मेयर साप, हामीले औंसीमा पनि जून देख्यौं


श्रीमान् नगरप्रमुखज्यू

आराम छु । आरामको कामना गर्छु । बन्दाबन्दी (लकडाउन)ले संसारलाई अस्त–व्यस्त बनाएको बेला आफ्नो ख्याल गर्नुभन्दा अरू सोच्नै नसकिँदोरहेछ । काठमाडौंबाट फर्केको ४३औं दिनमा नगरप्रमुखज्यूलाई चिट्ठी लेख्दै छु ।

बन्दाबन्दीले अप्ठ्यारोमा परेकालाई गुणस्तरहीन खाद्यसामग्री वितरण गरेको आरोपमा सुरक्षाकर्मीले कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश रायलाई हत्कडी लगाउँदै गरेको समाचार प्रकाशन/प्रसारण भइरहँदा हजुरले हलेसी तुवाचुङ नगरपालिकावासीलाई काठमाडौं उपत्यकाबाट उद्धार गर्नुभएको क्षण झल्झली सम्झिरहेको छु ।

सत्ताले राजनीतिक नेतालाई भ्रष्ट बनाउँछ भन्ने सुनेको, पढेको थिएँ । हो कि जस्तो पनि लाग्छ । कलैया उपमहानगरपालिकाका नगरप्रमुख रायले अप्ठ्यारोमा परेका नगरवासीलाई सहयोग गर्ने नाममा गुणस्तहीन खाद्यसामग्री वितरण गर्नु पनि भ्रष्ट काम हो । गुणस्तरहीन खाद्यसामग्री बाँड्नु भनेको नगरवासीको स्वास्थ्यमा खेलवाड गर्नु हो । अर्काको स्वास्थ्यमा खेलवाड गर्नु भनेको भ्रष्टाचार गर्नुभन्दा ठूलो अपराध हो । हुन त कात्रोमा समेत भ्रष्टाचार गर्नेको कमी छैन ।

कलैया उपमहानगरपालिकाका नगरप्रमुख रायलाई सुरक्षाकर्मीले पक्राउ गरिरहँदा हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले काठमाडौं उपत्यकामा रहेका नगरवासीलाई गाउँ फर्काउँदा हामी कति खुसी थियौं भनेर शब्दमा व्यक्त गर्न असमर्थ छु । खुसीमापक यन्त्र आविष्कार हुँदो हो त नापेर प्रस्तुत हुने थिएँ । हलेसी तुवाचुङ नगरपालिकाले २०७७ वैशाख ११ र १२ गते १ हजार २ सय ६७ जना नगरवासीलाई काठमाडौं उपत्यकाबाट घर फर्काएको थियो । अप्ठ्यारोमा परेका नगरवासीको वास्तविकता बुझ्न हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको जयरामपुलसम्म आइपुग्नुभएको हजुरले नगरको सच्चा अभिभावकको भूमिका निर्वाह गर्नुभएको देखेपछि आफूलाई हलेसी तुवाचुङ नगरपालिकावासी हुनुमा गौरवान्वित ठानेको छु ।

नगर प्रमुखज्यू

हजुरलाई चिट्ठी लेखिरहँदा सांसद प्रदीप गिरीलाई सम्झिरहेको छु । ‘मानिसले सबैभन्दा बढी आफ्नो जीवनलाई माया गर्छ,’ सांसद गिरीले भनेका थिए, ‘उसले आफ्नो जीवन बचाउन जस्तोसुकै संघर्ष गर्न पछि पर्दैन ।’ उनको भनाइसँग सहमत नहुने को होलान् र ? सहर पसेकाहरू कोरोना संक्रमणदेखि डराएर जीवन बचाउन गाउँ फर्केको ‘क्याराभान’ देख्दा बौद्धिक नेताका रूपमा परिचित प्रदीप गिरीको अभिव्यक्ति पैंचो लिन लोभिएको हुँ ।

नेता गिरीले भनेजस्तै काठमाडौं उपत्यकामा रहेका नगरवासीलाई ज्यानको माया लाग्ने नै भयो । नगरले उद्धार नगरेको भए हिँडेरै घर फर्कनुको विकल्प थिएन । तर, हामी भाग्यमानी रहेछौं । नगरले आफ्नै खर्चमा काठमाडौं उपत्यकामा रहेका नगरवासीलाई घर फर्कायो । घर फर्कनेमा १५ र महिना दिनका सुत्केरीसमेत थिए । उनीहरू रहरले घर फर्केका थिएनन् । काठमाडौंमा बस्ने आधार कमजोर बन्दै गएपछि नगरवासी घर फर्केका थिए । घर फर्कंदा सवारीसाधनमा देखिएको वास्तविकता त्यत्तिकै कारुणिक थियो । घर फर्काएर हाम्रो ज्यान बचाइदिनुभएकोमा कम्ती खुसी लागेको छैन । कोरोना संक्रमण त्रासले हिजोआजसमेत घर फर्कन नेपालीले गरेको दुःख सञ्चारमाध्यममा पढ्दा, हेर्दा मन अमिलो हुन्छ । काठमाडौं उपत्यकामा अड्केका खोटाङका विभिन्न पालिकावासीसँग कहिलेकाहीं टेलिफोन सम्पर्क हुन्छ । काठमाडौंमा दुई छाक खानसमेत अप्ठ्यारो पर्दै गएको उनीहरूले सुनाउँदा सिमलको भुवाजस्तो मन कुँडिन्छ । मनकारीले राहतस्वरूप दिएको पाँचदेखि १५ किलोग्रामसम्म चामल, एक किलो दाल, एक लिटर खानेतेल र एक किलोग्राम नुनले उनीहरूलाई कति दिन धान्ला ? धन्न हलेसी तुवाचुङ नगरपालिकावासीले त्यो पीडा भोग्न परेन । हामी धन्य रहेछौं ।

पालिकावासीको खातिर गरेको सन्दर्भ जोड्दै साथीभाइ तथा शुभचिन्तकले हलेसी तुवाचुङ नगरपालिकाले गरेको प्रशंसनीय कामको चर्चा गर्दा उद्धार गरिएकालाई पाथीभात खाएको अनुभूति हुने नै भयो । मोरङको टाँडीमा नेपाली सेनाले बनाएको क्वारेन्टाइनमा रहेका १८ जना नगरवासीमध्ये एकजनासँग केही दिनअछि टेलिफोन सम्पर्क भएको थियो । नगरले जीवनरक्षा गरेको भन्दै उनले खुसी व्यक्त गरेका थिए । भारतबाट फर्कंदै गरेका उनीहरूलाई टाँडीको क्वारेन्टाइनमा राखिएको थियो । टाँडीबाट उद्धारमात्रै गरेन, १८ जनालाई घर–घर पुर्याइदियो भन्दै उनले नगरको प्रशंसनीय कामप्रति सम्मान व्यक्त गरेका थिए ।

हजुरकै निर्देशनमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदेका आठ र उदयरपुरका एकजनालाई स्वास्थ्यचौकी दुर्छिमको क्वारेन्टाइनमा राखिएको समाचार काठमाडौंमै हुँदा पढेको थिएँ । भारतको सिलगुडीबाट काँकडभिट्टा हुँदै घर फर्केका ताप्ली गाउँपालिका–४ ठानागाउँ उदयपुरका कीर्तिमान नेपाली हैदेमा रहेका छोरी–ज्वाईं लालकुमार सार्कीको घरमा आश्रय लिएको सूचना पाएपछि हजुरले उदयपुरका नेपाली, आश्रय दिने परिवार र छिमेकीसहितका नौजनालाई क्वारेन्टाइन राख्न निर्देशन दिनुभएको खबर सञ्चारमाध्यममा पढेको थिएँ । उनीहरूलाई स्वास्थ्यचौकी दुर्छिमको क्वारेन्टाइनमा राख्न हुँदैन भन्नेको अनुरोध तपाईंले अस्वीकार गर्नुभएको थियो रे । त्यसपछि तपाईंसम्बद्ध पार्टीका जिम्मेवार नेताले तपाईंविरुद्ध अश्लील शब्दसहित आक्रोश पोखेको अडियो सार्वजनिक भएको रहेछ । तर पनि तपाईंले सहिदिनुभयो । तपाईंले सहे पनि तपाईंसम्बद्ध पार्टीका खोटाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिसहित भ्रातृसंगठनले तपाईंको कामको प्रशंसा गर्दै प्रेस विज्ञप्ति निकालेका थिए । त्यति भएपछि दुनियाँलाई प्रस्ट भयो होला, ‘सफा काम गर्न कानेखुसी गर्न पर्दैन । गोपनीयता चाहिँदैन । तर, गर्न खोजेको काम समुन्नत हुनुपर्छ । समस्यालाई सिरानीमुनि हालेर निदाएको अभिनय पो गर्नुहुँदैन ।’

नगरप्रमुखज्यू

कार्यकर्ताविनाको राजनीतिक नेताको परिकल्पना गर्न सकिँदैन । कार्यकर्ता नै कार्यकर्ता भए पनि सम्बन्धित नेताको सबैसँग एककिसिमको दूरी हुन्छ नै होला । अप्ठ्यारो परिस्थितिसँग जुधिरहेको समयमा तपाईंसम्बद्ध पार्टीका जिम्मेवार नेताले तपाईंलाई सघाउन सकेनन् । तर, आँधी र बाढी योग्य माझीका लागि केही होइन । आफ्नै हातका दस औंलाभन्दा नजिकका साथी कोही हुँदैनन् भनेर तपाईं जानकार हुनुहुन्छ नि होइन ?

गाउँ फर्केपछि नगरले गरेका एकपछि अर्को प्रशंसनीय काम थाहा हुँदै गयो । बन्दाबन्दी लम्बिँदै गएपछि सबैभन्दा बढी समस्या दीर्घरोगीलाई परेको थियो । नगरले दीर्घरोगीलाई घरघरै औषधि पुर्याइदिएपछि उनीहरूको मुहारमा जून उदाएको छ । उनीहरूले भन्ने गरेका छन्, ‘हामीले त औंसीमा पनि जून देख्यौं ।’

काठमाडौंबाट फर्केपछि सामाजिक होइन, भौतिक दूरी कायम गरेर जानेको र सकेको काममा फर्केका छौं । पसिनाको गीत गाउँदै खानुको आनन्द हजुरलाई पनि थाहै छ । कहिले खडेरी त कहिले कोरोना कहरले टाट पल्टेका नगरवासीलाई दृष्टिगत गर्दै बीउविहीन नगरवासी किसानलाई प्रतिघर ४ किलोग्रामका दरले बीउ बाँड्नुभएछि बीउविहीन नगरवासी त्यत्तिकै खुसी छन् । गत वर्षको खडेरीले कतिपयको बीउसमेत नभएको वास्तविकता सुन्दा कसको मन नरोला । म पनि भक्कानिए । हलेसी तुवाचुङ नगरपालिकामा संवत् २०१८ र ०३४ मा लामो समय खडेरी परेको घरकै हजुरबुवा, हजुरआमा र आमाबुवाबाट सुनेको हुँ । त्यस्तो विपत्ति सुन्दा एकादेशको कथाजस्तै लाग्थ्यो । तर, ०७६ को खडेरीपछिको अवस्था आफ्नै आँखाले देख्दा नमिठो लागिरहेको छ ।

नगरले बाँडेको बीउलाई अनिकालमा जिउ जोगाउने माध्यम बनाउन लागिपरेका छौं । तर, फौजी कीरा आतंकले कतै हाम्रो सपना फुलाउन नदेलान् कि भनेर पिरलो मान्नु त छँदै छ । चिन्ताले चितासम्म पुर्याउँछ भन्ने भनाइ प्रचलित छ । चिन्ता पनि कत्तिको गर्नु । चिन्ता होइन, चिन्तन गर्नुपर्छ भनेर जानकार छु । बाँच्न पाए हाँस्न सकिन्छ भन्ने उक्ति छ । हाँस्ने रहर पूरा गर्न नगरले पनि सघाउँदै आएको छ । नगरवासीले पनि उपाय खोज्नुपर्छ नै । गत वर्षको खडेरीले भनेजस्तो उब्जनी नभएपछि खाद्यसामग्री किनेर खानुपर्ने बाध्यता छ । परदेशमा रहेका नगरवासीका परिवार गाउँ फर्केपछि खाने मुख थपिएका छन् । कतिपयको भकारीमा एक गेडा अन्न छैन भनेर सुनाउँदा हजुरले अचम्म मान्नुहुन्न होला । बन्दाबन्दी लम्बिँदै गएपछि कतिपय व्यापारीले नजानिँदो तरिकाले खाद्यसामग्रीको मूल्य अभिवृद्धि गरेको समाचार सुन्दै, पढ्दै आएको छु । नगरले सम्भव भएसम्म ११ वटै वडामा सहुलियत दरमा खाद्यसामग्री उपलब्ध गराउन सके पलासको फूलमा सुगन्ध भेटेसरह हुने थियो ।

उही तपाईंको नगरवासी ‘म’ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्