मन्दिर छिर्ने कि सिंहदरबार ?



‘गान्धी’ र ‘दमाई’ मानिसका थर हुन् । जुन पेसाका आधारमा बनेका थर हुन् । तर, ‘गान्धी’ र ‘दमाई’ भन्दा हाम्रो दिलदिमागमा छुट्टाछुट्टै अर्थको विम्ब बन्छ । त्यस्तो विम्ब बन्नु भनेको हिन्दुआर्य समाजको विकृत जात व्यवस्थाले गर्दा हो ।

गान्धी गुजरात भारतको बानियाँ समाजको थर हो । बानियाँहरू वर्णव्यवस्थामा व्यापारी हुन् । गान्धी भनेको ‘गन्ध’ बाट अपभ्रंश भएर आएको हो । गन्ध वा सुगन्ध (सेन्टर पफ्र्युम) को व्यापार गर्नेलाई गान्धी भनिएको हो । महात्मा गान्धीको पुर्खा गन्धको व्यापार गर्थे ।
दमाई भनेको ‘दमाहा’ बनाउने र बजाउनेलाई भनिएको हो । दमाई शब्दको मूल दमाहामा छ । यहाँ दुई पेसालाई विश्लेषण गरौं । दमाहा भनेको संगीत कलासँग सम्बन्धित छ । दमाहा बनाउन र बजाउन सीप, कला चाहिन्छ । दमाहा भनेको आधुनिक बाजागाजाको शास्त्रीय संस्करण हो । यो संगीतसँग जोडिएको विधा हो । संगीत मानव सभ्यताको अभिन्न अंग हो ।

व्यापार र संगीत दुवै कला त हो तर व्यापार ग्राहकलाई लुट्ने कला हो भने संगीत जीवनलाई जोड्ने कला हो । यदि महात्मा गान्धी राजनीतिमा नभएर गन्ध व्यापारमै लागेका हुन्थे भने गान्धीहरू काला बजारिया भएरै अहिले पनि चिनिन्थे । तर, गान्धी थरका एक व्यक्तिका कारण ‘गान्धी’ शब्दलाई गरिमामय बनाइदियो । गान्धी थर अरूले प्रयोग गर्न थाले । अहिलेका राहुल गान्धीको पुर्खा पारसी हुन् । यिनका हजुरबुवाले गान्धी थर प्रयोग गरेपछि गान्धी परिवार भएर कहलिएकामात्र हुन् ।

शब्द उत्पत्तिका आधारमा गान्धीभन्दा दमाई शब्द गाम्भीर्य छ, ओजस्वी छ । गौरव छ । तर, दमाई शब्द किन अपहेलित छ ? दमाईलाई दलितको खेमामा राखिएको छ । यदि दलित संगठित भएर एकीकृत राजनीतिक शक्ति आर्जन गर्ने हो भने उत्पीडकको समकक्षी बन्न सक्छन् । सीप, कलाको जननी हुनु त छँदै छ, त्यसमाथि पनि शक्ति हुनु हो भने दलित जातिको तागत अरू समुदायमा हुँदैन । बाहुनसँग समानान्तर हैसियत कायम भएपछि दलितलाई बाहुनले ढोग्न आउँछन् किनभने बाहुनहरू शक्तिको पुजक हुन्छन् । जोसँग शक्ति हुँदैन, उसलाई बाहुनले लात हान्छन् । दलित यो देशको प्रधानमन्त्री भयो भने सबैभन्दा पहिले बाहुनको खुट्टा ढोग्न पुग्छन् । प्रधानमन्त्री (शक्ति) को हैसियत बनाउने दलितलाई कुन बाहुनले मन्दिर छिर्न दिन्नौं । छोएको खान्नौं । र, छोरी दिन्नौँ भन्लान् ?

लु है साथीहरू, मन्दिर कि सिंहदबार छिर्ने ? मन्दिरमात्रै छिर्ने हो भने काँग्रेस, कम्युनिस्टको पछि लाग्नोस् । सिंहदरबार छिर्ने हो भने हामीसँग बढ्नोस् ।

प्रतिक्रिया दिनुहोस्