गाउँदेखि सहरसम्म पिङ



दुर्छिम (खोटाङ) । वर्षमा एकपटक पिङ खेल्नुपर्छ भन्ने भनाइ छ । गाउँमात्रै होइन, सहरमा समेत दसैं–तिहारमा पिङ खेलेर रमाइरहेका त्यत्तिकै देखिन्छन् । सबै उमेर समूहकाले पिङ खेल्न रहर गर्छन् । त्यसमध्ये केटाकेटा पिङ खेल्न बढी रहर गर्छन् । वर्षमा एकपटक भुँइ छाड्नुपर्छ भन्ने मान्यताले पिङको महत्व बढेको हो ।

पिङ खेलेर मनोरञ्जन लिन सबैलाई छुट छ । विशेषतः दसैं–तिहारमा पिङ खेलेर मनोरञ्जन लिने नेपालीको मान्यता नयाँ होइन । पिङ हाल्नु, खेल्नु, मनोरञ्जन गर्नु, आपसी सद्भाव साट्नुको आनन्द अरूसँग तुलना गर्न सकिँदैन ।

विशेषतः फूलपातीदेखि भाइटीकासम्म पिङ खेल्ने चलन मुलुकभरि चलेकै छ । दसैं–तिहारताका सबैलाई पायक पर्ने ठाउँमा पिङ हाल्ने प्रचलन पुरानै हो । रामायण, श्रीकृष्णचरित्र एवम् महाभारतमा समेत राम एवम् कृष्णले झुला वा पिङ खेलेका थुप्रै प्रसंग उल्लेख छन् । नेपाली नोटमा समेत लिंगेपिङ अंकित गरिएको छ ।

मुलुकमा प्रचलित पिङ यस्ता छन् ।

लिंगेपिङ

दसैंमा हालिएको पिङ तिहारसम्म देख्न सकिन्छ । पिङलाई मनोरञ्जनका साधनका रूपमा लिन सकिन्छ । पिङ धेरैखालका हुन्छन् । त्यसमध्ये लिंगेपिङ प्रसिद्ध छ । अन्यको तुलनामा लिंगेपिङ तयार पार्न सजिलो हुन्छ । चार बाँसका लिंगो गाडेर बाबियोको डोरी झुन्ड्याएर बनाइएको पिङलाई लिंगेपिङ भनिन्छ । गाउँदेखि सहरसम्म लिंगेपिङ देखिन्छ ।

रोटेपिङ

लिंगेपछि रोटेपिङ त्यत्तिकै प्रचलित छ । रोटेपिङमा ४, ८, १२, १६, २४ वटा पिर्का राखेर बनाइन्छ ।

जाँतेपिङ

जाँतोझैं घुम्नेलाई जाँतेपिङ भनिन्छ । काठ प्रशस्त पाइने स्थानविशेषमा जाँतेपिङ र रोटेपिङ लगाइन्छन् । उल्लिखित दुवै पिङ बनाउन सिपालु व्यक्ति चाहिन्छ । सिपालु व्यक्ति नपाइँदा रोटेपिङ र जाँतेपिङ कमै देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्