हलेसी गुफामा तीन चुला, प्रवेशद्वारपरिसरमा साकेलाथान



हलेसी (खोटाङ) । तीन चुला । अर्थात् किरात राई समुदायको पितृथलो । उनीहरूले पितृथलोलाई महत्वपूर्णसाथ लिन्छन् । त्रिधार्मिक स्थलका रूपमा परिचित हलेसी गुफामा किरात राई समुदायले महत्वपूर्ण मानेको तीन चुला अर्थात् पितृथलो निर्माण गर्ने निर्णय गरेर हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले झन् महत्वपूर्ण निर्णय गरेका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नगरसभामा हलेसी गुफामा तीन चुला निर्माण गर्ने निर्णय गरे पनि हलेसी महादेवस्थान विकास समिति कार्यालयमा बुधबार तीन घण्टा बसेको बैठकले काम तत्काल थाल्ने निर्णय गरेको हो ।

‘त्रिधार्मिक तपोःभूमि हलेसीले सार्थकता पाउँदै छ,’ नगरप्रमुख राईले खुसी व्यक्त गरे, ‘त्रिधार्मिक स्थल भनिएको हलेसीमा हलेसी मन्दिर छ । बौद्ध धर्मावलम्बीका लागि मारातिका गुम्बा छ । हलेसीमा किरात राई समुदायको तीन चुला निर्माण गरेपछि साँच्चिकै त्रिधार्मिक स्थल बन्नेछ ।’

प्रत्येक किरात राई समुदायको घर खाना पकाउने र पितृ पुज्ने चुला हुन्छन् । हलेसी गुफामा पितृ पुज्ने चुला निर्माण गर्न लागिएकोमा नगर प्रमुख इवन राई स्वयम् खुसीले पुलकित भएका छन् ।

‘बन्दाबन्दी भए पनि काम तत्काल थाल्ने छौं,’ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडाध्यक्ष चइन्द्र राईले सुनाए, ‘श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समितिसँग भएको भेटीघाटी सदुपयोग गर्दै काम थालिने भएको हो ।’ हलेसी गुफा प्रवेशद्वारको देब्रेपट्टि रहेको गणेश मन्दिरआसपास रहेका होमादि घर र कुटी व्यवस्थापन गरेर फराकिलो बनाइनेछ । त्यहीं साकेला थान र होमादि घर रहने वडाध्यक्ष राईले जानकारी गराए ।

सबै–सबै किरात राईहरूको साझा विशेषता भनेकै तीन चुला हो । हलेसी गुफामा तीन चुला निर्माणका लागि श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समिति पूर्वअध्यक्ष गजुरमान राईलाई जिम्मेवारी दिइएको छ ।

आर्थिक वर्ष २०७७/०७८ देखि हलेसीमा किराती धामी राखिने नगर प्रमुख राईले बताए । उनले भने, ‘संस्कृतिविद्सँग समन्वय गरेर चुला प्रतिस्थापन गर्न गजुरमान राईलाई जिम्मेवारी दिएका छौं ।

किरात राई यायोक्खा केन्द्रीय समिति अध्यक्ष दिवस राईले हलेसी गुफामा तीन चुला निर्माण गर्ने निर्णयको स्वागत गरेका छन् । ‘चुला बनाउने र राख्ने सन्दर्भमा यायोक्खासँग समन्वय गर्दा प्रभावकारी हुने थियो,’ यायोक्खा अध्यक्ष राईले सुझाए, ‘चुला बनाउँदा फाइन आर्ट र राख्दा मुन्दुमविद्सँग परामर्श नगरी हुँदैन । मुन्दुमविद्ले तीन चुला कहाँ राख्ने, कुन दिशा फर्काउने भनेर सुझाउँछन् । त्यसको समन्वय यायोक्खाले गर्दै आएको छ ।’ मुन्दुमविद्ले सुझाएअनुसार तीन चुला प्रतिस्थापन गरे हतारमा निर्णय गरेर फुर्सदमा पछुताउन नपर्ने उनको भनाइ थियो ।

हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राई

‘हलेसी अबचाहिँ हामीले भन्दै आएको त्रिधार्मिक स्थल बन्ने पक्कापक्की भएको छ,’ हलेसी महादेव विकास समिति कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले उत्साहित हुँदै भने, ‘हलेसीमा किरात राई समुदायलाई समेट्ने सन्दर्भमा समितिको ध्यानाकर्षण भइरहेको थियो । २०७५/०७६ को नगरसभाले हलेसीमा तीन चुला निर्माण गर्ने निर्णय गर्नु र बुधबार बैठकमा कार्यान्वयन गर्नुको पछाडि मुन्दुम अध्येता भोगीराज चाम्लिङलाई विशेष सम्झेका छौं ।’

आफूले सुझाएको विषय नगर र त्रिधार्मिक स्थल हलेसीसँग सरोकार राख्ने संघ–संस्थाले गरेको महत्वपूर्ण निर्णय सुन्दा मुन्दुम अध्येता भोगीराज चाम्लिङलाई कम्ती खुसी लागेको छैन । ‘तीन चुला किरात राई समुदायको अदृश्य संघ अथवा संस्था हो,’ मुन्दुम अध्येता चाम्लिङले प्रस्ट्याए, ‘तीन चुला सात हजार वर्षदेखि प्रयोगमा आएको छ ।’

किरात राई समुदायले महत्वसाथ लिने पितृथलोको दार्शनिक पक्ष त्यत्तिकै अर्थपूर्ण मानिन्छ । मुन्दुमको स्रोतमात्रै होइन, उनीहरूले पुज्ने चुलामा धामीझाँक्रीले देहसंवाद गर्छन् । त्यस्तो महत्व ठानिएको चुला हलेसीमा प्रतिस्थापन गर्न लागेको सुन्दा ६ लाख २० हजार ४ किरात राई हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, सिंगो नगरपालिका र त्रिधार्मिक स्थल हलेसीसँग सरोकार राख्ने संघ–संस्थाप्रति आभारी छन् । नगरको पहिलो नगरप्रमुख र त्रिधार्मिक स्थल हलेसीसँग सरोकार राख्ने संघ–संस्थाले गरेको अर्थपूर्ण निर्णयले किरात राई समुदायमा खुसियाली छाएको छ ।

बैठकमा हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राई, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान अध्यक्ष चइन्द्र राई, हलेसी महादेवस्थान विकास समिति कार्यकारी निर्देशक सम्मरबहादुर भुजेल, विकास समितिसम्बद्ध तथा युवा नेता सर्वधन बस्नेत, हलेसी महादेवस्थान मन्दिर व्यवस्थापन समितिसम्बद्ध गजुरमान राई र हर्कराज राई, हेरालु पुजारी गोपाल गिरी, हलेसी बजार व्यवस्थापन समिति अध्यक्ष पवन परियार, हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राई, युवा नेता कमल गिरी र स्वयम्सेवी पथप्रदर्शक राकेश परियारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्