त्यसपछि कमरेड वाङ र फिनिक्स बिदा भए


बेइजिङ स्काइलाइन फ्रम नर्थेस्ट फोर्थ रिङरोड

नेपाल र चीनका लेखक पत्रकार र सञ्चारकर्मीको साझा संगठन  ‘सञ्चारका लागि नेपाल–चीन मञ्च’ को आयोजनामा १५ सदस्यीय टोली चीन भ्रमणमा जाँदै थियो । निर्वाचनअघि एक दिन लाजिम्पाटस्थित र्याडिसन होटलमा चिनियाँ दूतावासको ‘राजनीति र सञ्चार विभाग’ को आयोजनामा भएको एक अन्तक्रियायामा चीन भ्रमणका विषयमा सामान्य कुराकानी भएको थियो । त्यसपछि कहिल्यै त्यस विषयमा प्रसंग चलेन । बेला–बेलामा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले ‘राहदानी नभए बनाउनुस् है’ भनेका थिए ।

वैशाखको अन्त्यमा चीन जाने टोलीमा मेरो नाम पनि परेको खबर संस्थाका कर्मचारी गोपाल पौडेलले सुनाए । हामी अंग्रेजी संवत्अनुसार २०१४ जुन ८ मा बेइजिङतिर जाँदै थियौं । एक हप्ता अगाडि संस्थाको कार्यालयमा भ्रमण टोलीको परिचयात्मक तथा तयारी बैठक भयो । अनुभवी मित्रहरू मुख्यतः किशोर श्रेष्ठको भ्रमणले तयारी, ख्याल गर्नुपर्ने कुरा, भ्रमणप्रति चिनियाँको अपेक्षा, चिनियाँ मनोविज्ञान र संस्कृतिका विषयमा बताएका थिए । चीनको अनुभव भएका अरू केही साथीसँग पनि छलफल गरेको थिएँ । आफ्नो दैनिक परिवेशभन्दा फरक यात्री, लेखन–प्रकाशनबाहेक खासै हिमचिम नभएका साथीहरूसँगको यो भ्रमण हुँदै थियो । यो परिवेशले एकातिर असहज महसुस भइरहेको थियो । अर्कोतिर मेरा लागि अध्यक्ष माओको देश दर्शन भावनात्मक रूपमै रोमाञ्चकारी थियो ।

अनिल शर्मा विरही

स्थानीय समयअनुसार बिहान ११ः३० बजेको ‘एएर चाइना लि’ ४३८ नम्बरको चिलगाडीमा १४ जनाको टोली जाँदै थियो । टोलीमा लेखक, पत्रकार र सञ्चारकर्मी तीनैथरी समायोजित थिए । इमिग्रेसनमा प्रक्रिया पूरा गर्नासाथ हवाई अड्डाका कर्मचारीले हाम्रो शरीरमा ‘एअर चाइना’ लेखिएको लोगो टाँसिदिएका थिए । जेलबाट रिहा भएका बन्दीलाई गन्तव्यसम्म पुग्नका लागि सहज होस् भनेर शरीरमा झ्यालखानाको छाप लगाएर पठाउने गरिन्छ । त्यसलाई साँढेले डामेजस्तै अर्थबोध गर्न सकिन्छ । लोगोप्रति संकेत गर्दै गोपाल खनालले ‘अब हामी उताको भयौं’ भनेका थिए । अर्को मित्र श्रीलाल साहले मतलब ‘तुम हमारा है’ भन्दा सबै हाँस्दै थिए । निर्धारित समयमा वायुयान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान प्रान्तको राजधानी छेन्दुतिर हानिँदै थियो । सञ्चारमाध्यममा आउने समाचारजस्तो कडा जाँच र अपमान अनुभूति गर्नुपर्ने केही भएन । प्रहरी र विमानस्थलका कर्मचारीले सभ्य व्यवहार प्रदर्शन गरेका थिए ।

अन्तिम सिट ३० जेकेएलमा चन्द्रकिशोर झा, सुजाता ढुंगाना र म थियौं । धेरैजसो साथीको सिट छरिएको भए पनि हामी तीन नेपाली एकै स्थानमा परेकाले रमाइलो महसुस भयो । बिरानो भाषा र अनुहार अगाडि नेपाली भाषा र अनुहारमात्रै हुँदा पनि एउटा गीत ‘चिनारी हाम्रो धेरै पुरानो……’ जस्तो लाग्यो । उडानकै समयमा हाम्राबीचमा चिनजान भयो । वायुयान हिमालय शृंखलातिर चढ्दै थियो । हामी जहाजको झ्यालबाट फोटो लिइरहेका थियौं । साथी चन्द्रकिशोरले कोट्याउँदै ‘उ हेर्नोस् त सर, माउन्ट एभरेस्ट त्यही हो‘ रोमाञ्चित भएर भन्दै थिए । चोमोलुङ्माको फोटो लिएपछि उनले भने सन्तोषको सास फेर्दै भने, ‘मलाई आफ्नो देशको गौरव सगरमाथा हेर्नु र ग्रेटवालमा उभिएर एउटा फोटो लिने दुई अपेक्षा थिए । आधा यात्रा सफल भयो ।’ मेरो मनमा भने तियानमेन चोकस्थित माओको दर्शन पहिलो आकांक्षा थियो । मेरो हृदयमा चोमोलुङ्माभन्दा अध्यक्ष माओ अग्ला थिए ।

तियानमेन गेट

म तिब्बतको चेरुङ उपत्यका र रसुवाको सोमदाङ शृंखलामा यदाकदा हिउँसँग खेलेको थिएँ । तर, यसपटक हिमालको थाप्लोमा भमराझैं उड्दा अर्कै अनुभूति भएथ्यो । समय स्थिर भएर कपासको थुप्रोजस्ता हिमालमाथि वायुयान स्थिर रहे हुन्थ्योजस्तो लागिरहेको थियो । वायुयान नेपालको हिमशृंखला नाघेर तिब्बतका निर्जन स्थलतिर हानिँदै थियो । विमानले अधिकतम २६,५०० मिटरको उचाइ र तापक्रम ऋणात्मक २९ डिग्री सेल्सियसमा उडान भरिरहेको थियो । कालो चट्टान र हिउँको थुप्रो लुकामारी खेलेझैं लाग्थ्यो । हिमाल भनेपछि जताततै र तलमाथि पूरै हिउँ नै हिउँ भन्ठान्ने गरिन्छ । तर, कडा चट्टानको थाप्लोमा हिमाल फूलेको देखिन्थ्यो ।

हिमाल नाघेर तिब्बतमाथि उडिरहेका थियौं । तालैताल भएको स्थान थियो । चन्द्रकिशोरले ‘यो त हाम्रो जनकपुरजस्तो छ’ भन्दै थिए । मैले ‘जनकपुरका पोखरीजति खाइसक्नुभयो’ भने बेइजिङ चन्द्रकिशोरले ‘यो जहाज केहीबेर रोकेर लोथरको छाप्राझैं एक गिलास चिया खान पाए हुन्थ्यो’ जहाजबाट देखिएका स–साना तिब्बती घर देखाउँदै भनेका थिए । सुजाता ‘झा सरलाई चिया खान मन लाग्यो रे, रोक्नुस् भनौं त’ भन्दै थिइन् । हाम्रोतिर बसको छतमा जसरी वायुयानको छतमा बसेर धूलो उडाउँदै, दृश्यावलोकन गर्दै यात्रा गर्न पाए कस्तो रमाइलो हुन्थ्यो होला चन्द्रकिशोर भन्दै थिए । वायुयानको टीभी पर्दामा यानको उचाइ र तापक्रम घट्दै गएको देखिन्थ्यो । हामी छेन्दु विमानस्थल नजिकै आइपुगेका थियौं । समय कटेको पत्तै भएन ।

स्थानीय समयअनुसार साँझ ७ बजे हामी छेन्दु विमानस्थल पुग्यौं । एक घन्टा रोकिएर अर्को विमानमा बेइजिङ जानुपर्ने थियो, नेपालबाट चीनका ल्हासा, कुन्मिङ, छेन्दु र ग्वाङझाउ चार सहरमा मात्र सिधा उडान हुने गर्छ । बेइजिङको मौसम खराब भएका कारण उडान ढिला भएको खबर थियो । मेरो मोबाइलमा नेपालको १६ः४५ बज्दा एकपछि अर्को उडान रद्द भएको खबर प्रसारण भइरहेको थियो । पट्यार लाग्दोगरी हवाई अड्डाको प्रतीक्षालयमा बस्नुपर्यो । उडान रद्द भएमा यात्रु आफैंले बासको व्यवस्था गर्नुपर्ने रहेछ । चीनको विशेष पाहुना भएका कारण हामीलाई भने छेन्दु हवाई अड्डाले नै बासको व्यवस्था मिलाउने आश्वासन दिएको थियो । भोकले सताउँदै थियो । हवाई अड्डाले कालो चिया व्यवस्था ग¥यो । बिस्कुट र चिया बाँडेर खायौं । अनुभवी साथीहरूले तयारी खाना बोक्ने सल्लाह दिएका थिए । त्यो सल्लाह काम लाग्दै थियो ।

टेम्पल अफ हेभन

नेपाली समयअनुसार ७ः३० बजिसकेको थियो । छेन्दु सहरमै बास बस्नुपर्ने भयो भनेर निराश थियौं । वायुयान बेइजिङ उड्ने भयो भन्ने सूचना प्रवाह हुँदा एकपटक तालीको गडगडाहटले वरपरको वातावरण गुञ्जायमान भयो । साँझ ८ बजे जहाजभित्र प्रवेश गर्यौं। स्थानीय समयअनुसार रातको १०ः१५ भइसकेको थियो । नेपालभन्दा २ः१५ घन्टा बेइजिङ छिटो उठ्दोरहेछ । बेइजिङ नेपालभन्दा पूर्वमा रहेको सहर हो ।

स्थानीय समयअनुसार १२ः३० मा बेइजिङ विमानस्थल पुग्यौं । ठूलो झोला लिन पर्खिरहेको बेला पहिले सिन्ह्वा समाचार समितिमा काम गरिसकेका सञ्चारकर्मी ध्रुव पौडेलले हामीलाई आ–आफ्नो घरमा फोन सम्पर्कको व्यवस्था मिलाए । विमानस्थलबाट बाहिर निस्कनासाथ मूलद्वारमा दुई चिनियाँ युवक ‘उच्चस्तरीय गोष्ठीमा सहभागी हुन आउनुभएका नेपाली पाहुनालाई स्वागत छ’ अंग्रेजी भाषामा लेखिएको कागज–फलक ठड्याएर उभिएको देखियो । उनीहरूमध्ये चिनियाँ भाषामात्र बोल्ने क. वाङ छोङलियाङ चीनको परराष्ट्र मन्त्रालयमा काम गरेर अफगानिस्तान, युगोस्लाभिया, पाकिस्तानस्थित दूतावासको सुरक्षामा खटिसकेका पूर्वसैनिक थिए । अर्की युवती फिनिक्स दोभाषे थिइन् । उनीहरू एकजनाले चिनियाँ र अर्कोले अंग्रेजीमा दोहोर्याउँथे । क. वाङ निकै छरितो युवक रहेछन् । दोभाषेमा भद्रता थियो ।

सामान्य निर्वाचनपछि उनीहरूले पर्यटक वाहनमा चढाएर बेइजिङको उत्तरतिर लगे । जहाँ रेनमिन (जनता) विश्वविद्यालयसहित ७० भन्दा बढी विश्वविद्यालय छन् । झन्डै एक घन्टाको बाटोमा धूलो, धूवाँ कतै पनि देखिन्नथ्यो । हरियाली र भीमकाय भवनमात्रै देखिन्थे । छेन्दु हवाई अड्डाबाट निस्कँदा त्यहाँको सफा वातावरण देखेर चन्द्रकिशोरले ‘गोपालजी यसो पान–वान खाएर थुक्ने होइन,’ भारतीय सार्वजनिक स्थल सम्झँदै भनेका थिए । रात छिप्पिँदै गयो । बेलुकाको खाना खाएर बासमा पुग्दा रातको तीन बजिसकेको थियो । नेपालमा एकमात्रै त बजेको छ नि भनेर मन बुझाएँ । बिहान सात बजे खाजा खाने स्थानमा जम्मा हुने जानकारी दिएर क. वाङ र फिनिक्स बिदा भए ।

२०७१ जेठ २५
रेनमिन विश्वविद्यालय, बेइजिङ

प्रतिक्रिया दिनुहोस्