संवत् २०४८ सालतिर हुनुपर्छ, म आमाको पछि लागेर गाउँघर हिँडेको । घरदेखि मास्तिर भारतीय सेना पाब्काइँला चन्द्रबहादुर राईको घर । गाउँमा विद्यालय स्थापना गर्न मिहिनेतपूर्वक लागिपरेका समाजसेवी राईको आँगनबाट पूर्वतिर सोझिएर सात सय पाइला हिँडेपछि छिमेकी साबिकको गाउँ विकास समिति र देवीथान चारसल्ले आलुबारी जंगल पुगिन्छ । आलुबारी पुग्नुभन्दा ५० पाइला पश्चिममा सिम्बले बाजेको घर पर्छ ।
घरमा बाजे र बज्यैमात्रै बस्थे । ८०/८५ वर्षको बुढ्यौली उमेर । उनीहरू निःसन्तान । एक चपरी जग्गा–जमिनसमेत नभएको सुकुम्बासी । घर बनाएर बसेको जग्गा मोहनबहादुर राईको हो । त्यो पनि मोहनबहादुरकै साइँला छोरा धनीराम राईको नाममा आएको छ । उनीहरू दाम्ली, खोटाङकै पहिलो सुकुम्बासी ।
दसैं नजिकिँदै गएपछि घाँस–दाउराको जोहोमा जुट्नुपर्थ्यो । बिहान उठ्नेबित्तिकै केराबारी, बडहरे, खन्ड्याउलाखोला, सिमलटार, ढाँडे त कहिले महुरेतिर घाँस काट्न पुग्नुपर्थ्यो । उज्यालो भुइँमा खस्दा नाम्लो कस्ने र कचिया बोकेर जंगल झरिसकिन्थ्यो । साढे ८ बजेतिर घाँस भारी पुर्याएर सक्नेले ११ बजे, नसक्नेले १२ या १ बजे घाँसको भारी बोकेर घर पुग्थे ।
खाना खाइसकेपछि दाउराको जोहोमा जंगल पुगिन्थ्यो । दाउराका लागि त्यति टाढा जानु पर्दैनथ्योे ।
घरको सदस्य संख्याका आधारमा काम बाँडफाँड हुन्थ्यो । कोही गोठालो । कोही पानीतिर त कोही मेलापात । म भने दाउरा खोज्ने काममा थिएँ ।
मेरी आमा सिग्रेट खान्थिन् । भोर्लाको पातमा बेरेको सुल्फा । भोर्लाको पातमा सुर्ती राखेर बेर्नुलाई सुल्फा भनिन्छ । त्यसमा चुरोटजस्तै फिल्टर हुँदैन । तर, अगुल्टोमा झोसेर तानेपछि बादल आकृतिमा आनन्दको धुँवा निस्कन्छ । १३/१४ वर्षको उमेरमा केही समय लुकेर मैले पनि सुल्फा खाएको छु । त्यो पनि विशेषतः गोठालो जाँदा । वर्षायाममा पानीबाट ओतिँदै सिग्रेट खानु त्यत्तिकै आनन्द लाग्थ्यो ।
एक दिन सुल्फा सल्काउन सिम्बले बाजेको घरभित्र पस्दा दुवैजना बिरामी परेर लम्पसार परेको आमाले देखिन् ।
आमाले सोधिन्, ‘आस्याल्वङ आडुङ्चिमी (कहिलेदेखि बिरामी पर्नुभएको ?)’
बाजे त बोल्न सक्ने अवस्थामा थिएनन् । असाध्यै गाह्रो मानी–मानी साउती मारेजस्तै गरेर बज्यैले भनिन्, ‘क्वल साता डुम्मे साइँली ।’ भनाइको मतलब उनीहरू एक सातादेखि बिरामी परेका रहेछन् । ओखतीमुलो कसले गरिदिने । घरमा खानेकुरासमेत थिएन । बाजेबज्यैको दुर्दशा देखेपछि आमाले भनिन्, ‘जाचाम या आब्वङ्ची स्याम खोले जुचिस ह्वाला ? अर्थात् खानेकुरा पनि छैन रहेछ । खोले खानुहुन्थ्यो होला नि ?’
आमाको कुरा सुनेर बज्यैका आँखामा आँसु टिलपिल भए । मलाई बाजेबज्यैको घरमा बस्न लगाएर आमा घर फर्किन् । आमाले पटुकामा एक माना च्याँख्ला ल्याइन् । त्यसको खोले पकाएर खुवाइन् । त्यसपछि आमा र म दाउरा खोज्न जंगल गयौं । मैले बोकेको दाउरा बाजेबज्यैलाई छाड्यौं । आमाले सिम्बले बाजे र सिम्बलेनी बज्यै आफ्नै बुवाआमाजस्तै लाग्छ भन्थिन् ।
सप्पै–सप्पैको घरमा दसैं आयो । घाँस, दाउरा भण्डारणपछि माइत, मावला, ससुराली हिँड्न, डुल्न पाइने भएकाले घरकाले दसैंअघि १० देखि १५ दिन घाँस दाउराको जोहोमा लाग्नुपथ्र्याे । हाम्रो घरमा समेत सप्पै–सप्पै व्यवस्थापन भइसकेको थियो । तर, पापा र काकाले ल्याउनुपर्ने दसैं ल्याइपुर्याएका थिएनन् । महत्वपूर्ण दसैं त पापा र कान्छा काकासँगै थियो । पापा र कान्छा काकामात्रै होइन, गाउँलेहरू सिरानघर भेना, साँगुरी काइँला, आँपटारे जेठा, तिर्पा पाब्कान्छा, देवीबहादुर पाब्जेठा, कारबारी कान्छा, साउनेली कान्छाहरू सप्प–सप्पैको दसैं उनीहरूसँगै थियो । उनीहरू आइपुगेपछि घरको र केटाकेटीको दसैं आउँथ्यो ।
मेरा लागि दसैंमा कस्तो लुगा आउला ? जुत्ता नभए पनि चप्पल त पक्कै लगाउन पाइन्छ ! बालखमा खानु, पिउनुभन्दा बढी नयाँ चिज लगाउने रहर हुन्थ्यो । त्यो अवसर दसैंले मात्रै दिन्थ्यो । यति रहर पूरा गर्न पापाहरूले कटारीबाट ढाड पिल्सिने गरी ढाकर बोकेर सोलुखुम्बुको सल्लेरी र जुबु, खोटाङको ऐंसेलुखर्क, बाक्सिला, सुङ्देल, बुइपा, अर्खाैले, ओखलढुंगासम्म पुग्नुपथ्र्यो । अनि आवश्यकताअनुसार नुन, तेल, चामल, मरमसला, लत्ताकपडासहित दसैं खर्च बोकेर घर फर्कन्थे ।
झन्डै–झन्डै महिना दिनपछि पापा घर आउँथे । पापा घर आइपुगेपछि बल्ल दसैं भित्रिन्थ्यो । ती खुसीहरू हिजोआज बेपत्ता छन् । ‘हाम्रा लागि त पापाले खुसी ल्याइदिन्थे,’ हिजोआज गम्भीर हुन्छु, ‘तर, ८० काटेका सिम्बले बाजे र सिम्बलेनी बज्यैले दसैंलगायत चाडबाड कसरी मनाउँथे होलान् ?’