‘महिलाले त लेख्न पाए पो, लेख्यो भने चरित्रमाथि आक्रमण भइहाल्छ’



हामीलाई दुई चिर्कटो दिइएको छ । एउटाले बत्ती बल्छ र अर्कोले भर्याङ र ढोका खोल्न सकिन्छ । बत्ती बल्ने चिर्कटो घुसारेर ४ः४५ मा उठें । नेपाली समयअनुसार २ः३० मात्रै भएको थियो । झ्यालबाट बाहिरतिर चिहाएर हेरें, सुनसान लाग्यो । यद्यपि, हामी आवास क्षेत्रभन्दा बाहिर शैक्षिक क्षेत्रमा छौं । काग काँ–काँ गरिरहेको सुनिन्थ्यो । अरू कुनै चराचुरुंगी देखिन्नन् । कुनै पक्षीको आवाज सुनिन्न । दैनिक सफाइका लागि सामान भए पनि दारी काट्ने सामान थिएन । काट्ने, घोच्ने, आगो बल्ने, पोल्ने वस्तु हातेझोलामा बोक्न नपाइने रहेछ । ती वस्तु ठूलो झोलामा पठाउनुपथ्र्यो । त्यसको ज्ञान नहुँदा नेपालकै हवाई अड्डामा जफत गरिएको हुनाले अभाव भएको छ ।

चिनियाँ समाज व्यवस्थापनका विषयमा मनमा तर्कना उठिरहेका थिए । समाजवादी मुलुक भनिएको चीनमा निजी सम्पत्ति राख्ने अधिकार छ । जसरी कमाउन र थुपार्न पाइन्छ, त्यसैगरी कमाउन नसक्ने भोकै बस्न, माग्न बाध्य छन् । जग्गाको स्वामित्व सरकारमा हुन्छ र व्यक्तिले भाडामा लिएर व्यवसाय वा बास प्रबन्ध गर्नुपर्छ । भवन ७५ वर्षपछि सरकारको स्वामित्वमा फर्कन्छन् । जसरी नेपालमा ३० वर्षपछि जलविद्युत् आयोजना सम्पूर्ण रूपमा सरकारी स्वामित्वमा परिवर्तित भएझैं हुन्छ । शिक्षामा सम्पूर्ण लगानी, नियन्त्रण र स्वामित्व राज्यको छ । चीनको साक्षरता दर निकै माथि छ । सन् २००२ मा नै ९०.८ प्रतिशत साक्षरता दर पुगेको चीन निरक्षरता उन्मूलनको निकट पुगेको छ । चीनको उच्चशिक्षामा कडाइ गरिन्छ । त्यसो गर्दा पनि पश्चिमी देशले चीनबाट उच्चशिक्षा हासिल गरेको जनशक्तिलाई हेयको दृष्टिले हेर्छन् । त्यो दक्षताको प्रश्न नभएर राजनीतिक दाउपेच होला । चीनमा विदेशी विद्यार्थी ओइरन थाले भने आर्थिक र राजनीतिक दृष्टिले नोक्सानी हुने कुरा उनीहरूले बुझेका होलान् । तर, त्यसप्रकारको अर्थराजनीति कमजोर बन्दै गएको छ । चीनमा सहरीकरण तीव्र छ । रोजगारी समस्या छ र महँगा सहरमा आमाबाबुसहित बस्न पनि युवालाई सजिलो छैन । गाउँमा रोजगार छैन । जसका कारण बुढ्यौली जीवन कष्टकर बन्दै गएको छ । त्यसका लागि सरकारले एकातिर लगानी अर्कोतिर जनचेतना अभियान नै चलाएको छ ।

आज पनि बिहानको खाजापछि गोष्ठीको सुरु भयो । साथीहरूले चिनियाँ साथीलाई बुद्धका मूर्ति उपहार दिए । मैले फिनिक्स, वाङ र अरू केहीलाई चिनारी चिर्कटो र नेपाली पत्रिका दिएँ । त्यसपछि हामी बिहानको खाना खान गयौं । नास्ताको समयमा चन्द्रकिशोर र मबीच तराई क्षेत्र, राष्ट्रियता र लेखन विषयमा छलफल भए । ‘म त मधेस र पहाड मिल्नुपर्छ भन्ने मानिस,’ उनले भनेका थिए । सीके राउतको राष्ट्रघाती पुस्तकप्रति उनको असहमति भएको सहजै बुझ्न सकिन्थ्यो । ‘इतिहास विजेता या विद्रोही शक्तिले वर्तमानमा उभिएर आफ्नो स्वार्थअनुसार अतीतको व्याख्या गर्ने विषय हो,’ उनले भनेका थिए । मेरो नयाँ कृति ‘राष्ट्रियता र राप्ती दून’ का विषयमा पनि कुराकानी भयो । तर, यसबेला मसँग केहीप्रति मात्र साथमा थियो । सञ्चार केन्द्रित अध्ययन भ्रमण भएका कारण बहस ती विषयमै केन्द्रित रहे ।

खाना खाएर चिनियाँ राष्ट्रिय रेडियो अध्ययन गर्न गयौं । अकल्पनीय भव्यता थियो । विचार आदान–प्रदान भयो । उपहार लिने–दिने गरियो । पुरुषभन्दा महिला कर्मचारी धेरै देखिन्थ्यो । महिलाको पहिलो जिज्ञासा महिला सहभागिता कति छ ? भन्ने नै हुन्थ्यो । साथी चन्दरवाले हँस्यौलोपारामा भन्दै थिए, ‘हामीले मधेसी सहभागिता कति छ भन्ने कुरा आएन त ।’ त्यसपछि अर्को गोष्ठीका लागि फक्र्याैं । बाटोमा धूवाँ, धूलो, फोहोर कतै थिएन । दिल्ली, काठमाडौंजस्तै भद्रगोल र फोहोर छ । सफा स्थानको पनि हृदयचाहिँ झन् धेरै फोहोरी लाग्छ । अध्यक्ष माओको रातो बेइजिङ बाहिर जस्तै हृदय पनि सफा रहिरहोस् भन्ने कामना गरें ।

अनिल शर्मा विरही

२०४५ सालमा पहिलोपटक टेक्दाको काठमाडौं सम्झिएँ । उसबेला काठमाडौं आजजस्तो फोहोर र उकुसमुकुस थिएन । सामाखुसी टोलमा धानको फाँट थियो । हिउँदमा तुसारोले सेताम्मे हुन्थ्यो । जताततै हरियाली । बेइजिङभन्दा काठमाडौं धेरै अर्थमा सुन्दर सहर हो । तर, काठमाडौंलाई हामीले कुरुप बनायौं । साथीहरू भन्दै थिए, ‘यिनीहरूले पश्चिमबाट सिकेर पश्चिमलाई नै जितिसके । नेपाली पश्चिम गएर उतै गुँड सार्न थाले । बेरोजगारी, निराशा, अपमान, लघुताभास, अव्यवस्था, सामाजिक असुरक्षा, चिडचिडाहटले द्वन्द्व र अस्थिरताबाहेक अरू केपो दिन सक्छ र । हाम्रो भावीपुस्ताले कहिलेसम्म जीवन बर्बाद गर्नुपर्ने हो भन्ने सोचेर नरमाइलो लाग्यो । चिनियाँ क्रान्ति अघि चीन पनि एउटा गरिब पिछडिएको देश थियो । सन् १९४९ को क्रान्तिले एउटा सम्पन्न देश थियो । पश्चिमी जगत्ले चिनियाँलाई एउटा असभ्य समाज ठान्थ्यो । तर, सन् १९४९ को क्रान्तिपछि दोस्रो विश्वयुद्धमा विजयी देशले गठन गरेको संयुक्त राष्ट्रसंघमा तेस्रो विश्वको प्रतिनिधि र भावी शक्ति स्वीकार गरेर र सुरक्षा परिषद्मा ‘भिटो’ प्रयोग गर्न सक्ने अधिकार दिए । जब कि जर्मनी, जापान, भारत, ब्राजिलले अझसम्म प्राप्त गरेका छैनन् । नेपालको राजनीतिले नेपाली जनतालाई धोका र अपमानमात्रै पस्किएको छ । जनता हरेक बलिदानपछि भर्याङमात्रै भएका छन् । एकथरी ठालुहरू ठेल्छन्, नयाँ ठालु जनताको टाउकोमा टेकेर सिंहदरबार उक्लिन्छन् ।

रेडियो अध्ययन भ्रमणपछि रेनमिन विश्वविद्यालयको कानुन संकायमा आयोजित गोष्ठीमा सहभागी भयौं । कार्यक्रमको सुरुवात श्रव्य–दृश्यबाट भयो । नेपाल–चीन मित्रताको परिवेश चित्रण गरेर बनाइएको सो श्रव्य–दृश्यको भाषा अंग्रेजी थियो । पात्रहरू भने स्थानीय भाषा, भेष र कालक्रमिक सन्दर्भका रहेछन् । गौतम बुद्ध, मञ्जुश्री, स्रङचङ गम्पो, भृकुटी, अरनिको हुँदै २०१२ को नेपाल–चीनमैत्री सम्बन्ध स्थापनासम्मका प्रसंग समेटिएका थिए । राजा वीरेन्द्र, चाउ एन लाई र अध्यक्ष माओका सम्झनाले संवेदना जगाउँथ्यो । हाल ग्वाङझाउ, छेन्दु, कुन्मिङ र ल्हासाबाट काठमाडौं सिधा उडान रहेको प्रसंगपछि नेपाली भाषाको झिल्के लोकगीत बज्यो :

‘माछी मारन हे दाइ हो
आजलाई चटनी माछी मारन’

त्यसपछि नेपाली साहित्यको सबैभन्दा लोकप्रिय कृति मुनामदनको अलि लामो प्रसंग थियो । देवकोटाले जीवनको उत्तराद्र्धमा शान्तभवन अस्पतालको ओछ्यानमा मृत्युसँग लडिरहेका बेला ‘मेरा अरू सबै कृति जलाए पनि हुन्छ तर मुनामदन नजलाइदिनू’ भनेका थिए । विक्रम संवत् १९९६ मा पहिलोपटक प्रकाशित सो खण्डकाव्यमा भोट–नेपाल व्यापारका दुःख, पीडाको परदेशी जीवन बोलेको छ । मदन भोट जाने बेला मुना भन्छे–

“जंगली देश बेपारी भेष संकट सहेर
के मिल्छ हरे ! तिनलाई छाडी ल्हासामा गएर ?
हातका मैला सुनका थैला, के गर्नु धनले ?
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।”

मुनासँग दुई बीस दिनमा फर्कने वाचा गरेर गएका मदन आठ बीस दिन काट्दा पनि कुनै खबर नेपालतिर आउन्न । लाहुरे संस्कृति, मनोविज्ञान र सामाजिक विघटनको प्रक्रिया उसबेला आफ्नैखालको थियो । यद्यपि, उपभोक्तावाद आजजस्तो थिएन । उसबेला हैजाको उपचार हुँदैनथ्यो । हैजा लागेपछि बटुवा उसलाई बीचबाटैमा छोडेर हिँड्थे । मदनलाई हैजाले समात्यो । मानिस कति स्वार्थी छन् भने मदनलाई उनका साथीहरूले मृत्युको मुखमा धकेलेर हिँडे । संयोगवश एकजना स्थानीय भोटे किसानले मदनको उद्धार गर्यो । त्यसबाट द्रविभुत मदन भन्छ–

“क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन,
मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।”

मुनामदन खण्डकाव्य लेखेको २० वर्षपछि २०१६ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदनमा प्रसंगअनुसार क्षेपक थपेका थिए । भोटेको छाप्रामा उपचारार्थ रहेका बेला मदन कल्पन्छ–

“मुस्कानमा छैन मानिसको छुरी, वचनमा छैन विष
हावामा छैन दूषण केही, मनमा राग रिस,
दरिद्रय त्यहाँ क्या धनी थियो थोरैमा कति धेर !
चाँहिदो रै’छ के सुखलाई ? प्रकृति भएनेर ।”

मदन घर फर्किने समयमा गुन तिर्न नसके पनि ल्हासाबाट कमाएर ल्याएको सुनका डल्ला आधा त्यही उपकारी भोटेलाई दिन चाहन्छ । तर, उपकारी भोटे भन्छ–

“रोपेर सुन उम्रन्न क्यार ? के गर्छ सुनले ?
रापेर राख्यो, पछि पो खान्छ यो तिम्रो गुनले,
बालक मेरा यी छोराछोरी, आमाले छाडेको,
के गर्नु सुन ? के गर्नु धन ? दैवले चुँडेको,
यो केटाकेटी खाँदैन सुन, लाउँदैन गहना,
आकाशमाथि जहान मेरो बादल छ गहना ।”

लक्ष्मीप्रसाद देवकोटाको समयमा तिब्बती र ल्हासाका युवतीप्रति नकारात्मक धारणा पनि त्यत्तिकै थियो । बाटामा भोटेले लुटपाट गरेका कथा र मिथक सुनाइन्थे । देवकोटाले असल र खराब दुवैथरी मानिस संसारभरि छन् भन्ने कुरालाई स्थापित गरिदिए । इमानदारी, स्वाभिमानका खानी चिनियाँ र त्यस्तै नेपालीबीचको मानवीयतालाई गुणात्मक उचाइ प्रदान गरे । नेपाल–चीन सम्बन्धमा मुनामदन एउटा अजर साँघु रहिरहनेछ । चीन र नेपालको आ–आफ्नो भाषा र लयमा राष्ट्रिय गीतसहित श्रव्य–दृश्य सकिएथ्यो । किशोर श्रेष्ठद्वारा श्रव्य–दृश्यको परिकल्पना गरिएको रहेछ । त्यसप्रकारका अझ थुप्रै सामग्री जनस्तरसम्म पुर्याउनुपर्ने आवश्यकता महसुस भइरहेको थियो । निर्धारित समय ५ बजेसम्म कार्यक्रमका लागि तोकिएको थियो । तर ५ः३० बजेसम्म छलफल चल्यो । त्यसपछि होटलतिर फर्कियौं ।
फर्कंदा पुरुष र महिलाको पोसाकका विषयमा छलफल भइरहेका थिए । नारी सुन्दरता र चरित्रका विषयमा सामन्तवाद र पुँजीवादको सारा साहित्य, कला केन्द्रित भएको विषयमा चर्चा भए । किशोर श्रेष्ठले ‘आजसम्मको सारा साहित्य नारी प्रशंसामा लेखिएको छ । पुरुष सुन्दरताका विषयमा नेपाली साहित्यमा एउटा मात्र लोक गीत छ–

‘कालीपारे दाइ कति राम्रो
ढाकाटोपी काँधैमा गलबन्दी ।

त्योबाहेक नर सुन्दरताका विषयमा अर्को सिर्जना छैन । ‘महिलाले त लेख्न पाए पो, लेख्यो भने चरित्रमाथि आक्रमण भइहाल्छ,’ निर्मला शर्मा भन्दै थिइन् । मलाई उनको धारणा सही लाग्यो । किनकि हरेक युगको कला, साहित्य शासकवर्गको पक्षमा लेखिन्छ । सत्तारुढ वर्गको चेतना नै समकालीन समाजको सत्तारुढ चेतना र संस्कृति हुन्छ । पुरुषवादमा आएको विघटन र महिला सबलीकरणसँगै नारी सर्जक अगाडि आउन थालेका छन् । त्यो प्रक्रियामा नारी उत्पीडनमात्रै होइन, पुरुष चरित्र र सुन्दरताका विषयमा पनि लेखिन थालेको छ ।

सधैंझैं ६ बजेतिर खाना खायौं । नेपालमा भर्खर साँझ ४ बजेको छ, अहिल्यै कोठामा गएर के गर्नु भनेर पार्कतिर घुम्न गयौं । पानी परेका कारण बेइजिङ चिसिएको छ । गोविन्द भट्टराई र म एउटा बेन्चमा बसेर गफियौं । जनआस्था साप्ताहिकका हामी दुवै लेखक र पाठक बनेर अप्रत्यक्ष रूपमा परिचित थियौं । प्रत्यक्ष भेटघाट नभए पनि लामो चिनजान भएझैं लाग्थ्यो । भट्टराईले लेखन र पत्रकारिता जीवनका पीडासुनाउँदा मलाई आफ्नै कथा अरू कसैले वाचन गरेझैं लाग्यो ।

१० जुन, २०१४ (२०७१ जेठ २७)

रेनमिन विश्वविद्यालय बेइजिङ

प्रतिक्रिया दिनुहोस्