साँस्कृतिक अतिक्रमण जहिल्यै राजनीतिक



फक्ताङलुङ हिमाललाई लिम्बू जातिले ‘फक्ताङ’ अर्थात् काँधदेखि माथिको मानवआकृतिमा देखे र फक्ताङलुङ नामकरण गरे । विक्रम संवत् १८३१ वरपर लिम्बुवान गोरखा राज्यमा सहराज्यको हैसियतमा समाहित भएपछि लिम्बुवानका पहाडी भू–भागमा लिम्बुइतर खस आर्य मुख्य रूपमा तथा सहायक रूपमा मगर, गुरुङ, तामाङ, राई, दलित समुदायको विभिन्न रूपमा प्रवेश भयो । याक्खा, लेप्चा, लिम्बू, अथप्रे, लोहोरुङ, याम्फू, मेवाहाङ समुदाय एेतिहासिक रूपमा पल्लो किरात लिम्बुवानका आदिवासी हुन् ।

यहाँका आदिवासीले यहाँको प्रकृतिलाई लामो समयदेखि झेलेको, चर्चेको, देखेको, पुर्खाहरूले एक पुस्ता अर्को पुस्ता सुनाएको, मुन्धुम, लोककथा, श्रुतिपरम्परा आधारमा पहिचान दिए । त्यहीअनुसार विश्वास पद्धतिहरू निर्माण भयो । उनीहरूको सृष्टि उत्पत्ति, सभ्यता निर्माण तथा ज्ञान आविष्कार परम्पराको द्योतक यहीका डाँडाकाँडा, नदीनाला, खोलाखहरे, हिउँदबर्खा भनौं पर्यावरण हुन् ।

जब गैरआदिवासी मुख्यतया खस आर्यको प्रवेश भयो, तब तिनले चुट्कीको भरमा बेद, पुरान, उपनिषद्का आधारमा यहाँका ठाउँ, खोलानाला, पहाड, हिमाललाई आफ्नो नाम दिए । फक्ताङलुङलाई कुम्भकर्ण भनिदिए । सेन्छेनलुङलाई कञ्चनजङ्घा भनिदिए ।

मुक्कुम्लुङलाई पाथिभरामात्र बनाएनन्, ‘सानो पाथिभरा’, ‘ठूलो पाथिभरा’ भनेर आफ्नो हाइरार्कियल संस्कृतिलाई जताततै प्रत्यारोपण गरे ।

जब कि लिम्बुवानका आदिवासीले हजारौँ वर्षसम्मको उठबसले यहाँको प्रकृतिलाई चिनेका थिए, यहाँको खोलाको पानीको स्वाद थाहा पाएका थिए । आवश्यकताका आधारमा फूललाई नाम दिएका थिए । सम्बन्धहरू यसरी प्राकृतिक सिद्धान्तका आधारमा निर्धारण भएको थियो ।

तर, जब गोरखा राज्यको प्रवेश भयो, असिल हिन्दुस्थान बनाउने अभियानमा यहाँ साँस्कृतिक, राजनीतिक, धार्मिकलगायत आठतर्फी आक्रमणलाई तीव्र पारियो ।

हुँदाहुँदा अहिले गौतम बुद्ध लुम्बिनीमा जन्मेको कुरालाई अन्तर्राष्ट्रिय जगत्मा स्थापित गर्नुको साटो राम जन्मेको अयोध्या माडीमा पर्छ भन्दै अर्को हिन्दुवादी अतिक्रमण सुरु भएको छ । जब मुलुक सङ्घीयतामा गयो, सबै स्थानीय तह, वडावडासम्म हिन्दु मन्दिर र मूर्ति बनाउने काम भित्रभित्रै राज्यतहबाट अभियान चलाइएको छ ।

कथित समृद्धि र सुखी नेपालीको राष्ट्रिय खोल ओढेर भित्रभित्र खेलिने यो अर्कै चलखेलले नेपालका आदिवासी जनजातिको रैथाने संस्कृति समूल रूपमा भ्रष्ट र नष्ट हुने निश्चित छ । अघिल्लो जनगणनामा ८० प्रतिशत हिन्दुधर्मी देखाउनु त्यसको दुई/चार वर्षमा भएको निर्वाचनमा वामपन्थी भनाउँदो गठबन्धनले दुईतिहाइ सिटहरू जित्नु कति अन्तरविरोधी, कति हास्यास्पद छ ।

साँस्कृतिक अतिक्रमण जहिल्यै राजनीतिक हुन्छ । अब साँस्कृतिक पुनर्जागरणको जगमा मार्क्सवादको सही प्रयोग गर्दै धार्मिक दबादबाबाट समाजलाई मुक्त गरेरमात्र माटोसुहाउँदो समाजवादको निधोमा पुग्न सकिन्छ । लिम्बुवानको कुरो यहाँ उदाहरणका रूपमा प्रस्तुत गरिएको हो ।

खसानमा, थरुहटमा या अरू कुनै पनि क्लस्टरमा कुरा मिल्दाजुल्दा नै छन् ।

प्रतिक्रिया दिनुहोस्