मेयरको दसैं


‘बुवाआमा हङकङमा हुनुहुन्छ,’ हलेसी तुवाचुङ नगरपालिका खोटाङका मेयर इवन राईले सुनाए, ‘जेठा दाइले दसैं मान्नुहुन्न । यसपटक माइला दाइ भविन्द्र राई र साइँला दाइ टंक राईसँग टीका लगाउँछु । त्यसपछि काका, बडासँग पनि टीका लगाउँछु ।’

परदेशमात्रै होइन र घरदेशमै रहे पनि विभिन्न कारणले वर्ष दिनसम्म नभेटिइएका आफन्त, इष्टमित्र भेट्ने शीर्षक दसैं पनि हो । दसैंको बहानामा आफन्त, इष्टमित्र र शुभचिन्तकसँग भेटघाट हुन्छ । गरिन्छन् । दसैंमा शुभकामना आदान–प्रदानका साथै टीका लगाउने, आशीर्वाद लिनेदिने गरिन्छ । ‘दसैंमा तीन–चार दिन अल्मलिइन्छ,’ मेयर राईले भने, ‘दशमीदेखि पूर्णिमासम्म टीका लगाउने चलन छ । टाढाका आफन्त पूर्णिमासम्म टीका लगाउन आउँछन् । नवमीदेखि पूर्णिमासम्म अलि व्यस्त हुन्छु ।’

बुवाआमा र दाइहरू घर नहुँदा उनले नै पाहुनापाछा टार्थे । यसपटक माइला र साइँला दाइ घरमै छन् । त्यस अर्थमा उनलाई केही होलोखुकुलो हुनेछ ।

आशीर्वाद लिनेदिनेबाहेक दसैं भन्नासाथ मनोरञ्जन र खानपानको चाड पनि हो । ‘सामान्यतया दसैंमा मासुभात खाइन्छ,’ उनले सम्झे, ‘गाउँघरमा रमाइलो गर्ने माध्यम भनेको पिङ हो । त्यही खेलिन्छ ।’

सामाजिक कार्यकर्ता भएकाले दसैंमा समेत केही न केही काम परिरहेको हुन्छ । त्यस्तो अवस्थाम कहीं पुग्नैपर्ने हुन्छ भने कतिपय ठाउँमा बोल्नुपर्ने हुन्छ । दसैं भनेर चुपचाप बस्न मिल्दैन । त्यसबाहेक दसैंका लागि बनिबनाउ कार्यक्रम हुँदैनन् । भए पनि कतिपय अवस्थामा हिँड्न सकिँदैन । त्यो मेयर इबन राईमा पनि लागू हुन्छ ।

सामाजिक कार्यकर्तामात्रै नभएर मेयर भएकाले दसैंमा भेट हुन नसकेका आफन्त, शुभचिन्तक, इष्टमित्र र सामाजिक कार्यकर्तालाई उनले टेलिफोन र सामाजिक सञ्जालबाट शुभकामना दिने गर्छन् । कतिले आशीर्वाद पनि माग्छन् ।
माग्नेलाई मेयरले के आशीर्वाद देलान् ?

‘खुसी हुनू, सुखी रहनू । कसैलाई दुःख नदिनू,’ लामो आशीर्वाद दिन जान्दिनँ भन्दै उनने प्रस्ट्याए, ‘असल मानिस बन्नू ।’

दसैं भन्नासाथ आशीर्वाद लिने दिने, मनोरञ्जन गर्दै खानपिनमा रम्ने रमाउने हो । उनी पनि त्यसै गर्छन् । परिवार र साथीभाइ भेला भएर खानपिनमा रमाउनुको आनन्द शब्दमा व्यक्त गर्न सकिँदैन । ‘दसैंमा बासी मासु खाइँदैन,’ उनले यथार्थ बताए, ‘पाँच÷छ घर मिलेर दैनिक कुनै एक घरमा सुँगुर काट्छौं । त्यसो गर्दा दैनिक आलो मासु खान पाइन्छ । नवमीदेखि पूर्णिमासम्म आलो मासु खाँदा स्वास्थ्य पनि बिग्रँदैन ।’

मेयर भनेको नगरपालिकाको अभिभावक पनि हुन् । हलेसी तुवाचुङ नगरपालिका अभिभावक उनले दसैंमा लेखक युग पाठकको किताब ‘माङ्गेना’ पढ्ने योजना बनाएका छन् । भने, ‘किताब किनिसकेको छु ।’

दसैंमा आशीर्वादमात्रै दिइँदैन । दक्षिणा पनि दिने गरिन्छ । उनी दक्षिणा धेरैमा पर्दैनन् रे । दसैंमा दक्षिणास्वरूप नयाँ नोट दिने प्रचलन छ । उनले पनि त्यसै गर्छन् । तर, पंक्तिकारसँग कुराकानी गरिरहँदा उनले नयाँ नोट व्यवस्था गरिसकेका थिएनन् । उनले अतीत सम्झे, ‘पहिले दसैंका लागि डेढ लाख रुपैयाँसम्मको नयाँ नोट साट्थें । माग्नेलाई नयाँ नोट उपलब्ध गराउँथें । पछिल्लो समय त्यो सुविधा दिन सकेको छैन ।’

(तुवाचुङ वर्ष १, अंक १२, २०७५ बाट ।)

प्रतिक्रिया दिनुहोस्