७७ वर्षअघि ५ रुपैयाँमा बनेको घर



हिजोआज पाँच रुपैयाँमा कालो चिया (ब्ल्याक टी) सम्म आउँदैन । तर, आजभन्दा ७५ वर्षअघि त्यही ५ रुपैयाँमा (हेर्नुहोस् तस्बिरको) घर बन्थ्यो । सुन्दा अचम्म लाग्छ । तर, यो सत्य हो । संवत् २००० सालमा बनेको तस्बिरको घर ५ रुपैयाँमा बनेको घरभेटी जयबहादुर राईले बताए ।

खोटाङको साबिक दुर्छिम गाउँ विकास समिति वडा नम्बर १ साल्तेम्मामा रहेको यो घर २००० पुसमा थालेर फागुनमा सकिएको घरभेटी राईले सुनाए । यो घर बनाउन डकर्मी धनजित राई एक्लैलाई ९० दिन लागेको थियो । दुर्छिम–३ रङ्काडोनिवासी स्वर्गीय धनजित राईले डकर्मीको पारिश्रमिक कति लिए, त्यो भने घरभेटी जयबहादुर राईलाई पनि थाहा छैन । उनले आमालाई सोध्दा पनि सोधेनन् । घरभेटी राईले भने, ‘यो घर उठाउँदा आवश्यक सबै सागम्रीसहित ५ रुपैयाँ लागेको आमा जसमाया राईले मलाई बारम्बार सुनाउनुहुन्थ्यो । यो घर बनेको आठ वर्षपछि म जन्मेको हुँ ।’

आजभन्दा ७३ वर्षअघिको ५ रुपैयाँ भनेको अहिलेको ५० हजार रुपैयाँ सोसरह हो । साल्तेम्माका पुरानामध्ये यो घर पनि एक हो । स्वर्गीय अजितमान राईले बनाएको यो घरमा फरिन, सल्ला र गोब्रेसल्लाको काठपात प्रयोग गरिएको छ । फरिनलाई सखुवाजस्तै बलियो काठ मानिन्छ । घरमा प्रयोग भएका काठपात अहिले पनि जस्ताको तस्तै छ । धमिराले समेत खाएको छैन ।

त्यतिबेला आरा लगाउने चलन थिएन । घरमा प्रयोग गरिएका काठपात बन्चरोले ताछिएको मात्रै छ । घर बनाउँदा आमाले सुनाएको कथा–व्यथा घरभेटी जयबहादुर राईले सम्झे, ‘आपा अजितमानले एकपटकमा दुईटा थाम बोकेर ल्याउनुभएको थियो रे । दुई थाम एकैपटकमा दुईटा बोक्नु भनेको चानचुने कुरा होइन । त्यो पनि फरिनको । फरिनको थाम दुर्छिम–४ वाखिलाबाट ल्याइएको थियो ।’

घरको झ्याल, ढोका र तला छाप्दा प्रयोग गरिएका काठ भने गोब्रसल्ला र सल्लाको रहेको छ । गोब्रेसल्ला र सल्ला चन्डीडाँडाको हो । त्यतिबेला चन्डीडाँडामा गोब्रेसल्लाको घनाजंगल थियो ।

यो घरले अजितमान राईसहित चार पुस्ताको इतिहास बनाएको छ । यही घरमा जन्मेका अजितमानका छोरा, नाति र पनाति अहिले हङकङदेखि साउदी अरब, कतार, दुबई र मलेसियासम्म पुगेका छन् । यो घर भत्काएर यही घडेरीमा आधुनिक घर बनाउन सकिन्छ । तर, ‘ओल्ड इज गोल्ड’ भनेझैँ पुर्खाको नासोलाई बचाइराख्नुपर्छ भन्ने मान्यता राखिएकाले यो घर दिनदिनै इतिहास बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्