८४ वर्षमा एसएलसी उत्तीर्ण गर्दा राइटरबाजे पहिलोपटक राष्ट्रिय चर्चामा आए । ‘प्रधानमन्त्री बन्न पाऊँ’ भन्दै निवेदन हालेपछि उनी दोस्रोपटक चर्चामा आए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले स्वच्छ छविका प्रधानमन्त्रीका लागि आह्वान गर्दा राइटरबाजेले पनि सोलुखुम्बुको काँगेलबाट जिरी (दोलखा) सम्म पैदल हिँडेर काठमाडौं पुगी प्रधानमन्त्री बन्न पाऊँ भन्दै तात्कालिक नारायणहिटी दरबारमा निवेदन दर्ता गराएका थिए । निवेदन हालेपछि राइटरबाजे सञ्चारमाध्यममा छाए । त्यतिबेला उनी गाउँमै भेटिए । गाउँमै रमाएका थिए । पंक्तिकारले राइटरबाजेलाई काँगेलमा भेट्दा ९७ वर्ष पुगेका थिए ।
ज्येष्ठ नागरिक भनेको पुस्तकालय हुन् । पुस्तकालय भनेको ज्ञानका भण्डार हो । त्यही भएर नै होला ज्येष्ठ नागरिकलाई पुस्तकालयसँग तुलना गरिएको । ज्येष्ठ नागरिकलाई केही समयपहिलेसम्म वृद्धवृद्धा भनिन्थ्यो भने कतिपयले त बूढाबूढी भनेर सम्बोधन गर्थे ।
वृद्धवृद्धा र बूढाबूढीभन्दा पुस्तकालयको अपमान होला भनेर नै हो कि पछिल्लो समय राज्यले नै उनीहरूलाई ज्येष्ठ नागरिक भनेर बोलाउने गरेको छ ।
सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट सोधीखोजी गर्दै काँगेल पुगेका पंक्तिकारले राइटरबाजेलाई घरमा भेटेनन् । बाजेका घरका ढोका ढप्किएका थिए । गोठमा गाईबस्तु बाँध्ने दाम्लो र किलोमात्रै थिए । असार रोपेर मंसिर फलाउने ध्याउन्न रहेका किसान घरमा भेटिने कुरै भएन ।
असार साउँदै मंसिर भेट्ने हतारोमा रहेका एक किसानलाई राइटरबाजे कता हुनुहुन्छ होला भनेर सोध्दा उनले झर्काे नमानी उत्तर दिए, ‘बाजे त गाई चराउन जंगल पो जानुभएको छ ।’ परेन त फसाद । भेट्नुपर्ने मानिसलाई नभेटी फर्कन जाँगर चलेन ।
सल्लेरीबाट पाँच घन्टा पैदल हिँडेर काँगेल पुगेका पंक्तिकार राइटरबाजेको घरछेउछाउका जंगल चहार्न थाले । साथमा पत्रकार बुद्धवीर बाहिङ पनि थिए । एक घन्टासम्म जंगल चहार्दा पनि उनी फेलापरेनन् । गोठालाले गाईबस्तु घर फर्काउन थालिसकेका थिए ।
भेटेजतिलाई राइटरबाजेलाई देख्नुभयो कि भन्दै सोधेको सोध्यै गरें । धेरैलाई सोधेपछि एकजना गोठालाले भने, ‘यहीं कुर्नुहोला तल गाईबस्तु ल्याउँदै हुनुहुन्छ ।’ नभन्दै उनले म कुरिरहेकै बाटो भएर गाईबस्तु फर्काए ।
नेपालका सबै ज्येष्ठ नागरिक राइटरबाजेजस्तै गोठाला गर्न सक्लान् ? अहँ सक्दैनन् । तर, उनीसँग त्यो तागत छ । यहाँ (सोलुखुम्बु)को चिसो हावापानी र वनपाखा डुलेकाले नै होला उनलाई काठमाडौंका मानिसजस्तै प्रातकालीन भ्रमण (मर्निङवाक)मा निक्लनुपर्दैनथ्यो । ‘सुगर’ले सतायो भन्नुपरेको छैन । उनलाई उच्च रक्तचापले पनि छोएन । उनलाई अनावश्यक तौल बढ्यो भन्दै चिन्ता पनि गर्नु छैन ।
सन्चै भएको ज्यान एक्कासि दुई वर्षजस्तो हातगोडा सुन्निएर थलिए पनि त्यतिबेला तंग्रिसकेका रहेछन् । ‘कान अलि कम सुन्न थालेको छु,’ राइटर बाजेले भने, ‘पछिल्लो समय आँखाले पनि दुःख दिन थालेको छ ।’
संसार चियाउने आँखा मोतीबिन्दुले सताउन थाले पनि अस्पतालसम्म पुगेर उपचार गर्न भ्याएका थिएनन् । हिजोआज जिल्ला सदरमुकाममा सोलु सामुदायिक आँखा केन्द खुलेको छ । तिलगंगा आँखा अस्पताल काठमाडौं र हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा फाप्लुको समन्वयमा स्थापित केन्द्र फाप्लुसम्म पुगेर उनलाई आँखा जँचाउने फुर्सद मिलेको थिएन ।
क्युबामा ज्येष्ठ नागरिकको सम्पूर्ण जिम्मेवारी राष्ट्रले लिने गरेको छ । पंक्तिकारले राइटरबाजेलाई भेट्दा नेपालमा भने ६० वर्ष पुगेका विधवालाई एक सय र ७५ वर्ष नाघेका ज्येष्ठ नागरिकले एक सय ५० रुपैयाँ भत्ता पाउँदै आएकोबाहेक अन्य सुविधा पाएका थिएनन् ।
अस्ट्रेलियामा प्लेन, ट्रेनलगायत सवारीसाधनमात्र होइन, अन्य विविध क्षेत्रमा ज्येष्ठ नागरिकलाई छुट दिने गरिन्छ । नेपालमा भने ज्येष्ठ नागरिकले त्यस्तो सुविधा पाएका छैनन् ।
राइटरबाजेजस्ता नेपालका ज्येष्ठ नागरिक पायक पर्ने ठाउँसम्म पुगेर आँखा उपचारसमेत गर्न सकिरहेका छैनन् । यदि उनीहरूका लागि भनेर नेपालमा छुट्टै अस्पताल बनाइएको भए, ज्येष्ठ नागरिक ऐनमा उल्लेख भएअनुसार, स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले उनीहरूलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाए, अनि नेपाल सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले नेपाल सरकारले तोकेको संख्याका ज्येष्ठ नागरिकले त्यस्तो संस्थामा उपचार गराउँदा लाग्ने शुल्क कम्तीमा ५० प्रतिशत छुट दिँदै आएको भए देशका कुनाकाप्चामा बस्ने ज्येष्ठ नागरिक कम खुसी हुने थिएनन् ।
विभिन्न शीर्षकमा सोलुखुम्बु पुगेका सञ्चारकर्मी राइटरबाजेको सोधीखोजी गर्छन् । कतिपय त भेट्नै पुग्छन् । ज्येष्ठ नागरिक भएर उनलाई भेट्न खोजिएको भने होइन । ८४ वर्षका पाको उमेरमा एसएलसी पास गरेकाले नै उनको सोधीखोजी हुने गर्छ । पाको उमेरमा पढ्नुको औचित्य प्रस्ट पार्दै उनले भन्थे, ‘पढ्नु भनेको जान्नु–बुझ्नु हो । पढेर जागिरै खानुपर्छ भन्ने होइन ।’
जागिरै खानुपर्छ भन्ने हो भने मैले किन यो पाको उमेरमा पढ्नु । मेरो गाउँठाउँमा कतिपय केटाकेटी पढिरहेका कक्षामा असफल भएपछि पढाइ नै त्यागेर बसेका छन् । तिनीहरूलाई पढ्ने हौसला मिलोस् भनेर बुढेसकालमा एसएलसीसम्म पढेको हुँ ।
‘पटक–पटक परीक्षा दिँदा एसएलसी पास गरेको थिएँ,’ उनले सुनाए, ‘अचेलका केटाकेटी के भा’का होलान् ! एसएलसी पास भइनँ भनेर आत्महत्या गर्नतिर पो लाग्छन् । असफल हुँदा आत्महत्या होइन, पढाइमा झनै मिहिनेत गर्नुपर्छ भन्ने सन्देश प्रवाह होस भनेर मैले धेरैपटक फेल हुँदा भए पनि परीक्षा दिन छाडिनँ । अन्ततः प्रथम श्रेणीमा पास भइछाडें ।’ उनले कहिल्यै पराजित मानसिकता बनाएनन् ।
पराजित मानसिकतालाई काखी च्याप्नेहरू काँतर हुन् । काँतरले असफलताभित्र सफलता खोज्न डराउँछन् भन्ने उनको ठहर थियो ।
चीनमा बर्सेनि अनिवार्य एकपटक आफ्ना बाबुआमालाई छोरीछोरीले भेट्नैपर्छ । त्यहाँको कानुनमै सो कुरा उल्लेख छ ।
भारतमा समेत बालिग सन्तानले ज्येष्ठ नागरिकको हेरविचार नगर्दा कारबाही गरिने प्रावधान छ । नेपालमा त्यस्तो छैन । कामको सिलसिलामा छोराछोरी परदेसिएकाले वर्षमा एकपटक भेट्ने कुरै आएन । तर पनि उनलाई एकांकी महसुुस भएको थिएन । न आफू अपहेलित, उपेक्षित भएको नै ठान्थे । उनी निष्फिक्री बाँचिरहेका थिए । क्या लोभलाग्दो जीवनशैली राइटरबाजेको ।
(त्यतिबेला नयाँ पत्रिका दैनिकको मध्यपृष्ठमा प्रकाशित यो स्टोरी तुवाचुङ डटकममा पोस्ट गर्दा राइटरबाजे यो धर्तीमा छैनन् । हार्दिक श्रद्धाञ्जली राइटरबाजे ।)