खानेपानी, सिँचाइ तथा जलस्रोतमन्त्री रामकुमार राई ‘पासाङ’सँग नेपाली राजनीतिक यात्राको लामो अनुभव छ । भद्र, सभ्य, इमानदार, निडर र पहिचानका पक्षधर नेताका रूपमा १ नम्बर प्रदेश मन्त्री राईलाई धेरैले चिन्छन् । खोटाङको रतन्छामा संवत् २०२५ मा जन्मेका राई प्रदेश नम्बर १ को प्रदेशसभा सदस्यसमेत हुन् । खोटाङ क्षेत्र नम्बर ‘ख’बाट प्रत्यक्ष निर्वाचित सांसद राईले थुप्रै राजनीतिक आरोह–अवरोह पार गर्दै आएका छन् । जनता उनलाई पढ्न चाहन्छन् । थाहा पाउन चाहन्छन् ।
हिरासतमा २३ दिन
खोटाङको रतन्छामा ०३८ सालमा साकेला माध्यमिक विद्यालय स्थापना भयो । ०३९ देखि सो विद्यालयमा भूमिगत राजनीति सुरु भयो । मन्त्री राई पनि सानैदेखि भूमिगत राजनीतिमा लागे । उनले साकेला माविबाट विद्यार्थी राजनीति थाले । मालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा संगठित भए । त्यतिबेला पञ्चायती व्यवस्था थियो ।
खोटाङका पूर्वउपसभापति बाबुराम राईले उनलाई राजनीति गर्नुपर्छ भन्ने चेतना दिए । उनी रामकुमारभन्दा ‘सिनियर’ थिए । उनीहरू एउटै विद्यालयका विद्यार्थी भए पनि पूर्वसभापति राई त्यतिबेलै जिल्ला तहको नेता थिए ।
राजनीतिमा रुचि बढ्यो । पार्टीले उनलाई अनेरास्ववियु प्रारम्भिक कमिटी उपाध्यक्षको जिम्मेवारी दियो । कमिटी अध्यक्षमा बलराम केसी थिए । त्यतिबेला उनले पार्टी सदस्य पाइसकेका थिएनन् । उनी सुरुदेखि पार्टीका विश्वासिला कार्यकर्ता थिए । पार्टीका नेताहरूले उनलाई सदस्यता पाइसकेजस्तै व्यवहार गर्थे । उनले मासिक दुई रुपियाँ र एक माना चामल पार्टीलाई लेबी बुझाउँथे । ‘त्यतिबेला दुई रुपियाँ निकै ठूलो पैसा हो,’ उनले भने, ‘पार्टीले भनेपछि जसरी पनि निकाल्नैपर्यो ।’ भूमिगत संगठन, लुकीछिपी बैठक बस्नुपर्ने । सानैमा पार्टी काममा उनले धेरै रात बिताए ।
‘सिडियोमार्फत परिषद्को नाममा राजनीतिक गतिविधि गर्नेहरू पनि थिए । सुराकी रहेछन् । त्यस्ता सीआईडीले बितायो,’ उनले आफू पक्राउ परेको घटना यसरी सुनाए, ‘उनीहरूको सुराकीमा म परें । उनीहरूले चाहिँ भत्ता पाउने रहेछन् । हिरासतबाट निस्केपछि मैले थाहा पाएँ । क–कसले पैसा खाने रहेछ ? कति–कति पाउनेरहेछन् ?’
संवत् ०४५ को भाइटीकामा उनी पक्राउ परे । दिक्तेल हिरासतमा २३ दिन बिताए । उनी युवा नेता थिए । साथीहरूसँग घुलमिल भइहाल्ने । उनले हिरासतमै तिहार मनाए । त्यतिबेला केशव बराल डीएसपी थिए । गिरफ्तारीले उनलाई झन् सक्रिय बनायो । हिरासतबाट निस्केपछि पार्टी काममा त्यत्तिकै लागिपरे ।
०४७ पछि भूमिगत राजनीतिक संगठन खुला भयो । मण्डलेकुण्डले र उनीहरूमाथि नै सुराकी गर्नेलाई पार्टीले फूलमाला अबिरजात्रा गरेर पार्टीमा स्वागत गर्यो । वामपन्थी दलहरू मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) उनलाई त्यति मन लागेन । उनी पार्टी काममा सुस्ताए । तर, चुपचाप बसेनन् । राजनीति उनलाई ‘प्यासन’ भइसकेको थियो । राजनीतिक कामभन्दा टाढा रहन नसक्ने भइसकेका थिए । च्याउजस्तै उम्रेका राजनीतिक दल थुप्रै देखापरे । उनी ती दलमा संगठित नभए पनि अध्ययन सुरु थाले । कुन दल ठीक हो ? उनी अध्ययनमा लागे । जनमुक्ति पार्टी, सेतामगुराली, चौमलगायत सबै–सबै उनले अध्ययन गरे ।
खरामोको पहिलो संगठन
०५० मा उनी फेरि राजनीतिमा सक्रिय भए । खम्बुवान राष्ट्रिय मोर्चामा आबद्ध भए । ०४६ देखि ४९ सम्म उनी पार्टी काममा लागेका थिएनन् । तर, उनी हात बाँधेर बसेनन् । सामाजिक काममा लागे । समाज रूपान्तरणका लागि अभियान चलाए । समाजमा रहेका विकृति विसंगतिविरुद्ध डटेर लागे । गाउँका युवाहरू अभियानमा उनीसँग जोडिए । सामाजिक काममा उनी सक्रिय थिए । त्यसैले उनी सानैमा युवाहरूका नेता भइसकेका थिए । त्यतिबेला सामाजिक काममा उनी व्यस्त हुन थाले । उनले सुनाए, ‘अहिले पनि मेरो स्थानीय नाम रामकाइँला हो । त्यतिबेलैदेखि मसँग धेरै युवा साथी थिए ।’
सामाजिक अभियन्ताका रूपमा उनी परिचित भइसकेका थिए । पूर्वमन्त्री गोपाल किरातीले रामकाइँलाको बयान सुनेछन् । इमानदार, सक्रिय र राजनीतिक चेतना भएको भर्भराउँदो युवा प्रतीकका रूपमा किरातीले रामकुमार राई अर्थात् ‘रामकाइँला’लाई कल्पना गरे ।किरातीलाई रामकाइँला मन पर्यो । रामकाइँलालाई कसरी भेट्न सकिन्छ ? किरातीले सोधिखोजी गरे । रतन्छाकै तुलाराम राईसँग गोपाल किराती रामकाइँला अर्थात् हालका माननीय रामकुमार राई ‘पासाङ’को घर आइपुगे ।
गोपाल किरातीसँग रामकाइँलाको लामो राजनीतिक कुरा भयो । लामो छलफलपछि उनी किरातीको राजनीतिक लाइनमा ‘कन्भिन्स’ भए । खम्बुवान विचार उनलाई मन पर्यो । खम्बू भनेको राई र खम्बुवान भनेको किरातीको भूमि ।
तत्कालीन समयमा खम्बुवान स्वायत्तताका लागि राजनीति गर्ने कुरा उनलाई मन पर्यो । उनले गाउँका युवालाई भेला गरे । खम्बुवान राष्ट्रिय मोर्चाको गाउँ कमिटी रतन्छामा बन्यो । पहिलो प्रयासमा ५५ जनाको कमिटी रतन्छामा बनेको थियो । खोटाङमा खम्बुवान राष्ट्रिय मोर्चाको पहिलो र सबैभन्दा ठूलो कमिटी यो नै थियो । उनी यस गाउँ कमिटीको अध्यक्षमा चुनिएका थिए ।
०५१ मा खम्बुवान राष्ट्रिय मोर्चाको केन्द्रीय भेला भयो । भेलाले उनलाई केन्द्रीय सदस्य बनायो ।
नेकपा (माओवादी)ले ०५२ मा जनयुद्धको घोषणा गर्यो । यसको पक्षमा खम्बुवान राष्ट्रिय मोर्चा उभियो । खम्बुवान पनि माक्र्सवाद, लेनिनवाद, माओवाद विचारधारा मान्ने मोर्चा थियो । हप्ता दिनमै मोर्चाको केन्द्रीय बैठकले ‘जनयुद्ध ठीक’ भन्ने निर्णय गर्यो । त्यसपछि माओवादीका साथीहरूसँग उनको बाक्लै भेटघाट हुन थाल्यो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यतिबेलै खम्बुवान राष्ट्रिय मोर्चालाई सम्मान गर्दै भनेका थिए, ‘हामीले जनयुद्धको घोषणा गर्दा पहिलोपटक ‘सपोर्ट’ गर्ने संगठन हो– खम्बुवान राष्ट्रिय मोर्चा ।’
माओवादीको जनयुद्धलाई समर्थन गरेपछि उनलाई निकै अप्ठेरो पर्न थाल्यो । खम्बुवानका कार्यकर्ता सुरक्षा फोर्सको निगरानीमा पर्न थाले । कतिपय नेता तथा कार्यकर्ता पक्राउ पर्न थाले ।
खरामोले जनयुद्धलाई समर्थनमात्र होइन, जनयुद्ध घोषणा गर्ने योजना बनाए । मोर्चाले ०५४ साउन ७ गते जनयुद्ध घोषणा गर्यो । गोपाल किरातीको नेतृत्वमा रामकाइँला पनि जनयुद्धमा होमिए । उनीहरूले संस्कृत विश्वविद्यालय तथा संस्कृत स्कुलमा बम हानेर औपचारिक रूपमा जनयुद्ध सुरु गरे । यो जनयुद्ध सञ्चालनको महत्वपूर्ण भूमिकामा उनी थिए । दिङ्ला, गोगने, सोलु, सल्यानमा एकैपटक बम हानेर जनयुद्ध सुरु भएको थियो । खरामोले पूर्वबाट जनयुद्ध सुरु गर्दा माओवादी पश्चिममा मात्र थियो । पूर्व आइपुगेकै थिएन ।
माओवादीसँग एकता वार्तामा पासाङ
०५५ मा खरामोले नेकपा (माओवादी)सँग संयुक्त मोर्चाको घोषणा गर्यो । मोर्चा आठ महिना पनि टिकेन । संयुक्त मोर्चाबीच ठुल्ठूला अप्रेसन तथा युद्ध हुने समय आपसमा जानकारी आदान–प्रदान गर्ने सम्झौता थियो । त्यो भएन । त्यसैले उनीहरूको संयुक्त मोर्चा टिकेन ।
मोर्चाले आफैं जनमुक्ति सेना निर्माण गरेको थियो । उनीहरूले प्लाटुन बनाए । त्यसैलाई केही समयपछि कम्पनी बनाए । पूर्वमा माओवादीभन्दा खरामोको प्रभाव राम्रो । सोलु, खोटाङ र भोजपुरमा खरामोको ठूलै शक्ति थियो ।
खरामोमा गोपाल किरातीपछि रामकुमार राई ‘पासाङ’ ठूला नेता थिए । नेकपा माओवादीसँग पार्टी एकता गर्न पासाङको महत्वपूर्ण भूमिका थियो । गोपाल किराती, रामकुमार राई ‘पासाङ’ र सुरेशकुमार राई ‘हिमाल’ खरामोतर्फबाट तीन सदस्यीय वार्ताटोली बनाइएको थियो ।
०५८ मा माओवादीसँग पार्टी एकताको योजना बन्यो । संखुवासभाको आँखीभुइँमा मोहन वैद्य ‘किरण’ र देव गुरुङ आएका थिए । त्यहाँ खम्बुवान राष्ट्रिय मोर्चा र लिम्बुवान राष्ट्रिय मोर्चा मिलेर किरात राष्ट्रिय मोर्चा बन्यो । भक्तराज कन्दङ्वाको अध्यक्षतामा बनेको त्यो मोर्चाको उपाध्यक्षमा पासाङ चुनिए । गोपाल किराती महासचिव र श्रीप्रसाद जगेबू सचिव । त्यतिबेला पार्टी एकता हुन सकेन, मोर्चाको मात्र एकता भयो ।
०५९ मा लिम्बुवान र खम्बुवान एकीकरणपछि बनेको किरात वर्कर्स पार्टीको उनी केन्द्रीय सदस्य बने । ०५९ चैतमा किरात वर्कर्स पार्टी र नेकपा (माओवादी)बीच एकता भयो । सो पार्टी माओवादीसँग एकीकरणपछि राई माओवादीको जनकपुर–सगरमाथा इन्चार्ज भए । ०६० मा फेरि खोटाङ जिल्ला इन्चार्ज भएका राई २०६१ देखि नेकपा (माओवादी) मेची–कोसी राज्य समिति सदस्य तथा संखुवासभाका इन्चार्ज भए ।
सैन्यविज्ञानमा पारखी पासाङ
माओवादीसँग एकतापछि पूर्वको ठुल्ठूला अप्रेसनको कमान्ड उनले सम्हाले । धेरैपटक झडपमा परे । बालबाल बाँचे । थुप्रै घेराबन्दीमा परे । घेराबन्दी तोडे । स्यालगुरे, ओख्रे र साप्सुखोलाको युद्धमोर्चामा उनलाई निकै सकस परेको थियो । त्यहाँ उनी घाइते भए । गोलीले हात छेड्यो । उनीसँग सैन्यविज्ञानको राम्रो ज्ञान छ । निडर र आँटिला लडाकु उनी भन्छन्, ‘लडाइँमा कहिले अत्तालिनुहुँदैन । एउटा खोल्सी वा कान्ला भेटेपछि बाँचिन्छ । कुनै हालतमा मरिन्न ।’
गोपाल किरातीसँग २५ वर्ष
गोपाल किरातीसँग २५ वर्ष काम गरे । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भूमिका पाएका थिए । पार्टी विभाजनपछि माओवादी केन्द्रमा छन् ।
डक्टरको खेतमा धान रोप्दा
नेता राई ०५१ देखि पार्टीको ‘होलटाइमर’ बने । जनयुद्धमा होमिएको गाउँलेले पत्तै पाएनन् । उनले गाउँलेका कुरा यसरी सुनाए, ‘यो रामकाइँला लाहुर लागेन । विदेश जाने तयारी गरिरहेको छ । भिसाका लागि मेनपावर धाइरहेको छ ।’ हुन पनि उनी तीन÷चार महिना, पाँच/छ महिनामा गाउँ पुग्थे । जसरी विदेश जानेहरू काठमाडौंमा भिसा पर्खेर निकै समयपछि गाउँ पुग्थे ।
गाउँमा मेलापात खुबै चल्छ । अर्मपर्म चल्छ । जनयुद्धतामा उनले जनताका घरमा धेरै जनश्रम गरेका थिए । काम सघाउनु जनताको मन जित्ने निकै ठूलो कला हो । जनश्रमको लामो कहानी उनले सुनाए । एउटा रोचक घटना यस्तो छ ।
बेलुका हुन लागेको थियो । उनीलगायत केही साथीहरू पार्टी काममा खोटाङको सिम्पानी पुगे । गाउँमा डाक्टरको नाम चर्चामा थियो । सबैले डाक्टर भन्थे । उनीहरू पनि त्यो घरमा पुगे । वरिष्ठ संगीतकार तथा गायक डक्टर किरातको घर रहेछ । उनको नामै डक्टर । डक्टर घरमा थिएनन् ।
डक्टरका आमाबुवा बूढाबूढी थिए । उनीहरू धान रोप्न खेतमा हिलो बनाउँदै रहेछन् । बूढाबूढी मेलोमा देखेपछि उनीलगायत उनका साथीहरूले धान रोपिदिने सल्लाह गरे । डक्टर किरातका आमाबुवाले अप्ठेरो माने । ‘हैन नानीहरू हामी नै रोपिहाल्छौं नि । नानीहरूलाई किन दुःख,’ रामकुमार राई ‘पासाङ’ले अतीत सुनाए, ‘केही अप्ठेरो मान्नुपर्दैन । हामी रोपिदिन्छौं । बरु हामीलाई भात पकाइदिनू ।’
घरबेटी खाना पकाउन लागे । उनी र उनका साथीहरूले झोला भित्तामा राखेर खेत हिलो बनाउन थाले । आली हाले । हिलो बनाए । उनीहरू खेतमा पसेको देखेपछि गाउँलेलाई रमिता भएछ । डाँडामा लाइन लागेर उनीहरूलाई हेरे । उनीहरूले एकैछिनमा धान रोपिसके । उनले थपे, ‘म धान धेरै छिटो रोप्छु । मैले मेलो छिटो सारें ।’
निकै समयपछि उनी आफ्नो नानाको घर पुगे । नानाले जिज्ञासा राखिन्, ‘सिम्पानीमा धान रोप्ने तिमीहरू नै हो ?’
हलेसी–दिक्तेल सडक १८ लाखमा, एक करोड १० लाखको काम हलेसी तुवाचुङ नगरपालिका–७ मा पर्ने तुवाचुङ डाँडा काट्नु खच्चडलाई समेत निकै मुस्किल पथ्र्यो । अप्ठेरो बाटो । माओवादी भर्खर खुला राजनीतिमा आएको थियो । जिविसबाट हलेसी–दिक्तेल सडकका लागि बजेट प¥यो । हेलिकोप्टरबाट गाडी ल्याएर सडक सञ्चालन गर्रे योजना बन्यो । दिक्तेलको महुरेसम्म नेपाली सेनाले सडक खन्ने र महुरेदेखि हलेसीसम्म माओवादीले खन्ने योजना बन्यो ।
सडक खन्दाका अनुभव उनले सुनाए, ‘हामी आफैंले खन्यौं । त्यो सडक खन्न दर्शन (रत्नकुमार राई, हलेसी)को ठूलो भूमिका छ । म आफैं खटें । प्राविधिक स्टिमेटअनुसार १ करोड १० लाख निस्कियो । हामीले १८ लाखमा खन्यौं । हाम्रा साथीहरूले धेरै जनश्रम गरे ।’ सडक सम्पन्न भयो । ११ जना व्यापारीको लगानीमा गाडी हेलिकोप्टरबाट दिक्तेलमा झर्यो । हलेसी–दिक्तेल यातयात सुरु भयो ।
सडक निर्माण निकै उदाहरणीय भएको थियो । उनको भनाइ छ, ‘माओवादीले बाटो खन्दैनन् । पैसा खायो भनेर हल्ला फिँजाइएको थियो । तर, हामीले काम देखायौं ।’
त्यतिबेला नजुरेको मन्त्री पद
पूर्वप्रधानमन्त्री झलनाथ खनालको मन्त्रिपरिषद्मा रामकुमार राई ‘पासाङ’को नाम पार्टीले सिफारिस गर्यो । गृह राज्यमन्त्रीको सपथ खानमात्र बाँकी थियो । मन्त्री पद अल्झियो । उनी मन्त्री भएनन् । मोहान वैद्य ‘किरण’ले पार्टी फुटाएर लगेपछि उनको मन्त्री पद अल्मलियो ।
प्रदेशको चुनावलगत्तै प्रदेश एकमा मन्त्रीका लागि पार्टीले माननीय पासाङको नाम सिफारिस गरेको छ । तात्कालिक मुख्यमन्त्री शेरधन राईको मन्त्रिमण्डल सात सदस्यीय थियो । मन्त्रिमण्डल विस्तार गरेर नौ सदस्यीय बनाउनासाथ उनी मन्त्री बन्ने पक्कापक्कीजस्तै थियो । तर पनि, उनी मन्त्री बनेनन् ।
अन्ततः मन्त्री
रामकुमार राई ‘पासाङ’ मन्त्री बन्दै छन् भनेर पटक–पटक भनियो । समाचार प्रकाशन तथा प्रसारण भए । मन्त्री बन्ने पक्कापक्की हुँदाहुँदै सपथ लिनमात्रै बाँकी रहँदासमेत नेता राई मन्त्री बनेनन् । अन्ततः प्रदेश १ को मुख्यमन्त्री राजेन्द्रकुमार राईको मन्त्रिमण्डलमा उनले खानेपानी, सिँचाइ तथा जलस्रोतमन्त्रीको जिम्मेवारी पाएका छन् ।
मन्त्री रामकुमार राई ‘पासाङ’को राजनीतिक यात्रा
मालेनिकट अनेरास्ववियु, प्राक उपाध्यक्ष–२०३९
खम्बुवान राष्ट्रिय मोर्चा, रतन्छा गाउँ अध्यक्ष–२०५०
खम्बुवान राष्ट्रिय मोर्चा, केन्द्रीय सदस्य–२०५१
किरात राष्ट्रिय मोर्चा, केन्द्रीय सदस्य–२०५८
किरात वर्कर्स पार्टी, केन्द्रीय सदस्य–२०५९
नेकपा (माओवादी), सगरमाथा–जनकपुर इन्चार्ज–२०५९
नेकपा (माओवादी), खोटाङ जिल्ला इन्चार्ज–२०६०
नेकपा (माओवादी), मेची–कोसी राज्य समिति सदस्य–२०६१
नेकपा (माओवादी) संखुवासभा इन्चार्ज–२०६१
ब्रिगेड कमिसार–२०६२
सोलु–सल्लेरी ब्रिगेड कमिसार–२०६२
नेकपा (माओवादी), खोटाङ जिल्ला इन्चार्ज–२०६३
खोटाङ क्षेत्र नम्बर १ प्रत्येक्षतर्फ सभासद्–२०६४
नेकपा (माओवादी), केन्द्रीय सदस्य–२०६५
नेकपा (माओवादी), भोजपुर जिल्ला इन्चार्ज–२०६८
नेकपा (माओवादी) खोटाङ–उदयपुर इन्चार्ज–२०६८
नेकपा (माओवादी केन्द्र), पोलिटव्युरो सदस्य–२०६९
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य
राष्ट्रिय सुरक्षा विभाग उपप्रमुख
प्रदेश नम्बर १, खोटाङ क्षेत्र निर्वाचन क्षेत्र ‘ख’बाट प्रत्येक्षतर्फ निर्वाचित सांसद
खानेपानी, सिँचाइ तथा जलस्रोतमन्त्री–२०७८