को थिए चतमे ?


इतिहासकार बाबुराम आचार्यले पृथ्वीनारायण शाहको जीवनी लेख्दा चतमे राय र अटल रायको चर्चा गरेका छन् । यी दुईजनाको नेतृत्वमा माझकिरातका किरात राईहरूले गोरखाली सेनाविरुद्ध लडाइँ गरेका थिए भन्ने कुरा धोकलसिंह बस्न्यातले नारायणहिटी राजदरबारनजिकै रहेको नारायण मन्दिरको पटाङ्गिनीमा राखेको शिलालेखबाट स्पष्ट भएको हो । आखिरीमा को थिए त चतमे राय र अटल राय ?

उनीहरूबारे धेरै खुलस्त हुन सकेको थिएन । तर, भोजपुर दिङ्लामा प्राप्त विक्रम संवत् १८२५ र १८२६ मा अटलजित रायको नामबाट जारी भएको ऐतिहासिक कागजबाट यसबारे धेरै कुरा खुलस्त हुन पुगेको छ । जसबारे मैले कान्तिपुर दैनिकको साप्ताहिक परिशिष्टाङ्क ‘कोसेली’ (२०७६ चैत ८) मा सविस्तार चर्चा गरेको छु । त्यो लेखमा मैले चतमे राय होलैसुङका सन्तान हुन सक्ने सम्भावना जो औंल्याएको छु, यो लेखमा त्यसबारे अलि विस्तारमा छलफल गरेको छु ।

होलैसुङ लगभग ४०० वर्षअघिका हलेसी थुमका स्थानीय राजा थिए भन्ने कुरा अहिले लगभग अकाट्य साबित भइसकेको छ । त्यस्तै उनका दस भाइ सन्तानमध्ये साइँला जितराजा होलैसुङपछि राजा भए । त्यसपछि उनकै छोरानातिहरू हलेसी थुमका शासक भए भन्ने स्थानीय भनाइ छ । र, विक्रम संवत् १८३० मा पृथ्वीनारायण शाहको आक्रमणपछि उनीहरू हलेसी थुमबाट विस्थापित भए या लडाइँमा मारिएका कारण साइँला जितराजाका सन्तानहरू अहिले हलेसी क्षेत्रमा छैनन् भन्ने कुरा पनि खुला सत्य नै हो । पृथ्वीनारायण शाहको आक्रमणपछि विस्थापित भएका होलैसुङका सन्तानहरू अहिले कतिपय खोटाङकै पूर्व–दक्षिण भागमा भोजपुरनिकट क्षेत्रमा फैलिएका छन् भने एकथरी चाहिँ भारतको विहारसम्म पुगेका छन् ।

खम्बुवानबाट विहार पुगेका खम्बूका सन्तानमध्येकै एक विष्णु एस राईले अनुसन्धान गरी प्रकाशन गरेको पुस्तक ‘खम्बुवानबाट हराएका सन्तानहरू’ (विसं २०६७)ले चतमे राय होलैसुङका सन्तान हुन सक्ने सम्भावना देखाएको छ । पुस्तकमा उल्लेख भएअनुसार गुमानसिंह राईले आफ्ना सन्तानहरूलाई सुनाएको कुरा के रहेछ भने पृथ्वीनारायण शाहका सेनाविरुद्ध अन्तिम समयसम्म लड्नुपर्छ भन्ने प्रस्ताव हतुवागढीमा जम्मा भएका खम्बूहरूका बीचमा उनका बाजे अटलजित रायले गरेका थिए । दापबाट खुकुरी निकालेर यो प्रस्तावको समर्थन सबैभन्दा पहिला हलेसीका चतमे चाम्लिङले गरेका थिए । अब प्रश्न उठ्छ कि हलेसीको हुनासाथ कसरी चतमे चाम्लिङ होलैसुङको सन्तान हुन सक्छ ? यसका चारवटा आधार छन् :

एक, स्थानीय पुर्खा जितराज राईका अनुसार होलैसुङले ‘स्यान मोहर’ (सेन राजाको लालमोहर) लिएर हलेसी थुममा शासन गरेका थिए । अर्थात् हलेसी थुम त्यसबखत चौदण्डीगढी राज्यअन्तर्गत पथ्र्याे । सेन राजाहरू उदयपुर जिल्लाको उत्तर पहाडतर्फ रहेको चौदण्डीडाँडामा रहेको गढीमा बसेर शासन गर्थे भने माझकिरात क्षेत्रमा शासन–प्रशासन सञ्चालनका लागि किरात राईहरूलाई नै दिवान र चौतरिया नियुक्त गरेका हुन्थे ।

त्यस्तै चौतरिया थिए चतमे राय । चतमे रायले अहिलेको खोटाङ जिल्लाको शासन–प्रशासन हेर्थे भने अटल रायले अहिलेको भोजपुर जिल्लाको शासन–प्रशासन हेर्थे । अहिलेसम्म थाहा भएअनुसार पृथ्वीनारायण शाहका गोरखाली सेनाले हलेसी थुममा आक्रमण गरेर विजय नगरेसम्म होलैसुङ र उनका सन्तानहरूले शासन गरेका थिए ।

दुई, दिवान र चौतरियाजस्तो त्यति महत्वपूर्ण पद राजकीय पहुँच र क्षमता नभएको व्यक्तिलाई दिने कुरा हुँदैन । हलेसी थुमका शासक खलक भएका कारण त्यो जिम्मेवारी निश्चय नै होलैसुङका सन्तानले पाउने सम्भावना सबैभन्दा बढी छ ।

तीन, हलेसीवरिपरिका क्षेत्रका पुराना बासिन्दाका रूपमा रहेका खम्बू राईहरूमध्ये चाम्लिङ, तिलुङ र वाम्बुले हुन् । त्यसो हुँदाखेरि तिलुङ या वाम्बुले पनि हुन सक्थ्यो नि चतमे राय ! तर, अटल रायका नातिले स्पष्ट शब्दमा भनिगएका छन् कि चतमे चाम्लिङ हुन् ।

चार, होलैसुङका सन्तानमध्ये शासन–प्रशासन सञ्चालन गर्ने खलकचाहिँ अहिले हलेसी क्षेत्रमा पाइँदैन । सबैभन्दा प्रवल सम्भावना के छ भने पृथ्वीनारायण शाहको आक्रमणका बखत जो राजखलक थिए, उनै पाछाका थिए चतमे राय । त्यही भएका कारण चतमे रायका शाखासन्तान हलेसी क्षेत्रमा नभेटाइएको हो । सम्भवतः विहारमा त्यो खलक हुन सक्छ । यो थप खोजीको विषय हो । हामी होलैसुङका शाखासन्तानहरूले दस पाछाको जो साझा वंशावली तयार गरिरहेका छौं, यसक्रममा यो रहस्य पनि अझ तथ्यसहित खुल्ने आशा गरौं ।

(सितिमी मासिक, चैत २०७६ बाट)

 

प्रतिक्रिया दिनुहोस्