‘वेल एजुकेटेड’ नगर उपप्रमुख



‘राजनीतिमै भविष्य खोज्दै छु,’ हलेसी–तुवाचुङ नगरपालिका उपप्रमुख बिमला राईले दाबी गरिन्, ‘नीति निर्माण तहमा पुग्दा आफ्नोमात्रै होइन, अरूको समेत भविष्य उज्यालो बनाउन सकिन्छ ।’

आफ्नोमात्रै नभएर अरूको समेत भविष्य उज्यालो बनाउने ध्याउन्नमा लागेकी हलेसी–तुवाचुङ नगरपालिका उपप्रमुख राईले परियोजना (प्रोजेक्ट) को आकर्षक जागिर छाडेर राजनीतिमा पूर्णकालीन बनिन् । राजनीतिलाई ‘डर्टी गेम’ भन्नेको बाहुल्य छ । एकताका उनी पनि त्यसै भन्थिन् । ‘राजनीति आकर्षक मानिए सबै झुम्मिन्थे,’ उनको तर्क छ, ‘राजनीतिलाई फोहोरी खेल भनिए पनि नराम्रोलाई राम्रो बनाउने दायित्व तपाईं हाम्रै हो ।’ ग्रामीण विकास (आरडी) मा स्नातकोत्तर उनी राजनीतिमै ‘करिअर’ बनाउन लोभिइएकी छन् ।

राजनीति उद्योगका रूपमा परिणत हुँदै छ । राजनीतिलाई पेसा/व्यवसाय बनाउनुहुँदैन भन्नेको कमी छैन । त्यसो भए, राजनीतिक नेताले घर–व्यवहार कसरी चलाउने होला ? ‘राजनीति विशुद्ध सामाजिक काम हो,’ उनले सुझाइन्, ‘सम्बन्धित राजनीतिक नेताका परिवारलाई व्यवसायसँग जोड्न सकिन्छ । सम्बन्धित नेताले समेत व्यवसाय गर्दा हुन्छ । त्यस्तो अभ्यास गरे राजनीतिका नाममा अनेक धन्धा गर्न पर्दैपर्दैन ।’

राजनीतिमा समेत आरक्षण व्यवस्था गरिएको छ । आरक्षण व्यवस्था गरिए पनि महिलाको उपस्थिति सन्तोषजनक छैन । उनले हलेसी–तुवाचुङ नगरपालिकाका महिलालाई राजनीतिक रूपमा सचेत र सक्रिय बनाउने योजनाबद्ध योजना बनाएकी छन् । भन्छिन्, ‘राजनीतिक चेतना नभई चेतनशील बन्न सकिँदैन । राजनीतिक रूपमा सचेत मानिसले जीवनमा लोभलाग्दो प्रगति गर्न सक्छन् ।’ नगरवासी अधिकांश महिलालाई आत्मनिर्भर बनाउँदै उनीहरूको आयआर्जन वृद्धि गराउने उनको भनाइ छ ।

हलेसी–तुवाचुङ नगरपालिका उपप्रमुखको पदभार सम्हालेको तीन वर्ष पूरा भएको छ । पाँचवर्षे कार्यकालमा उनले तपसिलका पाँच काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

१. कृषिप्रणालीमा जोड ।

२. सुशासन ।

३. भ्रष्टाचार न्यूनीकरण ।

४. भौतिक तथा अभौतिक विकासनिर्माण ।

५. गुणस्तरीय शिक्षा ।

प्रतिबद्धताअनुसारका पाँच काम गर्न सके हलेसी–तुवाचुङ नगरपालिकालाई समृद्ध बनाउन सकिन्छ । समृद्ध नगरपालिका बनाउन अन्य थुप्रै शीर्षक छन् ।

काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले हलेसीलाई एसियाकै प्रमुख गन्तव्यस्थल बनाउन सकिने बताएका थिए । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको त्रिधार्मिकस्थल बनाउँदै नमुना पर्यटकीयस्थल बनाउन सके हलेसी–तुवाचुङ नगरपालिकाको मुख्य आयस्रोत हलेसी नै बन्नेछ ।

सरकारीमात्रै होइन, संस्थान तथा प्रतिष्ठानमा जागिर खान तहअनुसारको शैक्षिक योग्यता तोकिएको हुन्छ । कुनै पनि पत्रिकाको सम्पादक बन्न स्नातक तह उत्तीर्ण गरेको हुनैपर्छ । तर, राजनीति गर्न शैक्षिक योग्यता तोकिएको छैन । शैक्षिक योग्यता नतोके पनि हलेसी–तुवाचुङ नगरपालिकाले ‘वेल एजुकेटेड’ उपप्रमुख पाएको छ । अन्तरपार्टी महिला सञ्जाल खोटाङ संस्थापक जिल्ला अध्यक्षको भूमिका निर्वाह गरिसकेकी उपप्रमुख राईले ग्रामीण विकासमा स्नातकोत्तर, शिक्षा संकायमा स्नातक र अहेबको अध्ययन पार लगाएकी छन् । उनी कानुनमा स्नातक अध्ययन गर्दै छिन् ।

संवत् २०६१ मा दिक्तेल बहुमुखी क्याम्पस इकाइ कोषाध्यक्षको जिम्मेवारी सम्हालेकी उनले दिक्तेल बहुमुखी क्याम्पसबाट स्नातक तहको अध्ययन पूरा गरेपछि नेपाल महिला संघ जिल्ला सचिवको भूमिका पाइन् ।

राजनीतिसँगसँगै परियोजनातिर काम थालिन् । ‘परियोजनाको कामले पोलिटिकल करिअरमा प्लस प्वाइन्ट भयो,’ उनको बुझाइ छ, ‘पीआर बन्यो । समस्या पहिचान गर्न सघायो । योजना बनाउन त्यत्तिकै सजिलो भयो ।’

त्यतिबेला च्यास्मिटारमा माध्यमिक तहको पढाइ हुँदैनथ्यो । उनी दुर्छिम माध्यमिक विद्यालय दुर्छिममा आठ कक्षामा भर्ना भइन् । यो ०५३ सालको कुरा हो । त्यसैताका सहोदर दाजु तुलसी राईले उनलाई नेविसंघको सदस्यता दिए । सदस्यता पाएपछि उनी दाजुहरूको पछि लाग्न थालिन् । कामले काम सिकायो ।

एसएलसीपछि अहेब पढ्न ओखलढुंगा पुगिन् । त्यहाँ राजनीति गर्न प्रतिबन्ध थियो । अहेब पढाइ सकेपछि दिक्तेल बहुमुखी क्याम्पस खोटाङमा दस जोड दुईमा भर्ना भइन् । दस जोड दुईको विद्यार्थी हुँदा ०५८ लागिसकेको थियो । त्यहाँ पनि नेविसंघमा रहेर काम गरिन् ।

काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेकी बिमला राईले ०५९ देखि ०६९ सम्म परियोजनामा सक्रियपूर्वक काम गरिन् । परियोजना त्यागेर राजनीतिमा ‘होलटाइमर’ भएको पाँच वर्षमा हलेसी–तुवाचुङ नगरपालिका उपप्रमुखमा निर्वाचित भइन् ।

 

प्रतिक्रिया दिनुहोस्