यसरी बनेका थिए– सुनकोसी, तामाकोसी, भोटेकोसी, लिखु


सुनकोसी

उहिले–उहिले किरातहरू (अहिलेजस्तो कोइच, राई, लिम्बू, याक्खा, हायू, सुरेल, जिरेल भनेर नछुट्टिएका बेला) ढोल बजाएर नाच्दै आफ्नो पुर्खाको पूजा–आराधना गर्दा शाक–कार होपो (देवता) होमा (देवी) खुसी भएर साततले होमाचिरी कलश उपहार दिएका थिए । त्यो साततले होमाचिरी कलशलाई पुर्खाको चिनो मानेर सँगै बोकिहिँड्ने गर्थे । विभिन्न जंगली जनावरहरू रोकाइस, (घोरल), किस (मृग) को बलि दिएर पुर्खा पूजा गर्थे । यसरी सिकार खेल्दै घुमन्ते जीवन बिताउनेक्रममा किरातीहरूको परिवार ठूलो हुँदै गएपछि किराती मुलिच (मुखिया)हरूबीच सभा बस्यो ।

सिकार पाउन कठिन हुँदै गएपछि दाजुभाइ छुट्टिएर छुट्टाछुट्टै सिकार गर्ने सल्लाह गरे । यसरी दाजुभाइ छुट्टिनेक्रममा इष्ट देवदेवी शाक–कार होपो–होमालाई कसले राख्ने भनी छलफल हुँदा आपसमा कुरा मिल्न सकेन । दाजुभाइमा शाक–कार होपो–होमालाई ‘तँ राख्ने र म राख्ने’ भनी खोसाखोस गर्नेक्रममा ठूलो झगडा हुन पुग्यो । यसरी दाजुभाइ झगडा गरेको देखेर इष्ट देवदेवी शाक–कार होपो होमाको प्रतीक साततले कलश धर्तीमा भासिएर अल्पिन लाग्दा ती किराती दाजुभाइहरूले देखे र सबै ती दाजुभाइले होमाचिरी कलशमाथि जडित होमोचिरीमा समाएर धर्तीमाथि ताने । तर, कलश माथि तानिएन कलशमाथि जडित होमोचिरी मात्र भाँचिएर हातमा आयो । धर्तीमा भासिएको होमाचिरी कलशको ठाउँमा ढुंगा बन्यो ।

होमाचिरी कलश जमिनमा भासिएर ढुंगा बनेपछि किरातीहरू सबै विलखबन्दमा परे । सबै वैरागी भएर दाजुभाइ छुटफुट भएर लाखापाखा लागे । कोइच होपोको झुन्ड पनि आफ्नो हातमा भएको होमाचिरीलाई इष्ट देवदेवी मानेर अगाडि बढे । उनीहरू जहाँ–जहाँ बसे, त्यहाँ–त्यहाँ सिकार गर्दै होमाचिरीलाई पूजा–आराधना गर्दै रहे । तर, यसरी अगाडि बढ्दा बाटोमा सोचेजस्तो सिकार पाउन कठिन भयो । ठूलो समूहमा बसाइँ सरेकाले बूढाबूढी, बालबच्चा पनि सँगै थिए । उनीहरूलाई भोकले साह्रै ग्रस्त पार्यो । खाना नपाएर बाटोमा कति मरे । समूहमा अनेकन विचलन र विपत्ति आइलाग्यो । कोइच मुलिच (मुखिया)लाई आफ्नो समूह नियन्त्रण गर्न पनि कतिपय अवस्थामा गाह्रो हुँदै गयो ।

कतिपय अवस्थामा नियम उल्लंघन गर्नेलाई सजाय दिँदादिँदै पनि अनियन्त्रित हुनेक्रम बढ्दै गयो । यसरी समूहलाई नियन्त्रण गर्दागर्दै एकदिन समूहका केही मानिसले सिकार गरेर ल्याएको सिकारलाई इगी (सृष्टिकर्ता) होपोको रूप शाक–कार होपो–होमालाई नचढाई, पूजा नगरी खाए । मानिसको आँखा छले पनि इष्ट देवदेवीको आँखा कसैले छल्न सकेनन् । कोइचहरूबीचको यस्तो अराजकता देखेर शाक–कार देवी होमाचिरी ‘फुपू थुइ फुपू थुइ’ भनेर उडेर दक्षिणतिर लागिन् ।

तामाकोसी

कोइचहरू आफूसँग भएको होमाचिरीले छोडेर गएको हुँदा होमाचिरी उडेर गएको दिशातिर लागे । तराईको झोर जंगल घुमे । सिकार गरेर खाए । इष्ट देवीको पूजा–आराधना गर्दै घुमे पनि होमाचिरीलाई कतै पाउन सकेनन् । जस्तोसुकै अवस्थामा पनि शाक–कार होपोहोमाको पूजा आराधना गर्न नछोडेको हुँदा एक रात होमाचिरी खुसी भई कोइच मूलिच, नाअसो (पुजारी), पोइँब (झाँक्री), ग्याँमी (स्त्री झाँक्री)लाई सपनामा दर्शन दिई निर्देशन दिनुभयो, “हेर कोइच, तिमीहरूले साह्रै दुःखले मेरो भक्ति गर्यौ। तिमीहरू रोल होफो वाइली मामा (रोल्वालिङ हिमाल), चामले मामा (सुत्केरी गराउने देवी), फुँरेलु (हिमशृंखला) वरिपरिको भूमिमा गएर बस्नू, म त्यहीं आइपुग्छु ।”

इष्ट देवदेवी शाक–कार होपोहोमाको आदेशअनुसार कोइच होपो, खिँची होपो (सुनुवार कोइचका पुर्खा) आफ्नो खापोनिपोलाई लिएर नाम्–दो पालो (हालको चरिकोट) भन्ने ठाउँ पुगे र त्यहीं बस्ती बसाले । कोइच नाअसो पोइँबो ग्याँमीले नाम्–दो पालोमा बिहानी सूर्यको किरणसँगै रोल्–पो वाइलिँमा (चाम्–लेमा) हिमशृङ्खला इँगीको सृष्टिलाई हेरेर मन्द मुस्कान छरी हाँसिरहेका थिए । कोइच रागी नाम दो पालो पूरै घनघोर झोर जंगल ठूलो पातालले ढाकेको थियो । बिहानी घामको झुल्कामा वन एकतमासले सुन्दर देखिएको थियो ।

भोटेकोसी

यत्तिकैमा दक्षिबाट झलल चम्किएको सुनौलो प्रकाश मडारिएर आकाशै ढाकी उँभो आयो । त्यो सुनौलो प्रकाशले रोल्पो वाइलिँमा, चामलेमा हिमशृंखला पूरै टलल टल्कियो । त्यो उज्यालो सुनौलो प्रकाश जति–जति नजिकिँदै आयो, उति–उति विशाल होमाचिरी तुँकुर–मा(सुनढुकुर)को रूप लिँदै गयो । आकाशमा स्वतन्त्र घुमी उत्तर–पूर्वतिर उडेको होमाचिरी (सुनढुकुर), पहिला अलप भएको इष्टदेवी शाक्–कार देवी भएको थाहा पाएर तेल होपो, दोखा होपोलगायत पोइबो ग्यामी नाअ्सोले खाप्आ फुर (माटोको धुलो), कु (पानी) र बाकुलाई लिन पठाए । खाप्आ फुर–कु र बाकुले लिन गए तापनि शाक–कार होपोहोमा अगाडि बढेको बढ्यै गरेको हुँदा शाक–कार होपोको वचन पूरा गराउनका लागि नाअ्सो पाइबो ग्यामीले आफ्नो दिव्य शक्तिको सहाराले नुम्–बुर फुरेलु (गौरी शङ्कर हिमाल)लाई आँखामा घामको टक लगाएर स्मरण गराउन अराए । सिधै पूर्वोत्तर हुइँकिएको होमाचिरीलाई नुम्–बुर फुरेलुले हिउँलाई एकत्रित गरी घामको टक फर्काएर होमाचिरीलाई आफूले कोइच होपो खिची होपोलाई दिएको वाचा वचन सम्झे ।

यसरी घामको टकले पूर्वस्मृति भए पनि कोइच रागी (सुनुवार बसोवास क्षेत्र)मा आफ्नो भक्तहरूलाई दर्शन दिन दायाँबाट बायाँतिर फर्किंदा होमाचिरीको चुच्चो रोल्पो वायलिमा चामलेमाको शिखरमा ठोक्किन पुग्यो भने पुच्छर नुम्बुर फुरेलुमा । त्यसरी ठोक्किएर रन्थनिएकी त्यो होमाचिरी (सुन ढुकुर)को आँखाबाट आँसुका ढिक्काहरू कोइच रागी नाम दो पालेमा खस्यो । घामको टकले आँखाको ज्योति हराएर अन्धकार भएको अवस्थामा रोल्पो वायलिमामा टाउको ठोक्किएको पीडाले छट्पटाएर कोइच रागी नाम्दो पालोमा बस्दा घोप्टो परेर बस्न पुगे । यसरी होमाचिरी कोईच रागी नामदो पालोमा बस्दा मुख खिची काःत (खिजी काती)मा, दाहिने पखेटा कटुन्जे, देब्रे पखेटा किराती छापमा र खुट्टा नाङ्थलीमा पर्यो । अति पीडानुभूति भएको हुँदा होमाचिरीले निराकार रूप लिने विचार गरिन् र आफूलाई ढुंगामाटोमा विलीन गराइन् ।

लिखु

यसरी कोइच रागीमा धर्तीमा विलीन हुनेक्रममा जुन–जुन अंग जहाँ–जहाँ विलीन भए, त्यही–त्यही ठाउँमा पवित्र पोखरी बने । अहिलेको चो रोल पो (रोल्वालिङ, दोलखाको च्छो रोल्पो ताल), सिदी (दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्ने पाँचपोखरी) सिलुखुलु (सोलुखुम्बुमा पर्ने दूधकुण्ड) शाक कार देवीको आँसु जमेर बनेको हो भनिन्छ । तिनै पोखरीहरूबाट दूधकोसी, लिखुकोसी, तामाकोसी, सुनकोसी बने ।

त्यसरी होमाचिरी पानीमा परिणत भएपछि इगीको जलचर सृष्टि माछाहरू ती खोलामा आए र सादार पिदारका गुठी बने । कोइच रागीको संस्कृतिको एक अंग बने । यसैले कोइचहरू आफ्नो इष्टदेवीको शरीर ठानेर ङाकु (सुनकोसी), बुकु (बुकुखोला), सुबुकु (भोटेकोसी) दुबुकु (तामाकोसी), खिम्कु (खिम्ती)लाई अझै पूजा गर्ने बूढापाकाहरू र्छन् भन्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्