मायाको मालिकलाई मनभरिको माया



त्यो दिन थियो, जहाँ पहिले हिँड्ने बाटोमा आँखाको बाटो थपिँदै त्यही बाटोबाट एक–अर्काको मनमा न्यानोपना छाउँदै गयो । ओठको साथ आँखाको माध्यमबाट बात मार्नेक्रममा कुनै दिन प्रत्यक्ष (ओठको) माध्यमबाट बात मार्ने दिन आइपुग्यो । न्यानो स्पर्श लिँदै सँगै हिँड्ने अवसर मिल्यो । सायद त्यो हुनु नै थियो होला र न मौनतामा पनि एक–अर्काको मुटु एउटै लयमा धड्किएको आभास हुन थाल्यो । विचार पनि मिल्न थाल्यो । मीठा सपना दिनप्रतिदिन कोपिलाजस्तै गरी बिस्तारै फक्रन थाले । हुन सक्छ– उनी मायाको भिखारी थिइन् । र, ऊ मायाको मालिक थिए । जुन आफ्नोपनमा बदलिए ।

दिनप्रतिदिन ती प्रेमिल स्वर एक–अर्कामा परिपूरक हुन थाले । सेकेन्डको अन्तरालमा पनि मुटुका चाल रोकिएको आभास हुन थाल्यो । ती सेकेन्ड समय पनि एक–अर्काप्रति ऊर्जाको स्रोत बन्न थाले । यसरी समय पनि झन्झन् महत्वपूर्ण बन्दै गयो । लाग्थ्यो– त्यो बेला भिखारीलाई साँच्चिकै सम्पन्न भएको अनुभूति लिँदै जीवनको सार्थकता पाएको भान हुन्थ्यो ।

समाजका बेथिति वास्तविक जीवन भोगाइ आदि–इत्यादि कुरा गर्दै जाँदा बेलाबेलामा असन्तुष्टि अनि आ–आफ्ना भनाइ र अभिव्यक्ति आदान–प्रदान हुँदै जाँदा पनि सन्तुष्टि भएको भान हुन्थ्यो । साना ठूला समस्यालाई साउती मार्दै साटासाट हुँदै गयो । आ–आफ्ना शैली एक–अर्कालाई प्रिय लाग्थ्यो । यसरी परिपूरक हुँदै गरेको जीवनले सार्थकता पाउला वा नपाउला ?

मानिस न हो, कुनै बेला तीता अनि चोटिलो शब्द प्रहार हुन्थे । तर, ती सबै क्षणिक लाग्थे । अनि फेरि प्रिय लाग्न थाल्थ्यो । पटक–पटकको चोटिलो प्रहारमा पनि प्रेमका भाव व्यक्त भएको आभास हुन्थ्यो । अलि समयमा भेटपछि फेरि ती नयन एक–अर्कामा एकत्रित हुन्थे । निःशब्द हुन्थे । टोलाइरहन्थे । मौन हुन्थे । तर, मौनतामा पनि कुनै अर्थ व्यक्त भइरहेको आभास हुन्थ्यो । यस्तो समय अनि सम्बन्ध सायदै हुन्छ होला ।

अक्सर नेपाली समाजमा नारीलाई हेयका दृष्टिले हेर्ने गरे पनि उनको सोचाइ अलि भिन्न र परिष्कृतजस्तो लाग्थ्यो । त्यो पनि जीवनको अघि बढ्ने ऊर्जा हो कि जस्तो लाग्थ्यो । अनि त उनीमा फेरि ती बिलाउँदै गएका मस्तिष्क पुनःजन्म हुँदै जान्थ्यो । त्यही ऊर्जाको उपज होला उनीमा लुकेर रहेका प्रतिभा प्रस्फुटन भइरहेको थियो ।

‘मर्निङ सोज दी डे’ भन्ने भनाइलाई पछि पार्दै गोधूलि साँझले उनीहरूमा दीपावलीझंै झलमल बनाइदिन्थ्यो । ती मध्यरातहरू औंसीलाई पूर्णिमाको जूनजस्तै टहटह बनाइदिन्थ्यो । अनि एकले अर्कालाई केही कुराको पर्वाह नगरी आफ्नै गतिमा न्यानो स्पर्श लिँदै दौडाइरहन्थ्यौं । भन्छन्, ‘रातिको सल्लाह अनि काम पूरा हुँदैनन् ।’ तर, ती प्रत्येक शब्द अनि उत्साहको खुड्किला निरन्तर तीव्र गतिमा जाने वा नजाने अझै दोधारमा अल्झिरहेको छ । थाहा छैन खै, न त यो नयाँ कामको प्रादुर्भाव हो, न अन्त्य हो । के यो भनाइलाई मान्नु उचित छ ?

बिदाको दिन पनि यसै खेर गयो । आफन्त सम्पादक भएको पत्रिका सबै–सबै नियाल्दासमेत एक्लोपनको अनुभूति भइरह्यो । बिचरा म ! बाहिरबाट ढोकामा चाबी झुन्ड्याइएको तर भित्र म पात्र शून्यतामा ढल्किरहेकी छे, कोही आउँछन् कि भन्ने आसमा । धेरै मानिस हिँडिरहेका छन् तर आफ्नो ढोका कसैले खोल्दैनन् । आज एकपछि अर्काे पीडा खेप्दै दुनियाँ घुम्ने खुट्टा पनि चल्न गाह्रो भएको स्थितिमा एकान्तमा बाहिरी संसारको कल्पनाबाहेक केही गर्न कठिन । यही होला एक्लोपनको परिभाषा । सायद यस्ता पात्र कैयौं होलान् । विवशताका कारणले प्रस्फुटन हुन नसकेका ।

प्रतिक्रिया दिनुहोस्