वसन्तको सहर चीनको कुन्मिङ ठ्याक्कै खोटाङजस्तो


चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा बसेको तीन महिना बित्यो । युनान मिन्चु विश्वविद्यालयका चिनियाँ विद्यार्थीलाई नेपाली भाषा पढाउने, बेलाबेला नजिकका ठाउँमा घुम्न जाने, राति अबेरसम्म फेसबुकमा झुन्डिने र बिहान अबेरसम्म सुत्ने, चीनले विकास गरेको वी च्याटले गर्दा बुढियासँग घन्टौं कुरा गर्न पाइएको छ, कुरा गर्ने, नजिकै रहेको युनान विश्वविद्यालयबाट भर्खरै वनस्पतिशास्त्रमा पोस्ट पीएचडी पूरा गरेर नेपाल फर्किएका त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा. बाबुराम पौडेलको कार्यालय वा डेरामा गएर नेपालका नेता, नेपाली विश्वविद्यालय आदिबारे गुनासो गर्ने, तास खेल्ने यस्ता अनेक कुराले समय बिताउन सहयोग गरे ।

युनान मिन्चु विश्वविद्यालयमा चिनियाँ भाषा पढ्ने बाग्लुङका अर्जुन र पोखराका अस्टिन भाइहरूको होस्टल नजिकै छ, भेट्न, कुरा गर्न र सँगै कफी खान सकिन्छ । १५/२० मिनेट हिँडेपछि युनान प्रान्तको सबैभन्दा ठूलो अनि चीनकै ठूला एक सयभित्र पर्ने युनान विश्वविद्यालय छ, त्यहाँ सिभिल इन्जिनियरिङ पढिरहेका चितवनका उमेश सापकोटा भाइ छन्, भेट्न सकिन्छ । उमेश भाइ, बाबुराम सर, युनान विश्वविद्यालयमा लजिस्टिङ मेनेजमेन्ट पढ्ने धादिङका भाइ विश्वास श्रेष्ठ अनि कुन्मिङकै अर्को विश्वविद्यालयमा पढ्ने बुटवलका भाइ सिद्धान्त सुवेदीको साझा अपार्टमेन्ट, मेरो आवासबाट १५/२० मिनेट हिँडेपछि पुगिने । उमेश भाइ र विश्वास भाइ खान पकाउन च्याम्पियन । हरेक हप्ता बिहीबार, शुक्रबार र शनिबार बेलुका कहिले माछा, कहिले कालो कुखुराको झोलसँग हातैले मुछेर दालभात, तरकारी, अचार खान पाएपछि विदेशमा बसेको छु भन्ने कुरा भुसुक्कै बिर्सिने । शनिबार र आइतबार बिदा । बाबुराम सरहरूको त्यही अपार्टमेन्टको बरन्डामा दूध चिया अथवा कफी पिउँदै र बदाम छोडाउँदै, खाँदै मजासँग कलब्रेक खेल्न पाएपछि विदेशमा छु भन्ने कुरा कसरी सम्झियोस् ।

चीनमा बियर र चुरोट खानुपिउनु कुनै असभ्य, अभद्र कुरा होइन । ५/६ युआनमा एक बोतल बियर आउँछ, एक कप कफीलाई ६ देखि १५/२० युआन पर्छ । विश्वविद्यालय परिसर कटेपछि बियर पिउने, खाना खाने ठाउँ जति पनि छँदै छन् । ‘बोर’ लाग्दा त्यतातिर गए भइहाल्यो । युनान विश्वविद्यालयमा पढ्ने अनि चिनियाँ भाषामा समेत पारंगत भएका काठमाडौंका सुमन, सिन्धुपाल्चोकका पवन, मनाङका टासी, बुटवलका डेभिड अनि पीएचडी गरिहेका वन मन्त्रालयका उपसचिव मदन खड्का (विराटनगर) र काठमाडौंकी ज्योति कार्की, खुन्मिङ मेडिकल कलेजमा पीएचडी गरिरहेका जनकपुरका डा. प्रशान्त मिश्र, एमबीबीएस गरिरहेका सिरहाका अमन सिंह, सीतापाइलाका क्षितिज थापा, अर्को विश्वविद्यायमा आईटी पढिरेहका बाग्लुङका किरण खड्कालगायत थुप्रै नेपाली छन् । महिनाको ३०/४० युआनमा असीमित डाटा चलाउन पाउने चिनियाँ मोबाइल छँदै छ । वी च्याटमा कुरा गर्न जत्ति पनि पाइन्छ । चीन सरकारले जताततै भूमिगत मेट्रो रेल वा मेट्रो बस चलाइदिएकै छ । रुट थाहा हुनुपर्छ ८/१० युआनमा ३०/४० किलोमिटर टाढाका साथी भेट्न पाइहालिन्छ । अनि सँगै बसेर बियर पिउँदै गफ गरे भइहाल्यो ।

सडकमा हिँड्दा, विश्वविद्यालयपरिसरमा मर्निङवाक गर्दा, पसलमा सामान किन्न जाँदा भेटिने अनुहार र उनीहरूका भेषभूषामा कुनै नौल्याइँ नलाग्ने । गाडी चढ्दा होस् वा भूमिगत रेल चढ्दा, भेटिने अनुहारहरू हाम्रै चिनारू भोगीराज चाम्लिङ, दीपेन्द्र दीनदुःखी, तिलक चाम्लिङ, जीवन श्रेष्ठ, कृष्ण गुरुङ, वेदीकुमार राई, प्रतापेम्पा काका, रामधरी दिदी, मनेम्मा कोकु, पाख्रिन कान्छी, लाक्पाका बाउ, गेल्बुका बाजेजस्ता लाग्ने

चीनको युनान प्रान्तको राजधानी कुन्मिङ (चिनियाँ उच्चारण खुन्मिङ) ठ्याक्कै काठमाडौं उपत्यकाजस्तै । वरिपरि डाँडाकाँडा । कोठाबाट बाहिर निस्केर पूर्वतिर हेर्दा कुनै डाँडा रूपाकोटजस्ता देखिने, कुनै मूलडाँडाजस्तो, ठ्याक्कै मेरो घरमाथिको घुमाउने डाँडो पनि नजिकै छ । कुन्मिङलाई वसन्तको सहर भनिन्छ । हावापानी त्यति धेरै जाडो पनि छैन र गर्मी त झन् छँदै छैन । जहिलेसुकै सदावहार वसन्तजस्तै । पानी परेका बेला भने अलिक जाडो । ज्याकेट र स्वेटर भने प्रायः चाहिने । काठमाडौंजस्तो प्रदूषण नभएको ठ्याक्कै खोटाङजस्तो लाग्ने । बिहान ३, ४, ५, ६ हरेक घन्टा–घन्टामा भाले बासेको सुनिन्छ । कहिलेकाहीँ राति कुकुरहरू भुक्छन् । भालेका बासाइ अनि कुकुरको भुकाइ ठ्याक्कै नेपालको जस्तो । फरक यत्ति हो, नजिकै ठूलो बिल्डिङ बन्दै छ, रातभरि मेसिन चलेको सुनिन्छ तर त्यसको आवाज डरलाग्दो र कर्कश नभएर सुमधुर ध्वनिमा बजेको गीतजस्तै, निर्माण मेसिनबाट निस्कने मधुर संगीत सुन्दै मस्त निदाउनको मज्जालाई शब्दमा कसरी व्यक्त गर्न सकिन्छ र ?

सहप्राध्यापक धनप्रसाद सुवेदी

कक्षाकोठामा पस्छु, ‘गुरुजी नमस्कार’ भन्छन् विद्यार्थी । विद्यार्थीको अनुहार हेर्छु, उहिले दिक्तेल क्याम्पसमा पढाएका मुना राई, आभा गुरुङ, बिन्दु चाम्लिङ, इन्दु मोक्तान, सुजिता शेर्पा, अप्सरा लिम्बू, अस्मिता मगर, दीपा गुरुङ, तारा श्रेष्ठ, प्रभा प्रधानहरूजस्तै देख्छु । दसैजना छात्राले नेपाली केटीले जस्तै लामो केश पालेका छन्, कान छेडेका छन् । उनीहरूले लगाउने कपडा उस्तै छन् । उनीहरूको नेपाली लवज हाम्रा राई, तामाङ, मगर, गुरुङहरूकै जस्ता छन् । स्वभाव पनि उस्तै खुला र स्पष्ट । उनीहरू पनि आफ्नो केटा साथीको कुरा गर्दा अलि–अलि लजाउँछन् । तर, फरक यत्ति हो– लजाउँदै पनि उनीहरू भन्न सक्छन्, ‘हिजो बिदामा म मेरो केटा साथीका घर गएँ ।’ ‘यो नेकलेस मेरो केटा साथीले किनिदिएको हो ।’ ‘आउने बिदामा म मेरो केटालाई साथी मेरा घर लैजान्छु र मेरो सहर घुमाउँछु…..।’

चीनका अन्य सहरमा के–कस्ता छन् थाहा छैन तर युनान प्रान्तको कुन्मिङ सहरमा भने नेपालका धेरै कुरा मिल्दारहेछन् । निश्चय नै खानेकुराका परिकार फरक र धेरै छन् तर नेपाली स्वादसँग मिल्दाजुल्दा छन् । दाल पाइँदैन तर भात जताततै पाइन्छ । पिरो चाहेअनुसार खान पाइन्छ । मसला अलिक फरक होलान् तर प्याज, लसुन, गोलभेंडा, टिमुरको स्वाद भने उस्तै छ । नेपाल र भारतमा जस्तो प्याजको हाहाकार छैन । अलिक फरक भनेको हातले नखाने, बाँस वा धातुका सिन्का अर्थात् ख्वाइच् (चपस्टिक) ले खानुपर्ने । यस्ता केही फरक भए पनि धेरै कुरा उस्तै लाग्छन् । खाना खाँदा मस्तसँग खाने । परिवारका सदस्य वा साथीहरू वरिपरि बसेर रमाउँदै खाने । दाउराको आगो अब नेपालमा पनि कम हुँदै छ, बिजुलीको आगोमा सागदेखि काँक्राका चानासमेत पोलेर वा सेकाएर खाने चलन पनि धेरै परको नलाग्ने । माछामासु भनेपछि हुरुक्कै हुने संस्कृति धेरै टाढाको नलाग्ने । चुरोट पिउने र रक्सी खाने अलि–अलि हल्लाखल्ला पनि गर्ने कुरा हामीसँग मिल्ने नै भए ।

सडकमा हिँड्दा, विश्वविद्यालयपरिसरमा मर्निङवाक गर्दा, पसलमा सामान किन्न जाँदा भेटिने अनुहार र उनीहरूका भेषभूषामा कुनै नौल्याइँ नलाग्ने । गाडी चढ्दा होस् वा भूमिगत रेल चढ्दा, भेटिने अनुहारहरू हाम्रै चिनारू भोगीराज चाम्लिङ, दीपेन्द्र दीनदुःखी, तिलक चाम्लिङ, जीवन श्रेष्ठ, कृष्ण गुरुङ, वेदीकुमार राई, प्रतापेम्पा काका, रामधरी दिदी, मनेम्मा कोकु, पाख्रिन कान्छी, लाक्पाका बाउ, गेल्बुका बाजेजस्ता लाग्ने र कतिपटक त ‘ए, तपाईं पनि यता’ भन्न–भन्न आँट्दा पो ए म त यता चीनतिर पो छु त र उनीहरू त चिनियाँ अपरिचित मान्छे पो हुन् त भन्ने थाहा हुने र रमाइलो लाग्ने ।

विश्वविद्यालयपरिसरमा खुला ठाउँ र साना–साना ग्राउन्ड जति पनि छन् । विद्यार्थी त्यस्ता ठाउँमा सानो पाल टाँगेर वा त्यत्तिकै स्टेज बनाउँछन् र नाच्न थाल्छन् । मिन्चु विश्वविद्यालय अर्थात् जातीय विश्वविद्यालय भएकाले यहाँ विभिन्न जातिका विद्यार्थी आफ्नो भाषा, संस्कृति पढ्छन् र बिदामा वा अरू बेला औपचारिक वा अनौपचारिक गीत, संगीत, सांस्कृतिक प्रदर्शन आदि गरिरहन्छन् । ती कार्यक्रममा हेर्न गयो, नचाइ कुनै शेर्पाका जस्ता, कुनै तामाङका जस्ता, कुनै राई, लिम्बूका जस्ता, कुनै थारू वा मगरका जस्ता, कुनै गुरुङ वा थकालीका जस्ता लाग्छन्, अहँ कति पनि नौलो लाग्दैन । ढोलझ्याम्टा बजाका छन्, हातमा चमर लिएका छन् अनि गोलाकारमा एकसाथ खुट्टा चाल्दै नाचेका छन् । यस्ता कार्यक्रम हेरिरहँदा आफू काठमाडौं टुँडिखेलको सांस्कृतिक कार्यक्रमा भइरहेकोजस्तो लाग्ने ।

यसरी खानपान, भेषभूषा, नाचगान अनि भौगोलिक रूपमा धेरै समानता रहेछ चीन र नेपाल । तर जब घर, सडक, विश्वविद्यालय, बजार, सामान आदि देखिन्छन् तब भने दिग्दार लागेर आउँछ । डाँडापाखामा उसैउसै रहरलाग्दा तलैतला परेका सडक देख्दा अनि जमिनमुनि छुट्टै संसार निर्माण गरेर मेट्रोरेल चलाएको देख्दा भौगोलिक विकटताका कारण नेपालमा यातायात र विकासका अरू पूर्वाधार निर्माणमा कठिनाइ भएको भन्नेलाई घोक्र्याउँदैघोक्र्याउँदै ल्याएर ‘यी हेर’ भन्न जङ चल्छ । यो जङ चल्ने कुराबाहेक अरू कुरामा भने चीनको युनान प्रान्तमा बसिरहँदा पनि स्वदेशमै बसिरहेको छु जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्