‘ब्लडप्रेसर’ नाप्ने ‘स्मार्ट कट्टु’



हिजोआज ४० काटेका सहरिया मानिसलाई उच्च रक्तचाप, मधुमेह तथा अन्य रोगले समात्नु सामान्य भइसकेको छ । उल्लिखित रोगबारे समयमै सही ज्ञान प्राप्त गरी निरन्तर निगरानी गरिराख्न क्लिनिक तथा अस्पताल धाइरहनुपर्ने भएकाले धेरैलाई झन्झटमात्रै होइन दिक्कलाग्दो बनाएको छ ।

उच्च रक्तचापपीडितले मदिरा खान हुँदैन भने दौडनु पनि भएन । चिन्ता लिनु भनेको उच्च रक्तचाप बढाउनु हो । सर्वप्रथम रक्तचाप कतिले बढ्यो भनेर यथार्थ ज्ञान हुनुपर्छ । यसका लागि रक्तचाप नाप्ने उपकरण चाहिन्छ । क्लिनिक नजिकै छ भने त समय–समयमा जँचाउन सकिन्छ । घरमै उपकरण भए झन् राम्रो । छैन भने भएन त समस्या ।

तर, चिन्ता नगर्नुस् हिजोआज आफैंले रक्तचाप नाप्न सक्ने उपकरणसमेत आविष्कार भएको छ । अमेरिकी वैज्ञानिकले केही समयअघि लुगा लगाएको भरमा रक्तचाप उपकरणमा निरन्तर रेकर्ड हुने सूक्ष्म उपकरण आविष्कार गरेका छन् । त्यतिमात्र होइन, त्यो उपकरणले मुटुको चालसमेत निरन्तर सूचना दिइरहन्छ । त्यसले शरीरका अन्य महत्वपूर्ण सूचना सम्प्रेषण गर्छ । त्यो हो– इलेक्ट्रोनिक बायोसेन्सर स्मार्ट कट्टु । मानिसको छालामा छोएको भरमा रक्तचाप र मुटुको चालजस्ता महत्वपूर्ण सूचना संकलन गर्ने क्षमतासहितको सूक्ष्म बायोसेन्सर जडान गरिएको हुन्छ । यो कट्टु लगाउनेले शरीरभित्रका महत्वपूर्ण सूचना सम्बन्धित व्यक्तिले थाहा पाउँछ । जोकोही बिरामी भएर हल न चलका भए पनि समस्या हुँदैन । उसले लगाएको इलेक्ट्रोनिक बायोसेन्सर ‘स्मार्ट कट्टु’ ले निरन्तर चिकित्सकको आधा काम गर्छ । अनि भएन त चमत्कार ?

यो प्रविधि अमेरिकाको क्यालिफोर्नियामा रहेको सान्डियागो विश्वविद्यालय नानो इन्जिनियरिङका प्रोफेसर जोसेफ वाङले नेतृत्व गरेको वैज्ञानिक टोलीले आविष्कार गरेको हो । इलेक्ट्रोनिक बायोसेन्सर ‘स्मार्ट कट्टु’ निर्माण सामान्य तरिकाले गरिन्छ । जसरी अन्य लुगामा बुट्टा छाप्दा ‘स्क्रिन प्रिन्ट’ गरिन्छ, त्यसैगरी यसमा पनि परम्परागत ‘स्क्रिन प्रिन्ट’ विधि प्रयोग गरिन्छ । तर, यसमा ‘स्क्रिन प्रिन्ट’ गर्दा प्रयोग गरिने मसी कार्बन इलेक्ट्रोड (विद्युत् सुचालक, जसबाट विद्युत् प्रवाह हुन्छ) समाविष्ट हुन्छन् । ती कार्बन इलेक्ट्रोडले मानिसको छालासँगको सम्पर्कमा शरीरभित्र हुने महत्वपूर्ण शारीरिक प्रक्रियाको ताजा सूचना सम्बन्धित उपकरणमा प्रसारित गर्छ । तर, सूचना अलिखित हुन्छन् । बायोसेन्सर ‘स्मार्ट कट्टु’ मा तार जडान गरिएको हुँदैन । हेर्दा कट्टु असाधारण देखिन्छ । त्यसमा जडित बायोसेन्सर कार्बन इलेक्ट्रोडले तारविना काम गर्छ । त्यसैले कट्टु लगाउन कठिन नहुने सम्बन्धित वैज्ञानिकको भनाइ छ ।

वैज्ञानिकहरूले बायोसेन्सर ‘स्मार्ट कट्टु’ अमेरिकी सेनाका लागि आविष्कार गरेका हुन् । तसर्थ, यो कट्टु लगाउने पहिलो मौका उनीहरूले पाएका हुन् । रोयटर टेलिभिजनसँग कुरा गर्दै प्रोफेसर वाङले भने, ‘यो विशेष परियोजनाअन्तर्गत युद्धमैदानमा शल्यक्रियाका बेला घाइते जवानको निगरानी गर्न बनाइएको हो । यसको उद्देश्य मैदानमै सजिलैसँग जडान गर्न सकिने सेन्सर विकास गर्न तथा चोटको प्रकार थाहा पाउनु रहेको छ ।’

घाउ पत्ता लगाउने बायोसेन्सरले दुखाइबाट छुट्कारा दिनुका साथै उपचारनिम्ति औषधि दिन निर्देशित गर्छ । यसले दिने सूचनाका आधारमा चोटको प्रकृति थाहा पाई औषधि सिफारिस गर्न चिकित्सकलाई सजिलो हुन्छ । वाङका अनुसार, कपडामा जडित बायोसेन्सरले एथलेट खेलाडीलाई पनि मूल्यवान् सूचना उपलब्ध गराउन सक्छ । त्यसबाट खेलाडीको रगतमा रहेको अल्कोहल मात्रा पनि सजिलै पत्ता लगाउन सकिन्छ । आशा गरौं, अनौठो तर सजिलै रोग पत्ता लगाउने ‘स्मार्ट कट्टु’ निकट भविष्यमा हामी सबैका लागि उपलब्ध होस् ।

प्रतिक्रिया दिनुहोस्