खानेकुरा अभाव भएपछि बसाइँ सर्ने चरा



मौसमअनुसार चराहरू ठूलो संख्यामा धेरै लामो दूरी पार गरेर एक ठाउँबाट अर्को ठाउँसम्म जाने गर्छन् । हिउँदयाममा नेपालमा पनि साइबेरियाजस्तो चिसो ठाउँबाट हजारौंको संख्यामा चरा आउने गरेको त हामीलाई थाहै छ । विभिन्न प्रजातिका यस्ता चरा गर्मी मौसम लागेपछि पुनः आफ्ना पुरानै वासस्थानतर्फ फर्किन्छन् । संसारमा पाइने १० हजार चराका प्रजातिमध्ये लगभग १८ सय प्रजाति लामा–लामा दूरीसम्म बसाइँ सर्ने गर्छन् ।चरा सामान्यतया अत्यधिक चिसो वातावरणबाट बच्नका लागि जाडो ठाउँबाट अस्थायी रूपमा बढी तापक्रम भएका स्थानतर्फ बसाइँ सर्छन् भन्ने आमबुझाइ रहेको छ । तर, वैज्ञानिक मान्यताअनुसार यो मात्र बसाइँ–सराइका कारण होइन ।

चरा वातावरणीय अनुकूलताका अलावा खानेकुराको अभावलाई सामना गर्नसमेत बसाइँ सर्ने गर्छन् । अत्यधिक चिसो तापक्रम भएका स्थानमा चराका लागि खानेकुरा पर्याप्त मात्रामा पाइँदैन । जसले उनीहरूको प्रजनन क्षमतामा समेत प्रतिकूल असर पार्छ । यसले गर्दा उनीहरू आफूलाई धेरै सहज हुने ठाउँतिर बसाइँ सर्छन् ।

चराको बसाइँ–सराइ मान्छेका लागि लामो समयदेखि रहस्य र कौतूहलको विषय रहँदै आएको छ । कैयौं प्राचीन तथा धार्मिक ग्रन्थमा यस्ता फिरन्ते चराबारे उल्लेख गरिएको पाइन्छ । बाइबलमा ‘स्वर्गका चरा सन्देश बोकेर लामो यात्रा गर्छन्’ भनिएको छ । हाम्रो परम्परामा पनि परेवा र कागजस्ता चराले ‘सन्देशवाहक’को जस पाउने गरेका छन् । चराको बसाइँ–सराइसम्बन्धी अनौठा बानीसम्बन्धमा वैज्ञानिकमाझमा पनि बहस चल्दै आएको छ । चराले आफ्ना यात्राक्रममा धेरै लामा दूरी पार गर्छन् र धेरै प्रजातिका चरा पटक–पटक विभिन्न समयमा एउटै ठाउँको भ्रमण गर्न रुचाउँछन् । यसरी हजारौँ माइलको यात्रा गर्नेक्रममा उनीहरूले कसरी पहिलेदेखि हिँड्ने गरेको बाटो पहिल्याउँछन् भन्ने कुरा पक्कै पनि एउटा कौतूहलको विषय हो । अनन्त फैलिएको आकाश तथा समुद्रमा आफूले हिँड्नुपर्ने बाटो तथा गन्तब्यतर्फको दिशा पहिल्याउनु साँच्चिकै चुनौतीको विषय हो ।

मान्छेलाई दिशा पत्ता लगाउन विभिन्न उपकरण जरुरत पर्छ । आकाशमा उडिरहेको जहाज विमानस्थलसँगको सम्पर्क टुटेमा अथवा दिशा बताउने प्रणालीमा खराबी आएमा आकाशमै हराउन सक्छ । तर, चरा हजारौं माइल दूरी सजिलै पार गरेर आफ्नो गन्तव्यमा पुग्छन् ।
चराले लामो दूरी तय गर्न ठ्याक्कै यही कौशलको प्रयोग गर्छन् भन्ने कुरा प्रस्ट नभए पनि केही कुरामा धेरै वैज्ञानिक सहमत छन् । वैज्ञानिकहरूका अनुसार उनीहरूले प्राकृतिक रूपमा प्राप्त केही दक्षता उपयोग गर्छन् । यसमा दृष्टि, श्रवण शक्तिको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक दृश्य, कुनै खास आवाज वा गन्ध, खोलानालाको बहाव इत्यादि, चराको यात्राका सामान्य मार्गदर्शक हुन् । यसका अलावा दिनमा सूर्य तथा रातमा चन्द्रमा, ताराका अवस्थितिबाट पनि उनीहरूले आफ्नो बाटो पहिल्याउँछन् । धेरै फिरन्ते चरामा पृथ्वीको चुम्बकीय क्षेत्र पहिचान गर्ने खुबी रहेको हुन्छ । यसका लागि उनीहरूको मस्तिष्कमा हुने म्याग्नेटाइट नामक चुम्बकीय रसायनले मद्दत गरिरहेको हुन्छ । यही क्षमताका कारण परेवालाई घरबाट कैयौं माइल टाढा लगेर छाडिदिए पनि फर्किएर घरैमा आइपुग्न सक्छ ।

चराविज्ञ ओल्फ्ग्या बिस्गोले रोविन चरामाथि गरेको अध्ययनले देखाएअनुसार यस्ता चराले कृत्रिम चुम्बकीय क्षेत्रप्रति पनि प्रतिक्रिया जनाउने गर्छन् । त्यसकारण फिरन्ते चरा अध्ययनका लागि राडारका साथै चुम्बकीय प्रविधिको पनि उपयोग हुन्छ ।

पहिलोपटक यात्रा गर्ने बच्चा चरा आफ्ना माउसँग पछि लागेर उड्ने गर्छन् । फिरन्ते चराको ठूलो बथानले उनीहरूलाई सुरक्षित तरिकाले आफ्नो गन्तव्यमा पुर्याउँछ । आफैं तम्सिएर सफरमा निस्कने तथा उड्दाउड्दै हुलबाट बाहिरिने नयाँ यात्री भने बाटो पहिल्याउन नसकेर बीचमै हराउन पुग्छन् । उनीहरू आफ्नो समूहको गन्तव्यमा पुग्न असफल हुन्छन् ।

चरामा विनाविश्राम सयौं माइल यात्रा गर्ने क्षमता हुन्छ । यसमा उनीहरूका दह्रा पखेटा तथा बलिया फ्लाइट मसल्सले सहयोग गरिरहेका हुन्छन् । यसका अलावा उनीहरूको श्वासप्रश्वास प्रणाली पनि उडानको आवश्यकता अनुकूल विकसित भएको हुन्छ । चराले एक त धेरैपटक श्वास फेर्छन् भने अर्कोतर्फ हावाबाट अक्सिजन ग्यासलाई छानेर लिने क्षमता अन्य कुनै पनि प्राणीभन्दा उनीहरूमा धेरै हुन्छ । यसरी प्राप्त हुने पर्याप्त अक्सिजनले तीव्र गतिमा खानेकुरा टुक्रा पारेर उड्न चाहिने यथेष्ट ऊर्जा प्रदान गर्छ । साथसाथै चराको फोक्सोमा हुने हावाका थैलीले उनीहरूलाई हावामा तैरिन सजिलो बनाइदिन्छन् ।

चराको बसाइँ–सराइ जैविक विविधताका लागि महत्वपूर्ण कुरा हो । आगन्तुक चराले हाम्रो देशको जैविक विविधतामा निकै योगदान पुर्याइरहेका छन् । उनीहरूले प्राकृतिक सौन्दर्य बढाउनेमात्र नभएर, चरा अध्ययन गर्न रुचाउनेका लागि पनि सजिलो बनाएका छन् । त्यसकारण यस्ता प्राकृतिक ‘पर्यटक’का लागि अनुकूल वातावरण बनाउन उनीहरूका वासस्थान तथा जलाशय संरक्षण, सम्बद्र्धन गर्नु हामी सबैको कर्तव्य हो । साथै चरा सिकार निरुत्साहित गर्दै लैजान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्