लाओसमा २ मात्र बाघ, नेपालको संरक्षण आसलाग्दो



काठमाडौं । कोभिड–१९ संक्रमणका कारण बुधबार नेपालमा सामान्य रूपमा विश्व बाघ दिवस मनाइयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसका अवसरमा सरोकारवाला सीमित व्यक्तिको सहभागितामा केन्द्रीय कार्यक्रम बबरमहलमा आयोजना गरेको थियो । यसबाहेक बाघ पाइने चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि स्थानीयस्तरको कार्यक्रम गरेको विभागले जनाएको छ ।

सन् २०१० मा रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले सालिन्दा २९ जुलाईलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरूप बुधबार नेपालमा पनि यो दिवस मनाइएको थियो ।

नेपालले संवत् २०६७ देखि बाघ दिवस मनाउँदै आएको छ । नेपाललगायत विश्वका १३ देशमा पाटेबाघ पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्रप्रमुखको सेन्ट पिटर्सवर्ग सम्मेलनले बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको संख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पुर्याउने प्रतिबद्धता गरेको थियो । जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयले गत वर्ष पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको थियो । उक्त गणनाअनुुसार नेपालमा बाघको संख्या २३५ पुगेको छ । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवम् मध्यवर्ती र आसपासका वनक्षेत्रमा १६ बाघ भेटिएका थिए । यस गणनाक्रममा क्यामेरामा देखिएका बाघका बच्चाको संख्या नसमेटिएकाले सन् २०२२ मा नेपालको लक्ष्य पूरा हुने निश्चित देखिएको उनले दाबी गरे ।

विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघ गणना गरेको थियो । नेपालमा बाघको संख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको विभागको तथ्यांक छ ।

नेपालमा बाघ संरक्षणमा देखिएको सफलता र यसको संख्यामा भएको वृद्धिलाई विश्व समुदाय नै प्रशंसा गरेको छ । नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिमि क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमि (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ । बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ । संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्यांकमा उल्लेख छ ।

मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा आसलाग्दो उपलब्धि हासिल भएकाले र बाघ गणनाको पछिल्लो नतिजाले पनि सन् २०२२ मा बाघको संख्या दोब्बर (२५० वयस्क बाघ) पुर्याउने मुलुकको प्रतिबद्धता पूरा हुने विश्वास गरिएको छ । तर, बाघको चोरी सिकार, बढ्दो मानव वन्यजन्तु द्वन्द्व, वन अतिक्रमणसँगै बासस्थान र आहारामा देखिएका कमीले बाघ संरक्षणमा चुनौती कायमै छ ।

विश्वभर बाघको सङ्ख्या तीन हजार ८९० रहेको छ । सन् २०१६ को तथ्यांकअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा बाघको संख्या दुई छ । इन्डोनेसिया, कम्बोडिया, चीन, थाइल्यान्ड, नेपाल, बंगलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यान्मा, रसिया र लाओसमा पाटेबाघ पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्