काँग्रेस गाउँ कार्यसमिति सचिवदेखि जिल्ला उपसभापतिसम्म



पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा हस्ताक्षरित नेपाली काँग्रेसको साधारण सदस्यता हात पर्यो । साधारण सदस्यता पाउँदा उनी कम्ती खुसी थिएनन् । खुसीमापक यन्त्र आविष्कार हुँदो हो त उनले नापेर देखाइदिन्थे ।

यो संवत् २०५० तिरको कुरा हो । त्यसताका दुर्गबहादुर राई साबिक मंगलटार गाउँ विकास समिति अध्यक्ष थिए । अत्यधिक बहुमत पाएर काँग्रेस खोटाङ उपसभापतिमा नवनिर्वाचित इवन राईले पूर्वप्रधानमन्त्री कोइरालाद्वारा हस्ताक्षरित नेपाली काँग्रेसको साधारण सदस्यता बुवा दुर्गबहादुर राईबाट पाएका थिए । काँग्रेस खोटाङ उपसभापतिमा नवनिर्वाचित राई त्यतिबेला आठ कक्षामा पढ्थे ।

अध्ययनले निरन्तरता पाएकै थियो । विद्यार्थी राजनीतिमा सक्रिय सहभागिता जनाउनु बाध्यता होइन रहर । विद्यार्थी राजनीतिमा सक्रिय उनी संवत् ०६४ बाट भने पार्टी राजनीतिमै सक्रिय रहे । पारिवारिक वातावरण राजनीतिक थियो । त्यसो त उनले पीपलडाँडा माध्यमिक विद्यालय मंगलटारमा अध्यापन गर्थे । उनले १० वर्ष अध्यापन गरे ।

शिक्षण पेसाले ‘पोलिटिकल करिअर’ उँभो लगाउन सघाउ पुर्यायो । ०६४ देखि ०६५ सम्म काँग्रेस गाउँ कार्यसमिति सचिवको भूमिका निर्वाह गरे । भूमिकाले भूमिका खोजेपछि उनी अगाडि बढ्दै गए । पाएको भूमिका कुशलतापूर्वक निर्वाह गरे । क्रमशः भूमिकाको जिम्मेवारी बढ्दै गयो । पाएको गह्रौं भूमिकाले उनलाई परिपक्व बनाउँदै लग्यो । १८ वर्षे राजनीतिक यात्रामा पछाडि फर्केर कहिल्यै हेर्न परेन ।

राजनीतिक परिवारमा हुर्केको व्यक्ति । राजनीतिक चेतना धेर–थोर थियो नै । ०६७ मा काँग्रेस खोटाङ जिल्ला कार्यसमिति सदस्यको भूमिका थपियो । त्यसपछि संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हाले ।

क्रमशः फेरिँदो भूमिका । उनी काँग्रेस खोटाङ क्षेत्र नम्बर १ को क्षेत्रीय सचिवमा चयन भए । ०६५ देखि ०६७ सम्म क्षेत्रीय सचिवको पदीय दायित्व निर्वाह गरे । उनी ०७२ देखि क्षेत्रीय सभापतिको नेतृत्वदायी भूमिकामा थिए । केही समयअघि क्षेत्रीय सभापतिको भारी बिसाउनासाथ काँग्रेस खोटाङ जिल्ला कार्यसमिति उपसभापतिमा निर्वाचित भए ।

‘राजनीतिमै ‘करिअर’ बनाउँछु भन्ने लागेको थियो,’ हलेसी तुवाचुङ नगरपालिकाको नगर प्रमुखसमेत रहेका उनले जानकारी गराए, ‘राजनीतिक संस्कारमा हुर्केकाले आकर्षक अवसर र शिक्षण पेसा छाडेर राजनीतिमा समर्पित छु ।’

नवनिर्वाचित उपसभापति राईले संवत् ०५४ को स्थानीय निकाय निर्वाचनमा पहिलोपटक मतदान गरेका थिए । ‘त्यतिबेला मध्यरातसम्म घरदैलो अभियानमा हिँडेको हिजैजस्तो लाग्छ । आफूले हिँहिसकेको बाटोको असाध्यै माया लागेर आउँछ,’ उनले पुछारमा सुनाए, ‘त्यसैले त म राजनीतिक यात्रामा हिमालसरी अग्लिँदै छु । मलाई मेरो राजनीतिक यात्राको हिमाल थाहा छ । पहाड थाहा छ । र थाहा छ, मेरो राजनीतिक यात्राको तराई पनि ।’

सबै तस्बिर : दीपेन्द्र राई

प्रतिक्रिया दिनुहोस्