएन त फाइदा ?

‘काठमाडौंमा १० लाखभन्दा बढी मोटरसाइकल होलान् । सबैले साइकल प्रयोग गर्ने हो भने जाम हुँदैन,’ उनको सोधाइ छ, ‘इन्धन पनि बचत भयो । प्रतिलिटर ११५ ले हिसाब गर्दा १० लाख मोटरसाइकललाई मासिक पेट्रोल कति लाग्ला । त्यसलाई वर्षमा कन्भर्ट गर्दा कति खर्च होला ? साइकल प्रयोग गर्ने हो भने इन्धन बचत भयो कि भएन ?’

साहित्यको विविध विधामा कलम चलाउँदै आएका उनले अहिलेसम्म मोटरसाइकललगायत अन्य यातायातसाधन किनेका छैनन् । किन्ने सोच पनि छैन । ‘मोटरसाइकल चलाउन आउँछ । लाइसेन्स पनि छ, उनले सुनाए, ‘मेरो ‘ए’ र ‘बी’को लाइसेन्स छ । दुवैको नवीकरण गर्दै आएको छु । तर, मोटरसाइकल नकिन्ने घोषणै गरेको छु । तर, आवश्यकता पर्दा चढ्नचाहिँ चढ्छु ।’

‘पोख्न बाध्य व्यथाहरू’ गजलसंग्रहका स्रष्टा खतिवडा माउन्टेन बाइक राइडर हुन् । उनी शनिबारबाहेक दैनिक ४४ किलोमिटर माउन्टेन बाइक यात्रा गर्छन् । पाँच कक्षामा पढ्दा उनले पाँच सयमा पहिलोपटक साइकल किनेका थिए । पाँच सयमा किनेको साइकल मर्मत गर्न पाँच सय नै लागेको थियो । बुवाले किनिदिएको साइकल उनले दुई/तीन महिनासम्म चलाए । आठ कक्षा पढ्दाताका एक हजारमा फेरि दोस्रोपटक साइकल किने । हजारमा किनेको साइकल हजारमै बेचे । त्यसपछि पातलो टायर भएको साइकल एक हजार पाँच सयमा किने । महेन्द्र मोरङ क्याम्पस पढ्न थालेपछि चार हजार दुई सयमा फेरि साइकल किने । यो २०६२/०६३ को कुरा हो । उनले हिजोआज चढ्दै आएको पाँचौं साइकल ७० हजार रुपैयाँ पर्छ ।

प्रतिक्रिया दिनुहोस्