तर पनि हामी खुसी



सिमसिम पानी परिरहेकै थियो । डाँडागुठ हिँड्यौं । हलेसी तुवाचुङ नगरपालिका–७ डाँडागुठ खोटाङकी सुरेशकुमारी राईले थालेको सयपत्री फूल खेतीको रिपोर्टिङ गर्ने रहर । हलेसीबाट संवत् २०७६ असार अन्तिम साता डाँडागुठतिर ओरालियौं । ठाउँठाउँमा बाटो त्यत्तिकै चिप्लो । फूल व्यवसायी राईको घर पुग्दा निथ्रुक्कै भिज्यौं ।

पानी रोकिने छाँटकाँट थिएन । फूल खेती गरिएको ठाउँमै पुगेर जानकारी लियौं । सयपत्री फूलको बीचमा उभिएर हाँसेकी ६७ वर्षीया सुरेशकुमारी राईको हाँसो कम्ती लोभलाग्दो देखिँदैनथ्यो ।

रिपोर्टिङ सकेर हलेसी फर्कंदै गर्दा पानी झन् दक्र्यो । गाउँठाउँको सडक । कतिपय ठाउँमा स्तरोन्नति गरिँदै थिए । पानीले हिलाम्य बाटो । तसर्थ, मोटरसाइकलको मोटरगार्डमा हिलो जम्मा भइहाल्थ्यो । हिलो नटाँसियोस् भनेर मोटरगार्डमा चामलका बोरा बाँधे पनि एकैछिन फुस्किहाल्थ्यो । मोटरगार्डमा टाँसिएको हिलो जे भेट्यो त्यसले कोट्याएर निकाल्दै यात्रा छोट्याउँथ्यौं ।

कतिपय अवस्थामा मोटरगार्डको हिलो निकाल्न नसकेर मोटरसाइकल डोर्याउनसमेत सकिँदैनथ्यो । सहयोग माग्ने अवस्था पनि थिएन । मोटरगार्डको हिलो जसोतसो फालेर मोटरसाइकल ‘स्टार्ट’ गर्दा लुगासमेत हिलैहिलो भए । जसोतसो हलेसी फक्र्यौं ।

 

प्रतिक्रिया दिनुहोस्