खेलमैदानमय खोटाङ : जिल्लाका लोभलाग्दो १२ खेलमैदान



संसारमा सबैभन्दा छिटो दौडने जनावर चितुवा हो । जसले ६ सेकेन्ड ८ पल्समा १०० मिटर दूरी पार गर्छ । लगभग चितुवाको गतिमा दौडने पृथ्वीमा एउटा मान्छे छन्, जस्को नाम उसेन बोल्ट हो । जसले, त्यो दूरी ९ सेकेन्डमा पूरा गरेको रेकर्ड छ ।

यो सन्दर्भ यस अर्थमा उल्लेख गर्न खोजेको हुँ कि, एउटै खेलाडीले पनि आफ्नो देशको नामलाई विश्वभरि चिनाउन सक्छ । उसेन बोल्टले जमैका भन्ने देशलाई विश्वभरि चिनाए ।

मुलुकलाई स्वस्थ बनाउन, मुलुकको नाम प्रसिद्ध बनाउन, हामीले पनि हाम्रा बालबालिका र युवकयुवतीलाई खेलकुदमा प्रोत्साहित गर्न जरुरी छ । यसै कुरालाई दृष्टिगत गर्दै खोटाङको निर्वाचन क्षेत्र १ (क) अन्तर्गत हामीले, यहाँका समग्र खेलकुदप्रेमी युवकयुवती, नेकपाका समग्र नेता तथा कार्यकर्ता, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुलगायत सम्पूर्ण जनप्रतिनिधिसँग मिलेर १२ स्थानमा खेलकुद मैदान निर्माण गरिरहेका छौं । निर्माणाधीन केही स्थानमा संघ सरकारको तर्फबाट समेत सहयोग प्राप्त भएको छ।

यसको अलावा यहाँ स्थानीय तह आफैंले पनि र संघीय संसद्को माननीयज्यूको तर्फबाट समेत खेलकुदका संरचना निर्माण भइरहेका छन् ।

सामान्यतः म आफ्नो कार्यावधिभित्र आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत ४० वडामध्ये निम्नतम ३० ठाउँमा खेलमैदान निर्माण गर्न उत्सुक र प्रयत्नशील छु।

यी खेलमैदान निर्माणका निम्ति निःशुल्क आफ्नो अमूल्य जग्गा दिनुहुने सम्पूर्ण महान् मनहरूलाई म हृदयबाटै धन्यवाद दिन्छु।

प्रतिक्रिया दिनुहोस्