गीतकार मेयर : हलेसी तुवाचुङ नगरपालिकाको नगरगान तयार



दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईद्वारा लिखित हलेसी तुवाचुङ नगरपालिकाको नगरगान तयार भएको छ ।

गीतकारसमेत रहेका नगरप्रमुख राईद्वारा लिखित २ मिनेट ३० सेकेन्डको नगरगान तयार भएको संगीतकार शान्तिराम राईले बताए । मंगलबार तयार भएको नगरगानमा १२ जना गायक–गायिकाको आवाज रहेको संगीतकार राईले जानकारी गराए ।

नगरगानमा राजेशपायल राई, शान्तिराम राई, पार्वती राई, कला राई, मेनुका राई, बेनुका राई, रूपकुमार राई, शिवसंगम राई, वसन्त भट्टराई, रेवत राई, विक्रम राई र यसकुमार राईको आवाज सुन्न सकिन्छ ।

‘नगरगान सुनेपछि मेयरसापले खुसी व्यक्त गर्नुभएको थियो,’ संगीतकार राईको भनाइ छ, ‘मेयर सापसँग कुराकानी गर्न पाएको छैन । उहाँ बुधबारको नगरसभाका लागि व्यस्त हुनुहुँदोरहेछ । तर, उहाँले मेसेन्जरमा नगरगान राम्रो बनेको भन्दै थ्याङ्क यु लेख्नुभएको थियो ।’

हलेसी तुवाचुङ नगरपालिकाका नगरगान परिमार्जित हुँदै जाँदा सातवटा संगीत भरेको संगीतकारले बताए । ‘गीतकारज्यूले आफूले लेखेको गीत आफैंले परिमार्जन गर्दै जानुभयो,’ उनले थपे, ‘पटक–पटक परिमार्जन हुँदा मैले पनि संगीत परिमार्जन गर्नुपरेको थियो ।’

हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख राईले नगरगान तयार भएकोमा आफूलाई खुसी लागेको छोटो प्रतिक्रिया दिए । ‘म गीत–संगीत सुन्छु । तर, गीत–संगीतबारे अनभिज्ञ हुँ,’ बुधबारको नगरसभाका लागि व्यस्त रहेका उनले टेलिफोनमा सुनाए, ‘जीवनमा पहिलोपटक लेखेको गीत नै नगरगान बनेको छ । यसलाई अवसर ठानेको छु ।’

सुगम संगीतमात्रै होइन, कालजयीलगायत गीत–संगीत सुन्न मन पराउने नगरप्रमुख राई आफ्नैपारामा गीत गुनगुनाउने गर्छन् ।
‘नगरगान डेढ घन्टामा लेखेको थिएँ । नगरगान लेखिसकेपछि आफैंले परिमार्जन गर्दै लगें,’ गीतकार इवन राईले दाबी गरे, ‘त्रिधार्मिक स्थल हलेसीको इतिहासबारे धेर–थोर जानकारी भएकाले नगरगान लेख्न सजिलो भयो । नगरगानमा किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको इतिहास प्रस्ट्याउने जमर्को गरेको छु । नगरगान सार्वजनिक भएपछि श्रोताको प्रतिक्रिया आउने नै छ ।’

नगर कार्यपालिकाले नगरगान निर्माण गर्ने निर्णय गरी नगरगान माग गरेको थियो । संकलित नगरगानमध्ये संगीतकार शान्तिराम राई संयोजकत्वको नगरगान छनोट समितिले इवन राईद्वारा लिखित नगरगान चयन गरेको थियो ।

नगरगान आह्वान गर्दा गीतकारको नाम उल्लेख गर्न नहुने सर्तनामा थियो । ‘नगरगान छनोट गरेपछि छनोट समितिले गीतकारको नाम मागेको होे,’ समितिका संयोजक प्राज्ञ शान्तिराम राईले रहस्य खोतले, ‘समितिले गीतकारको नाम माग्दा मेयरसापको गीत चयन भएको रहेछ । मेयरसापले पनि नगरगान पठाउनुभएको होला भनेर सपनामा पनि सोचेको थिइनँ ।’

हलेसी तुवाचुङ नगरपालिकाको नगरगान

त्रिधार्मिक तपोःभूमि हलेसी तुवाचुङ

खोटाङकै सुन्दर नगर हलेसी तुवाचुङ

तोयामा र खियामाले सुरु गरे, यही भूमिमा तान बुन्ने युग

आदिपुरुष खोक्चिलिपाले सुरु गरे, यही भूमिमा कृषि युुग

महादेवले असत्यलाई परास्त गरेको भूमि यही हो

गुरु पद्मसम्भवले अमरत्व पाएको भूमि यही हो 

ज्ञान, शक्ति, करुणा र अमरत्व
गर्भ, जन्म, पाप, कर्म स्वर्ग हलेसी महादेवो

त्रिधार्मिक तपोःभूमि हलेसी तुवाचुङ

खोटाङकै सुन्दर नगर हलेसी तुवाचुङ

प्रतिक्रिया दिनुहोस्