होलैसुङको हौसलामा होस्टेमा हैंसे


एकताका हलेसी थुमका शासक होलैसुङ थिए । उनै होलैसुङका सन्तानले इतिहास खोज्ने, लेख्ने र संरक्षण तथा सम्बद्र्धन गर्ने काम तीव्र पारेका छन् । इतिहास लेख्न त्यति सजिलो छैन । तर, खोज, अनुसन्धान तीव्र गतिमा अघि बढेको छ । तिनै होलैसुङका सन्तानमध्ये जनकराज राई समाजसेवामा लागिपरेका छन् ।

समाजसेवी राईको बाल्यकाल होलैसुङ भूमिमा बितेको थियो । ऊबेला पनि शिक्षा आर्जन गरी शिक्षण पेसामा लागे । ऊबेला संसारभरिबाट हजारौलाई बेलायती सेनामा भर्ती गराइयो । अहिले पनि गरिन्छन् । उनी शिक्षण पेसा छाडेर बेलायती सेनामा भर्ती हुन पुगे । सात वर्षसम्म बेलायती सेनामा काम गरेर स्वदेश फर्के ।

ऊबेला आफ्नो गाउँठाउँको विकास गर्नुपर्छ भन्दा पनि आफू र आफ्नो परिवार कसरी सुरक्षित राख्ने भन्ने भावना, मनोविज्ञानले उनी लामो समय मातृभूमिबाट टाढिए । ‘उमेर हुँदा परदेश बसे पनि उमेर ढल्कँदै जाँदा मातृभूमि र पुर्खाको सम्झना आउने अनि कर्मथलोबाट जन्मथलो सम्झिने गर्छौं,’ पुर्खाको अनुभव र भनाइ छ, ‘त्यतिबेला जन्मथलोको मायाले सताउँछ । अनि आफ्नै सालनाल गाडिएको गाउँठाउँ फर्कन बाध्य बनाउँछ ।’

पुर्खाको भनाइसँग उनी सहमत छन् । युवा अवस्थामा उनी देश–विदेशमा घुमे । रमाए । स्वदेशमा हुँदा पनि २६ वर्षसम्म गाउँठाउँबाट टाढिए । २६ वर्षपछि गाउँ फर्कंदा उदाहरणीय काम गरेर देखाए । यो संवत् २०६९ को कुरा हो । स्थानीय र मनकारी सहयोगीसँगको सहकार्यमा सडक खने । आर्थिक सहयोगमात्रै गरेनन् आफैं खडक निर्माणमा खटिए ।

कम अनुभव भएकाले होलैसुङ समूहले जनकराज राईलाई सडक निर्माणसम्बन्धी कार्ययोजना सुनाए । समूहले पाँच लाख रुपैयाँ सहयोग माग्दा फराकिलो मन भएका उनले तोकिएको आर्थिक सहयोग गर्न राजी भए । १३.२७ किलोमिटर सडक निर्माण गर्न १८ लाख लाग्ने अनुमान गरिएको थियो । तर, सडक निर्माण सम्पन्न गर्दा ७० लाखभन्दा बढी खर्च भएको थियो । सडक निर्माणको लागत बढेपछि उनी एक्लैले २२ लाख ५४ हजार २३७ रुपैयाँ सहयोग गरे भने उनकै पहलमा ३० लाख रकम संकलन गरिएको थियो । जनकराज राई स्वयम् सक्रिय नभएका भए सडक सपना अधुरै रहन्थ्यो । सडक निर्माणका लागि धेरै समय कुर्नुपथ्र्याे ।

अथाह सम्पत्ति भएर उनले आर्थिक सहयोग गरेको पक्कै होइन । होलैसुङ–जनकराज राई मार्गले छोएको गाउँ र टोलअन्तर्गत एक गाउँमा तीनदेखि १० जनासम्म उनीभन्दा आर्थिक अवस्था उकासिएको ब्रिटिस लाहुरेदेखि सिंगापुर प्रहरी तथा व्यवसायी थिए ।

सडकमा सहयोग गर्नु भनेको सेवामात्रै हो । अस्पतालमा लगानी गर्ने हो भने आफ्नो नाम जोडेर अस्पताल स्थापना गर्न सकिन्छ । अस्पतालमा गरिएको लगानी पुनः नाफाका रूपमा फिर्ता हुन सक्छ । सयौं वर्षसम्म आर्थिक आय भइरहन्छ । त्यतिमात्रै होइन, स्थानीय कृषि र खनिज पदार्थलाई आधार मानेर व्यवसाय सञ्चालन गरे गतिलै आर्थिक शुभलाभ हुन सक्छ ।

तर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सेवा गर्नु जनकराज राईको महान्ता हो । त्यस्तो काम गर्नु भनेको हलेसी तुवाचुङ नगरपालिका, खोटाङ जिल्लालाई मात्र नभएर, नेपालकै उदाहरणीय काम हो । यसबारे खुलेर प्रशंसा गर्न कन्जुस गर्नुहुँदैन । उनले गरेको कार्य उदाहरणीय, सराहनीय, प्रशंसनीय र अनुकरणीय छ ।

जनकराज राई होलैसुङको सन्तान भएकाले उदाहरणीय काम गरेर सबैका उदाहरणीय पात्र बनेका छन् । अब होलैसुङका सन्तानले बाँकी रहेका क्षेत्रका विषयविज्ञले नेतृत्व र विज्ञता प्राप्त गर्न आवश्यक छ । यसका लागि होलैसुङले आशिर्वाद दिइसकेका छन् । आशिर्वाद शिरमाथि राख्न, त्यो ठाउँमा नेतृत्व गर्न अगाडि बढ्ने वा नबढ्ने होलैसुङका सन्ततिकै हातमा छ । त्यसका लागि हामी तयार हुनुपर्छ । जागरुक बन्नुपर्छ । कुनै समय राज्य सञ्चालन गरेका होलैसुङ, त्यही शासकका सन्तान हामी आफ्नै भूमिमा दोस्रो दर्जाको नागरिक बन्यौं भने होलैसुङले धिक्कार्नेछन् ।

प्रतिक्रिया दिनुहोस्