स्वाभिमानी सुगाकुमारी


दुर्छिमका साल्तेम्मा, गैराटोल, डाँडाटोल सल्लेनीमा उत्पादित तरकारी, अन्नपात, फलफूल बजारसम्म पुर्याउने काम कसले गर्लान् ? सम्बन्धित गाउँठाउँका किसानद्वारा उत्पादित उत्पादन बेच्न चाहनेले हलेसीसम्म पुर्याउनै पर्यो । तर, बजारसम्म पुर्याएर बेच्ने जाँगर चलाउने कसले ?

स्थानीय स्तरमा उत्पादित उत्पादन बजारसम्म पुर्याउने नभएपछि साल्तेम्माकी सुगाकुमारी विश्वकर्माको दृष्टि त्यता पुग्यो । आखिर सम्बन्धित किसानले उपभोग गरेर बचेको उत्पादनका लागि बजार किन नखोज्ने ? सोच बन्नासाथ विश्वकर्माले काम थालिहालिन् । स्थानीय स्तरमा उत्पादित उत्पादन संकलन गरेर उनले हलेसी बजारसम्म पुर्याउन थालिन् । गाउँठाउँमा उत्पादित मौसमअनुसारको तरकारी, फलफूल संकलन गरेर हलेसीसम्म पुर्याउँदा दुई/चार पैसा आम्दानी पनि हुन थाल्यो ।

काम त्यति सजिलो होइन । दुःख नगरी रुपैयाँ हात पार्न सकिँदैन । गाउँभरिका तरकारी, फलफूल खरिद गरेर बजारसम्म पुर्याउँदा आम्दानी कति होला नि ? ‘फाइदा धेरै हुने भए त सबैले गर्थे होलान् नि,’ उनले हाँसीहाँसी जवाफ फर्काइन्, ‘पसिनाको गीत गाएर खानु त्यति सजिलो छैन । यसो नुन, भुटुन खाने मेलोमात्रै हो ।’

सुगाकुमारी विश्वकर्माको दुःख देखेर स्थानीयले दुई पैसा सस्तोमा उत्पादन बेच्ने गरेका छन् । दुई पैसा सस्तोमा किनेपछि दुई पैसा फाइदा हुनु स्वाभाविकै हो । उनले यो काम थालेको ६ वर्ष भयो । स्थानीयले उपभोग गरिसकेपछि बचेको उत्पादन खरिद गरेर बजार खोज्नु उनको दिनचर्या बनेको छ । त्यही दिनचर्याले दुई छाक जुटाउन सजिलो बनाएको छ । स्थानीय किसानद्वारा उत्पादित गोलभेंडा, सागपात, बोडी, राजमा, अम्बा, नासपाती, सुन्तला, केरा र विभिन्न खाद्यसामग्री खरिद गरेर हलेसी बजारसम्म पुर्याउँदा हात लागेको नाफाले जीविकोपार्जन गर्ने माध्यममध्येको एक माध्यम बनेको छ ।

हलेसीका प्रत्येक होटल पुगी ती सामग्री बेच्दा उनलाई हीनताबोध लागेको छैन । यो कामलाई समाजसेवाका रूपमा लिएकी छन् । यही कामबाट उनको घर–व्यवहारका लागि भरथेग भएको छ । यही कामबाट ६ महिनाका लागि जीविकोपार्जन गर्न सहज भएको छ ।

‘मेरो बजार र ग्राहक भनेको माल्खुदेखि हलेसीका साना, ठूला होटल हुन्,’ उनले भनिन्, ‘हलेसीका अन्य पसल, बजारवरिपरिका बासिन्दाले पनि मबाट आवश्यकीय सामग्री लिने गरेका छन् । ६ वर्षदेखि मेरो आफ्नै ग्राहक छन् ।’

दुई छोरा, एक छोरी र आमाका साथ माइतीमै बसिरहेकी उनले आफूले थालेको कामले सन्तुष्टि मिलेको बताउँछिन् । हिउँद होस् या बर्खा उनले स्थानीय स्तरमा उत्पादित उत्पादन पाएसम्म खरिद गरेर हलेसी पुगिहाल्छिन् । कम्तीमा २० किलो सामग्री संकलन भएपछि बजार दौडिहाल्छिन् । हलेसीसम्म हिँडेर ओहोरदोहोर गर्छिन् ।

यातायातको सुविधा भए पनि उनी हिँडेर हलेसी पुग्छिन् । ‘यातायातको सुविधा नहुँदा ३० देखि ४० केजीसम्मको भारी बोकेर उदयपुरको कटारी–हलेसी गरिन्थ्यो,’ उनले सुनाइन्, ‘साल्तेम्माबाट भारी बोकेरै हलेसीसम्म पुग्न एक घण्टा पनि लाग्दैन । हिँड्नु भनेको स्वस्थ रहन सघाउ पुग्छ भनेको सुनेकी छु । उता, पैसा पनि जोगिने भयो । गाडी चढ्ने पैसाले त छोराछोरीलाई कापी, कलम पो किन्न पुग्छ ।’

बर्खामासमा उनी लट्टेको साग, फर्सीका मुन्टा, हरियो खोर्सानी, तीतेकरेला, बैगुन, काँक्रा, घिरौंला बेच्छिन् । हिउँदमा रायो साग, बोडी, बोडीको दाल, भटमास, बदाम, राजमा, हिउँदे गोलभेंडा र कोदोलगायत खाद्यान्न बेच्छिन् । त्यति गरेर पनि खेतिपाती गर्न, बस्तुभाउ पाल्न भ्याएकी छन् ।

गर्दा हुँदोरहेछ त भन्ने उदाहरणीय उदाहरण बनेकी छन्– सुगाकुमारी विश्वकर्मा । हाई काढ्दै मुस्किलले दिन काट्न लाज नमान्नेले विश्वकर्माबाट जाँगरिलो बन्ने काइदा सिक्ने कि ?

प्रतिक्रिया दिनुहोस्