हलेसी गुफामा ढुंगा खसेपछि सेनाद्वारा सरसफाइ


तस्बिर सौजन्य : सर्वधन बस्नेत

हलेसी (खोटाङ) । गोरखनाथ गण मुडे, व्यारेक गणपति प्रमुख सेनानी नरोत्तम पौडेल नेतृत्वका नेपाली सेनाले हलेसी गुफा र खोक्चिलिपा बुक्टो (बसाहा गुफा)को सरसफाइ गरेका छन् ।

गोरखनाथ गण मुडे व्यारेक गणपति पौडेल नेतृत्वका सेनाले हलेसी गुफा र खोक्चिलिपा बुक्टोमा रहेका रूखका जरा बढ्दै गएपछि चोइटिएका ढुंगा हटाएका हुन् । रूखका जरा बढ्दै जाँदा दुवै गुफाका भित्तामा रहेका ढुंगा चोइटिएर झर्न थालेपछि नेपाली सेनाले भदौ १८ गते बिहान ११ देखि साँझ ५ बजेसम्म त्यस्ता ढुंगा र रूखका जरा हटाएको हलेसीका युवा नेता सर्वधन बस्नेतले जानकारी गराए ।

हलेसी गुफा र खोक्चिलिपा बुक्टो सरसफाइमा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको समेत उपस्थिति रहेको थियो ।

गुफाभित्र नियमितजसो सरसफाइ गरिए पनि दुवै गुफाका चोइटिएका ढुंगा र रूखका जरा पहिलोपटक सरसफाइ गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए ।

‘गोरखा भूकम्प (२०७२) जाँदा हलेसी गुफामा ढुंगा खसेको थियो,’ नगरप्रमुख राईले भने, ‘गत असारमा समेत त्यसरी नै ढुंगा खस्यो । निषेधाज्ञा भएकाले ढुंगा खस्दा दर्शनार्थी थिएनन् । तसर्थ, मानवीय क्षति हुन पाएन । तर, खसेका ढुंगाले गुफाको भौतिक क्षति पुगेको थियो ।’

चोइटिएका ढुंगा खस्दै जाँदा मानवीय क्षतिबाट जोगिन हलेसी तुवाचुङ नगरपालिका र श्री हलेसी महादेवस्थान मन्दिर व्यवस्थापन समितिको संयुक्त अनुरोधमा नेपाली सेनाले हलेसी गुफा र खोक्चिलिपा बुक्टोको सरसफाइ गरेका हुन् ।

चोइटिएका ढुंगा र रूखका जरा हलेसी गुफा प्रवेशद्वारको प्रांगणमा जम्मा गरिएका छन् । जम्मा गरिएका ढुंगा र रूखका जरा श्री हलेसी महादेवस्थान मन्दिर व्यवस्थापन समितिले हटाउनेछ ।

यसअघि समेत गोरखनाथ गणसम्बद्ध सेनाले हलेसीको मञ्जुश्री गुफाआसपासमा अव्यवस्थित रूपमा रहेका ध्वजापताका हटाउन सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्