नयाँ नोट र बडादसैं



दसैंमा मीठो खाना, नयाँ लुगाजस्तै नयाँ नोटको पनि उत्तिकै महत्व हुन्छ । दसैंमा नयाँँ नोट प्रयोग गर्ने चलन छ । नेपाल राष्ट्र बैंकले दसैं–तिहार लक्षित गरेर नयाँँ नोट वितरण गर्ने गर्छ । त्यसबाहेक अन्य समयमा पनि नयाँँ नोट प्रचलनमा नल्याउने होइन । तर, उसले सालिन्दा दसैं–तिहारका लागि नयाँँ नोट वितरण गर्दै आएको छ ।

नेपाल राष्ट्रबाहेक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा नेपाल बैंक लिमिटेडका सबै शाखा कार्यालयबाट समेत सीमित मात्रामा नयाँं नोट सटही गर्न सकिने गरी व्यवस्था मिलाउँछ ।

राष्ट्र बैंकले दसैंमा धेरै नयाँं नोट किन वितरण गर्छ त ? दसैंमा नयाँ नोटको प्रयोजन धेरैलाई सर्वविदितै छ । दसैंमा नोट प्रचलनमा ल्याउँदा वा नयाँं नोट वितरण गर्दा नोट छिटै पुराना र मैला हुन्छन् । अर्थात् नोटको आयु घट्छ । तर, चलिआएको परम्परा एकैपटक अन्त्य गर्न सकिँदैन ।

सम्भवतः राष्ट्र बैंकले अन्य समयमा पनि नयाँ नोट प्रचलनमा ल्याउने, पुराना खिच्दै जाने र मात्रा कटौती गर्दै जाने नीति लिएको छ । तर, नोटको सुरक्षा र आयुका दृष्टिले पनि दसैंलाई लक्षित गरेर नोट वितरण गर्ने परम्परा अन्त्य हुनुपर्छ । सफा नोट नीति जारी गर्नुका साथै नोटको सुरक्षा र हिफाजतपूर्वक प्रयोगका लागि विभिन्न माध्यमबाट जानकारी गराइए पनि त्यसको अपेक्षित र वाञ्छित प्रभावकारिता देखिन नसकेकाले जानाजान आयु घट्नेगरी नोट प्रचलनमा ल्याउने परम्परा ढिलो–चाँडो अन्त्य गर्नुपर्छ ।

केन्द्रीय बैंकले ढुकुटीमा रहेका नोट समय–समयमा दिने गरेमा बैंकहरूले वितरण गर्छन् । नयाँँ नोट चलनचल्तीमा आइरहन्छ । पुराना, केरमेट गरिएका वा च्यातिएका नोट सहजै सटही नहुनेगरी कडाइ गर्न सकेमा नोट प्रयोगकर्ता सजग हुने र नोट सफा रहने सम्भावना हुन्छ ।

राष्ट्रबैंकले बेलाबखत नोट सुरक्षाका लागि आग्रह गर्छ । नोटको सुरक्षा कसरी गर्न सकिन्छ भनेर सुझाएको हुन्छ । तर, प्रयोगकर्ताले त्यसको ख्याल गरेको देखिँदैन । विदेशी नोट सुरक्षितसाथ राख्ने गरिए पनि नेपाली नोट जथभावी राख्ने भएकाले नोटको आयु घटेको हो । नोट हाम्रो सम्पत्ति हो भन्ने नबुझे, नसोचेसम्म र नोटको सट्टा भर्ना र सटहीमा कडाइ नगरेसम्म नोट सुकिला रहने र आयु बढ्ने सम्भावना भने कमै छ ।

हामीकहाँ नगद नै नचाहिने र विद्युतीय माध्यमबाट पनि कारोबार सुरु भइसकेको छ । यस सन्दर्भमा दसैं र नोटको सन्दर्भमा पनि नयाँं ढंगबाट सोच्नु जरुरी छ । यस अतिरिक्त नोट सुकिलो राख्नुपर्छ भन्ने सन्देश फैलाउने, प्रचार–प्रसार गर्ने तथा नोट सुकिलो राख्दा दसैंमा नयाँं नोटका लागि तनाव लिनुनपर्ने भएकाले दसैंमा नयाँं नोट वितरण गर्ने परम्परा अन्त्य गरी समय–समयमा नयाँं नोट बजारमा पठाउन आवश्यक छ ।

नयाँ र पुरानो नोटको मूल्य र क्रयशक्ति एउटै हुनाले मूल्यका दृष्टिले नयाँ र पुरानो नोटबीच अन्तर हु“दैन । खल्तीबाट पुरानो नोट निकाल्नुभन्दा नयाँ र सुकिला नोट निकाल्दा सभ्यतासमेत झल्कने भएकाले दसैंमा नयाँ नोट अत्यधिक माग हुन्छ ।

कोरोना कहरले यसपटक नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट वितरण गरेन ।

 

प्रतिक्रिया दिनुहोस्