हलेसी महादेवस्थान विकास समिति अध्यक्षमा राई, कार्यकारी निर्देशकमा भुजेल


नवनियुक्त अध्यक्ष टंक राई

हलेसी (खोटाङ) । हलेसी महादेवस्थान विकास समिति अध्यक्षमा पूर्वसांसद टंक राईलाई नियुक्त गरिएको छ । नेकपा नेतासमेत रहेका राईलाई चार वर्षका लागि समिति अध्यक्षमा नियुक्त गरिएको हो ।

अध्यक्षविहीन रहेको समितिले तीन वर्षपछि नेतृत्व पाएको हो । संवत् २०७४ जेठ ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनका लागि हलेसी तुवाचुङ नगरपालिका मेयरको उम्मेदवार बनेपछि समितिका तात्कालिक अध्यक्ष खडेन्द्र राईले राजीनामा दिएपछि समिति नेतृत्वविहीन रहेको थियो ।

‘मलाई हलेसी महादेवस्थान विकास समितिको अध्यक्ष भएकोमा बधाइ दिनुहुने सबैलाई अनुरोध छ,’ नवनियुक्त अध्यक्ष टंक राईले सामाजिक सञ्जाल फेसबुकमार्फत अनुरोध गरेका छन्, ‘ठीक काम गर्न नसकिने रहेछ भने म तुरुन्त हट्छु । सबैको सहयोग हुन्छ भने मलाई स्वीकार छ ।’

यसैगरी, समितिको कार्यकारी निर्देशकमा सम्मरबहादुर भुजेल नियुक्त भएका छन् । भुजेल दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।

कार्यकारी निर्देशक भुजेल

‘पूर्वमाननीय टंक राईको भिजन र सम्मरजीको इमानदारीले अवश्य पनि हलेसी र हलेसीवासीले नयाँ, मूर्त र दीर्घकालीन योजनाको अनुभूति गर्नेमा विश्वस्त छु,’ हलेसी महादेवस्थान विकास समिति पूर्वकार्यकारी निर्देशक रोजन राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँहरूको कार्यकाल सफलताका हार्दिक शुभकामना व्यक्त गर्छु ।’

‘दाइ टंक राई पदलाई सानो र ठूलो नभन्ने तर कामलाई सिर्जनशील तरिकाले सम्पादन गर्ने नेता हुनुहुन्छ,’ साहित्यकार बम बानियाँको भनाइ छ, ‘सम्मरजी र उहाँको कार्यकालले हलेसीको पुराना समस्या हल गर्दै खोटाङको मूल समृद्धिको ढोका हलेसी बनाउन सफल हुनुहोस् । शुभकानमा ।’

 

 

‘साह्रै खुसी लागेको छ । टंक दाइ हाम्रा अभिभावक हुन् । नेता हुन् । योजनाविद् हुन् । उहाँहरूकै पहलमा हलेसी महादेवस्थान विकास समिति गठन आदेश भएको हो,’ सितिमी मासिक सम्पादक तिलक चाम्लिङ भन्छन्, ‘त्यतिबेला उहाँहरूको हलेसी समृद्धि सपना थियो । बीचमा जे–जस्तो भए पनि अब यो समितिले भरोसायोग्य अभिभावक पाएको छ । टंक दाइलाई हलेसीमा स्वागत छ । हामी सबैका तर्फबाट बधाइ र कार्यकाल सफलताका लागि शुभकामना ।’

शिक्षासेवी तथा समाजसेवी भूपेन्द्रकुमार राईले हलेसी महादेवस्थान विकास समितिमा उपयुक्त, अपेक्षित र आस–भरोसालाग्दो व्यक्तित्व चयन भएकोमा खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्