महाकुलुङको महादुःख



सोेलुखुम्बुको उत्तर–पूर्वी भेगमा पर्छ– महाकुलुङ । साबिक छेस्खाम, बुङ र गुदेल गरी तीन गाविसलाई महाकुलुङ भन्ने गरिन्छ । जातीय पहिचान, मातृभाषा, भेषभूषा, संस्कार, संस्कृति, रीतिरिवाज आदिमा सचेत महाकुलुङका कुलुङ समुदायमा दुःखद कथा–व्यथा धेरै छन् । आधुनिकतासँग जोडिएर आएका भौतिक निर्माणका वस्तुलाई तिलाञ्जली दिने हो भने महाकुलुङका कुलुङ जस्तो अवस्थामा रमेका छन्, त्यसैलाई सुखद मान्दा फरक पर्दैन ।

काठमाडौंदेखि जसोतसो सोलुखुम्बु सदरमुकाम सल्लेरीसम्म घिस्रँदै दुई दिन (उस्तै पर्दा तीन दिन) लगाएर भए पनि जीप र बस गुड्छ । पहिले महाकुलुङका कुलुङ सल्लेरीबाट फेरि तीन दिन पैदल हिँड्नुपथ्र्यो । सोलुखुम्बुमा नेपालकै सबैभन्दा धेरै विमानस्थल (तेङ्बोचे, लुक्ला, फाप्लु र काँगेलडाँडा) रहेका छन् । चारै विमानस्थल प्रयोग गर्दा पनि महाकुलुङका कुलुङले लगभग तीन दिन त पैदल हिँड्थे ।
स्व. डा. हर्क गुरुङका अनुसार कुनै पनि जातिको जाति हुने पहिलो आधार भनेको उसको मातृभाषा हो । यस हिसाबले हेर्दा कुलुङको अन्य जातिजस्तै अलग्गै मातृभाषा छ, भाषिका पनि छ । ऐतिहासिक र परम्परागत भूमि महाकुलुङ पनि छ । आदि–अनादिकालदेखि कुलुङ जातिले मान्दै र गर्दै आएका जीवन्त संस्कार, संस्कृति छ, रीतिथिति छ, रहन–सहन छ, कला छ, भेषभूषा छ । जसरी अरू समुदायमा आफ्नै जातिभित्र बिहेवारी गर्न थर उपथर छ, त्यसरी नै कुलुङभित्रै १ सय ४० बढी थर उपथर छन् । तर पनि कुलुङ नेपालका अन्य जातिसरह अलग्गै जाति हुन सकिरहेका छैनन् ।

कुलुङ समुदायमा भाषा, संस्कार, संस्कृति, रीतिरिवाज, भेषभूषा, कलाप्रति कति सचेत छन् भन्नेबारे सल्लेरीस्थित सोलु एफएममा कार्यरत छेस्खामका जोकराज कुलुङ आफ्नो अनुभव सुनाउँछन्, ‘एकपटक सल्लेरीबाट गैरआदिवासी मुलका व्यक्ति महाकुलुङका कुलुङ जातिबारे सोधखोज गर्न पुगे । त्यसक्रममा स्थानीय कुलुङ बूढापाकासँग कुराकानी हुँदा ती गैरआदिवासीले कुलुङ बूढापाकालाई नेपाली भाषामा बोल्न आग्रह गरे । त्यसपछि कुराकानीक्रममा उपस्थित कुलुङ बूढापाकामध्ये अलि–अलि नेपाली भाषा जान्ने एकले ‘त्यही त नेपालीमा’ भन्दै पुनः बाँकी कुरा कुलुङ भाषामै बोले ।’ यसरी पटक–पटकको आग्रहमा पनि कुलुङ बूढापाकाले त्यही त नेपालीमा भन्दै कुलुङ भाषामै बोलिरहेपछि र नेपाली भाषामा दोहोरो कुराकानी गर्न नसकेपछि तिनी ‘वास्तवमै कुलुङ जातिमा मौलिकता बाँकी रहेछ । जीवन्तता बाँकी रहेछ । कुलुङ जातिको संस्कार, संस्कृति जिउँदै रहेछ । कुलुङ आफ्नो भाषा, संस्कार, संस्कृति र अपनत्वप्रति जिम्मेवारीवोध गर्दा रहेछन् भनी कुलुङ समुदायप्रति नतमस्तक भएछन् ।

महाकुलुङको विकासले गति लिन नसक्नुमा कसको दोष छ ? नेपाल किरात कुलुङ विद्यार्थी संघ (सेस्मो खम) का जिल्ला अध्यक्ष रामकुमार थिम्रा कुलुङ भन्छन्, ‘भौगौलिक रूपमा महाकुलुङ एकदमै कुनामा पर्नु, पञ्चायत, प्रजातन्त्र र हालसम्म पनि यहाँका कुलुङ अन्य समुदाय र राजनीतिक पार्टीको भोट बैंक मात्र बन्नु, शैक्षिकस्तरमा पछाडि पर्नु, कुलुङबाट हालसम्म क्षेत्रीय सदस्यभन्दा माथिको राजनीनिक हैसियत बनाउन सक्ने राजनीतिक नेता निक्लन नसक्नु हो भन्छन् ।’

महाकुलुङमा विकासले गति लिन सकेको छैन । यहाँका युवापुस्ता भने आफ्नो गाउँठाउँको विकासका लागि लागिपरेको नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (कुलु गुस खोम) का जिल्ला अध्यक्ष तथा छेस्खामस्थित मावि शिक्षक किशोर छाप्दुलु कुलुङ बताउँछन् । हुन पनि उनकै पहलमा महाकुलुङ संग्रहालयका लागि आर्थिक वर्ष २०६८/०६९ मा जिविस सोलुखुम्बुबाट पाँच लाख रुपैयाँ निकासा भई छेस्खाममा महाकुलुङ संग्रहालय भवन ठडिसिकेको छ ।

साबिक छेस्खाम–१ का पुराना र चल्तापुर्जा गाउँस्तरीय कुलुङ समुदायका नेता तथा समाजसेवी नरमान ङोपोचो पञ्चायतकालमा हुने विभिन्न निर्वाचनमा भोट माग्न आउने तल्लो भेगका विभिन्न समुदायका नेता तथा कार्यकर्ताले कुलुङ समुदायलाई हेपेर ‘आयो है कुलुङे भाङ्ग्रेको गाउँ’ भनेको शब्द हिजोआज पनि झल्झली सम्झन्छन् । कुलुङलाई हेपेर वा कुलुङे भाङ्ग्रे भन्नेलाई नै कुलुङले भोट दिएर जिताएकोमा भने उनी अचम्म मान्छन् । उनी भन्छन्, ‘तर, महाकुलुङका अहिलेका पुस्तामा धेरै चेतना आइसकेको छ, जागरण आइसकेको छ । आजका कुलुङ युवकयुवती राजनीतिक रूपमा गाउँस्तरमा भए पनि कोही न कोही कुनै न कुनै राजनीतिक पार्टीमा लागेका छन् ।’ कुलुङका लागि परिआए एकजुट भएर युवकयुवती ज्यान दिन तयार हुन्छन् । उनी थप्छन्, ‘अबका युवापुस्ताले निश्चय नै महाकुलुङलाई जिल्लास्तरमा मात्रै नभएर राष्ट्रियस्तरमा चिनाउने र विकास निर्माणपथमा डोर्याउनेछन् ।’

समाजशास्त्रीय भाषामा ‘इन्डोग्यामस’ भनिने कुलुङ जातिको मात्रै एकल जातीय बसोवास कसरी सम्भव भयो ? नेपालको सन्दर्भमा मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्रीलगायत अन्य खोज, अनुसन्धानकर्ताका लागि रोचक विषय हुन सक्छ । त्यसो त मानव सभ्यता ढुंगेयुग हुँदै सिकारी अनि कृषि हुँदै औद्योगिक युगमा प्रवेश गरेको छ । केही समयअघिसम्म कुलुङ समुदायका मानिसले आफ्नो समुदायलाई चाहिने कृषिजन्य घरायसी सामान बनाउने गर्थे । सिकार खेल्न चाहिने बन्दुक, भाला आदि अनि कृषिका लागि चाहिने कोदालो, कुटो, फाली त्यस्तै घरायसी प्रयोगका भाँडाकुँडा उनीहरूभित्रकै विभिन्न थरका कुलुङले नै बनाउँथे । तर, कुलुङ जातिमा कामकै आधारमा छुवाछूत प्रचलन थिएन । पहिले महाकुलुङअन्तर्गत गुदेल चाचालुङबाट बुङ झरेका रामकाजी सेन्चुरी विकले चाचालुङमा मोरोखु थरका कुलुङले बटुका बनाएको आफूले देखेको पंक्तिकारलाई बताए ।

प्रश्न उठ्छ, के महाकुलुङमा साँच्चै केही सम्भावना छैन त ? अवश्व छ । यहाँ सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना छ । अर्को सम्भावना भनेको जडीबुटी हो । सिस्नो÷अल्लो खेती गरेर स्थानीयस्तरमा कपडा उत्पादन गरेर स्वदेश तथा विदेशमा निर्यात गर्न सकिने सम्भावना त्यत्तिकै बलियो छ । परम्परागत ढंगले उत्पादित अल्लोबाट बनेको कपडा प्रयोगबाट आधुनिक ढंगले उत्पादित कपडाको जस्तो रासायनिक असर नहुने र दसौं गुना टिकाउ हुन्छ । अल्लोबाट बनेको कपडा युरोप र अमेरिकामा राम्रो माग छ ।

निश्चय नै महाकुलुङका कुलुङले समयको भेलसँग हेलिँदै छन् । यहाँ समुदायले विभिन्न एनजीओ/आईएनजीओसँग मिली विकासका विभिन्न काममा लागिगरेका छन् । त्यसमध्ये अमेरिकी नागरिकले खोलेको आईएनजीओ जी फाउन्डेसनसँग मिलेर महाकुलुङमा रहेका स–साना खोलानालाबाट लघुजलविद्युत् उत्पादन गरी अधिकांश गाउँमा बिजुलीबत्ती बालिएको छ । गाउँको विकास हुन स्थानीय समुदाय शिक्षित हुनु पहिलो सर्त हो । महाकुलुङमा शिक्षित कुलुङको जमात बढ्दै छ । कतिपय युवकयुवती आफूले पढेको स्थानीय विद्यालयमा शिक्षक–शिक्षिका भएर अध्यापन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्