८ वर्षीया छोराले देख्नेगरी झगडा गर्ने नेपाली दम्पती अदालतमा हाजिर



न्युयोर्कमा बसोवास गर्दै आएका एक नेपाली दम्पतीको काखैबाट छोरी खोसियो । छोरी, बालबालिका दुरुपयोग सेवा (एसीएस)ले खोसेको थियो । ती दम्पती बस्दै आएको कोठा बच्चा राख्न योग्य नभएको भन्दै उनीहरूको काखैबाट दुईवर्षे बालिकालाई एसीएसले खोसेको थियो ।

बच्चालाई राम्रो कोठामा राख्न ती दम्पतीलाई एसीसीले पटक–पटक आग्रह गरे पनि न्युयोर्कमा भन्नेबित्तिकै चाहेजस्तो कोठा पाउन मुस्किल थियो । त्यसैले एसीएसको आग्रहलाई चाहेर पनि पालना गर्न ती दम्पतीलाई सकस परेको थियो । कोठा खोज्ने काम भइरहेकै बेला एसीएसले उनीहरूको छोरी खोसेको थियो । दुईवटा कोठा, एउटा किचन कोठासहित एट्याच बाथरुम भएको कोठामा बस्दै आएका ती दम्पतीका छोरी एसीएसले खोसेपछि, बच्चालाई आवश्यक पर्ने वातावरण भएको कोठामै राख्ने वाचा गरेपछि उनीहरू आफू बस्दै आएको अपार्टमेन्ट छाडेर साथीकहाँ बस्न थाले ।

अमेरिकामा बालबालिका लिन जाँदा समयमै विद्यालय पुग्नुपर्छ । दुईपटकसम्म बालबालिका लिन ढिला पुगे क्षमा पाइए पनि तीनपटकदेखि क्षमा पाइँदैन । बच्चा लिन विद्यालय पुग्न तीनपटक ढिला गरे प्रहरी बोलाएर बच्चा दिने अभिभावकलाई विद्यालयले धम्की दिने गर्छ ।

आठवर्षे छोराको अगाडि झगडा गर्दा अर्का नेपाली दम्पतीले वर्ष दिन अदालत धाउनुपरेको थियो । अदालत धाउनुका साथै ती दम्पतीलाई बालअधिकारसम्बन्धी तालिम दिइएको थियो । बच्चा पिटेको भन्दै नेपाली दम्पतीले अमेरिकामा सजाय पाएको थुप्रै उदाहरण छन् ।

ठूलालाई सम्मान र सानालाई जे गरे पनि हुन्छ भन्ने संस्कारमा हुर्केका नेपाली बाबुआमाले बालअधिकारको बेवास्ता गर्दा अमेरिकामा सजाय पाउने नेपाली दम्पती पनि कम छैनन् । कानुनबमोजिम अभिभावकले बालबालिकाको पालनपोषण नगरेमा उनीहरूलाई नियन्त्रणमा लिई बच्चा पाल्न इच्छुक र सक्षम व्यक्तिलाई ती बालबालिका दिने अधिकार अमेरिकी सरकारले एसीएसलाई दिएको छ ।

यहाँका बालबालिकालाई बाल्यावस्थामै बालअधिकाबारे दीक्षित गरिएको हुन्छ । तसर्थ, यहाँका बालबालिकाले आफ्नो अधिकार हनन भएको अनुभूति गर्नसाथ आफैंले प्रहरी बोलाएर अधिकार हनन गर्ने अभिभावकलाई दण्डित गर्ने गर्छन् ।

अमेरिकाको बालबालिकासम्बन्धी कानुनमा बालबालिका बस्ने ठाउँ उज्यालो हुनुपर्छ । स्वच्छ हावा चल्ने फराकिलो कोठा हुनुपर्छ भने खानेकुरा पोषणयुक्त र ताजा नभई हुँदैन । खानेकुरा ताजा र रेफ्रिजिरेटरमा राखिएको हुनुपर्छ । कोठाको भित्ता चर्केको हुनुहुँदैन । कोठाको भित्ता चर्केको भएमा बालमनोविज्ञानमा नकारात्मक असर पर्ने भएकाले भित्तासमेत सफासुग्घर राख्नुपर्छ । त्यतिमात्र होइन, बच्चालाई पिट्न त परै जाओस् उनीहरूका अगाडि नराम्रो शब्द बोल्न, धूमपान, मध्यपान र झगडा गर्नसमेत बन्देज लगाइएको हुन्छ ।

बालबालिकालाई समयमा विद्यालय पुर्याउने र लिन जाने गर्नुपर्छ । एघार वर्षसम्मका बालबालिकालाई एक्लै हिँडडुल गर्न रोक लगाइएको छ । तर, सो उमेर समूहका बालबालिकालाई अभिभावकसँग हिँडडुल गर्न भने छुट दिइएको छ । एघार वर्षसम्मका बालबालिकालाई एक्लै हिँडडुल गरेको भेटिएमा कानुन उल्लंघन गरेको ठहर्याइ गल्तीको प्रकृति हेरेर बालअधिकारसम्बन्धी तालिम, तारिख धाउने, जेल चलान र बच्चा नियन्त्रण गर्ने गरिन्छ । बालअधिकार हनन गर्नेलाई सजायमात्र होइन संरक्षण र प्रवद्र्धन गर्ने सयन्त्रको अमेरिकी सरकारले पनि व्यवस्था गरेको छ । यहाँ माध्यमिक तहसम्मका विद्यार्थीलाई खाना, खाजाको साथै निःशुल्क शिक्षा तथा स्वास्थ्य व्यवस्थासमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्