कस्ता मास्क कसरी लगाउने ?



‘कार्टुनलगायतका रमाइलो लाग्ने चित्र मास्कमा राख्दा बालबालिकाले मास्क लगाउन त्यो मन पराउँछन्,’ जनस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र पाण्डेले भने, ‘किशोरकिशोरीका लागि फेन्सीखालको छुट्टै डिजाइनको मास्क रुचिकर हुन सक्छ ।’

विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड–१९ संक्रमण नियन्त्रणका लागि मास्क प्रयोग बढाउन व्यक्तिको उमेर, पेसा र रुचिअनुसारको मास्क उत्पादनले सहयोग गर्ने डा. पाण्डेले बताए । खेलप्रेमीका लागि खेलाडीको फोटो भएको त अरूका लागि सगरमाथा वा नेपालका सम्पदाको फोटो राखेको मास्क हुँदा उनीहरू खुसी हुनेछन् । ज्येष्ठ नागरिकलाई भगवान्को फोटो हुँदा रुचिकर हुन सक्ने उनको तर्क छ ।

सर्जिकल मास्क

जनस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार सबैलाई रुचिअनुसार मास्क बजारमा उपलब्ध हुँदा यसको प्रयोग बढ्छ । कोभिड–१९ संक्रमण देशभरि बढिरहँदा मास्क प्रयोगलाई संक्रमण रोक्ने सबैभन्दा बलियो अस्त्रका रूपमा हेरिएको छ । बजारमा अहिले पनि सबै उमेरका लागि फरक आकारका मास्क नभएको उनको भनाइ छ । जुत्ता, कपडाजस्तै यो पनि फरक–फरक आकार र किसिमका हुनुपर्छ । उनले भने, ‘युवामा नै अलि दुब्लो मान्छेलाई समेत मिल्नेखालको मास्क पाइँदैन ।’

एन ९५ वा के ९५, सर्जिकल र कपडाको मास्क गरी अहिले बजारमा तीन किसिमका मास्क पाइन्छ । तीमध्ये एन ९५ माक्स भल्भ भएको र नभएको पनि बजारमा उपलब्ध हुने गरेको छ । सर्जिकल मास्कभन्दा कपडाको बढी प्रभावकारी हुन्छ । एन ९५ वा के ९५ अस्पतालका लागि डिजाइन गरिएको मास्क हो ।

एन नाइन्टी फाइभ मास्क

अरू मास्कको तुलनामा महँगो पर्ने भएकाले आमनागरिकले एन ९५ लगाउन जरुरी नभएको डा. पाण्डेको भनाइ छ । यो धोएपछि कसिलो नहुने भएकाले धेरै धुन मिल्दैन । त्यस्तै, भल्भ भएको मास्क सास फेर्न र कुरा गर्न सजिलो भए पनि संक्रमितले यो लगाउँदा अरूलाई सर्न सक्ने सम्भावना छ । उनले भने, ‘यस्तो मास्क प्रयोग आमनागरिकले नगरेकै राम्रो हो ।’

कोभिड–१९ संक्रमण भित्रिएसँगै विश्वमै मास्क प्रयोग बढिरहेको देखिन्छ । सुरुमा विश्व स्वास्थ्य संगठनले स्वस्थ व्यक्तिले लगाउनुपर्दैन र मास्क लगाउने भनेको संक्रमितले हो भन्ने धारणा बनाएको थियो । कोरोना भाइरसको आकार सानो भएकाले प्वालबाट छिर्छ भन्ने धेरैको बुझाइ थियो । बिस्तारै, एक व्यक्तिबाट अर्काे व्यक्तिमा भाइरसमात्रै जाँदैन बोल्दा, खोक्दा वा हाछ्युँ गर्दा त्यो कणसँगै जान्छ भन्ने अध्ययनले देखायो । त्यो कण आँखाले नदेखे पनि ठूलो आकारको हुन्छ । त्यो मास्कबाट छिर्दैन । त्यसले संक्रमित भए वा नभए पनि मास्क लगाउनुपर्छ भन्ने धारणा आएको पाइन्छ ।

तीन किसिमका मास्कसँगै बजारमा रुमाल वा पछ्यौरा, सल, गलबन्दी प्रयोग पनि बढिरहेको देखिन्छ । पछिल्लो अनुसन्धानले एक, दुई, पचास, सय भाइरस प्रवेश गर्दैमा संक्रमण हुँदैन र संक्रमण हुन एकदेखि तीन हजार भाइरस आवश्यक पर्छ भन्ने देखाएको छ । त्यसैले पनि मास्क वा अरू कपडा प्रयोग गरी नाक, मुख छोप्दा भाइरसको ‘लोड’ कम हुने डा. पाण्डेको धारणा छ ।

आमनागरिकले दैनिक घरबाहिर निस्कँदा कपडाकै मास्क प्रयोग गर्न सक्ने उनको सुझाव छ । कटन वा मलमल कपडाको दुई/तीन पत्र बनाएर सिलाएको मास्कले संक्रमणबाट बच्न सघाउँछ । कतिपयले एकभन्दा बढी मास्क लगाएको पाइन्छ । सुरक्षाका हिसाबले एक तहको मास्क एकभन्दा बढी लगाउनु राम्रो भए पनि यसबाट सास फेर्न गाह्रो हुन्छ । बजारमा पाइने धेरै मास्कमा नाकको माथिल्लो भागमा च्यापेको पाइँदैन । ती मास्कमा आफैंले पनि च्याप्ने कुरा हाल्न सकिने उनको धारणा छ । उनले भने, ‘नाकमाथि च्यापेर गालाबाट हावा पस्न रोक्न सकिन्छ ।’

फेस मास्क

चिकित्सकले लामो समयसम्म लगाउनुपर्ने हुँदा दैनिक परिवर्तन गरिराखे पनि आमनागरिकले एन ९५ वा के ९५ मास्क केही दिनसम्म प्रयोग गर्न सक्छन् । यो मास्क वा कपडाको मास्क घरबाहिरबाट आएपछि घाममा सुकाउने र भोलिपल्ट लगाउनेगरी प्रयोग गर्न सकिन्छ । सर्जिकल मास्क धोएर प्रयोग गर्न मिल्दैन भने अरू घाम वा हावामा झुन्ड्याएर तीन/चार दिन प्रयोग गर्न सकिन्छ । मास्क धुँदा पनि सफा पानीमा भिजाएर हल्का मालिस गरेजसरी सफा गर्ने उनको सुझाव छ । उनले भने, ‘मास्कलाई पानीमा चोपलेर झिक्ने गर्दा त्यसबाट रेशा निस्कँदैन ।’

कस्तो मास्क लगाउने भन्नेसँगै कसरी मास्क लगाउने भन्ने कुराले पनि संक्रमण रोक्न सकिन्छ । मास्क लगाउँदा कसिलो हुनुपर्छ र हावा छिर्ने हुनुहुँदैन । पातलो मान्छे वा अनुहार सानो अनुहार लगाउँदा आँखामुनिको भागबाट हावा छिर्ने सम्भावना हुने भएकाले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

कोभिड–१९ रोकथामका लागि मास्क प्रयोगले सहयोग पुग्ने विभिन्न देशको प्रयोगको दरले देखिएको छ । चीन, जापान, कोरिया, कम्बोडिया, भुटान, सिंगापुरलगायतका ९० प्रतिशत बढीले मास्क प्रयोग गर्ने देशमा कोभिड चाँडो नियन्त्रणमा आएको पाइएको छ । यी देशका नागरिकमा पहिलेदेखि नै विभिन्न भाइरसबाट बच्न मास्क लगाउने बानी थियो । अमेरिका, संयुक्त अधिराज्य र युरोपका देशहरूमा धेरैले मास्क लगाउनु सजाय ठान्छन् । अध्ययनहरूले संक्रमण उच्च गतिमा फैलिरहँदा पनि यहाँका २५ प्रतिशतभन्दा कमले मास्क लगाएको पाइएको थियो । यिनै देशहरूमा पनि मास्क प्रयोग भएका राज्यमा संक्रमण चाँडो नियन्त्रणमा आएको पाइएको डा. पाण्डेले जानकारी दिए ।

मास्क प्रयोग, साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने बानी बसाल्न सरकारले पनि नागरिकलाई अनुरोध गर्दै आएको छ । यीमध्ये पनि मास्क प्रयोग नै सबैभन्दा प्रभावकारी रहेको अध्ययनले देखाएको छ । उनले भने, ‘समूहमा बस्दा पनि सबैले मास्क लगाउँदा संक्रमणको जोखिम दुईतिहाइ घट्छ ।’

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि मास्क प्रयोग बढाउनैपर्छ । सरकारले कडा नियम बनाएर मास्क प्रयोग बढाउन सक्ने डा. पाण्डेको तर्क छ । अहिले प्रशासनले मास्क प्रयोग नगर्ने व्यक्तिलाई एक सय जरिवाना गर्दै आएकामा यसलाई बढाउनुपर्ने उनको सुझाव छ । मास्क नलगाएकालाई कुनै पनि सेवा नदिइने नीति अवलम्बन गर्न खाँचो छ । उनले भने, ‘बस चढ्न, कार्यालय प्रवेश, होटल प्रवेश, पसलेले सामान नदिनेगरी नियम बनाउनुपर्छ ।’

मास्कको सही प्रयोग पनि यसको नियन्त्रणका लागि महत्वपूर्ण मानिन्छ । अचेल धेरैले अरूसँग कुराकानी गर्दा चिउँडोमा मास्क लगाएको देखिन्छ । सबैभन्दा बढी संक्रमण नाकबाट फैलने हुँदा जुनसुकै समयमा नाक राम्ररी छोपिनेखालको हुनुपर्छ । नाक छोपेपछि मुख पनि छोपिन्छ । उनले भने, ‘चिउँडो वा घाँटीमा मास्क राख्दा पछि नाकमा मास्क लगाउँदा संक्रमण सर्न सक्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी अझै पनि कतिपयले मास्क प्रयोगका विषयमा सचेत नभएको बताए । कतिपयले भने जानकारी भए पनि हेलचेक्र्याइँ गरेको उनको भनाइ छ । घरबाहिर निस्कनुपर्दा अनिवार्य रूपमा नाक र मुख ढाकिनेगरी मास्क लगाउनुपर्नै उनको सुझाव छ । उनले थपे, ‘मबाहेक अरू सबै संक्रमित हो भन्ने सोचेर दूरी राख्ने र मास्क प्रयोग गर्नुपर्छ ।’

मास्क कहाँ लगाउने ?

सामान्य रूपमा, मास्क प्रयोग घरभित्र आफ्नो परिवार बस्दा लगाउनुपर्दैन । घरभित्र पनि जोखिम वर्ग ज्येष्ठ नागरिक वा दीर्घरोगी भएमा भने मास्क लगाउने र दूरी कायम गर्दा राम्रो हुने डा. पाण्डेको सुझाव छ । कतिपय व्यक्तिमा संक्रमण चिन्ताले घरभित्र वा बाहिर एक्लै हुँदा पनि मास्क प्रयोग गरेको पाइन्छ । मान्छेबाटै संक्रमण सर्ने बढी सम्भावना भएकाले घरबाहिर पनि मान्छे नभएका ठाउँमा मास्क लगाउनु अनिवार्य हुँदैन । उनले भने, ‘बाहिर निस्कँदा पनि मास्क बोकेर हिँडुनुपर्छ । कोही आएको देख्नासाथ लगाउनुपर्छ ।’

देशभरमा कोरोना संक्रमण बढिरहे पनि धेरैमा अहिले पनि यो त मेरो आफन्त वा सहकर्मी हो, यसबाट कसरी सर्ला भन्ने रूपमा लिएको पाइन्छ । बाटो वा कार्यालयमा मास्क लगाउनुपर्छ । आफन्त, सहकर्मी जोकोही भए पनि संक्रमित हुन सक्छ भन्ने सोच्नुपर्ने उनको बुझाइ छ ।

मास्क प्रयोगका अरू पनि छन् फाइदा

कोभिड–१९ विश्वव्यापी भएसँगै प्रयोग बढेको मास्कको अरू फाइदा पनि छ । यसको प्रयोगले धूलो, धूवाँ, प्रदूषणबाट बचाउँछ । हावामा भएका अरू ब्याक्टेरिया भाइरस र धेरै रोगबाट बचाउन सघाउँछ । मास्क प्रयोगले क्षयरोग, फ्लु, रुघाखोकी, स्वाइनफ्लु, बर्डफ्लुबाट बचाउँछ । हात नियमित धुँदा यो वर्ष वर्षामा देखिने गरेको टाइफाइड, झाडाबान्ता, हैजा फैलिएको छैन ।

तर, यसका फाइदा धेरै भए पनि मास्क लामो समय लगाउँदा श्वासप्रश्वासमा केही बाधा भने पुग्ने देखिएको छ । हामीले सास फेर्दा अक्सिजन लिएर कार्बनडाइअक्साइड फाल्ने सजिलो प्रक्रियामा केही बाधा पुर्याउँछ । कतिपय देशमा मास्क फ्री समय वा मास्क फ्री जोन राखिएको हुन्छ । हामीले पनि कार्यालय एक्लै हुँदा वा छतमा जाँदा मास्क खोलेर बस्न सकिन्छ । एक्लै हुँदा मास्क नलगाएकै राम्रो हो ।

 

प्रतिक्रिया दिनुहोस्