उपमेयरको उपहार


उपहार भनेको सानो, ठूलो हुँदैन । सियो उपहार पाए पनि महत्वपूर्ण ठानिन्छ । उपहारको सुन्दर पक्ष शब्दमा बयान गर्न सकिँदैन । सरस्वती माध्यमिक विद्यालय अर्खौलेमा अध्ययनरत धनकुमार मगरले त्यस्तै सुन्दर उपहार पाएका छन् ।

दैनिक ४ घटा ४० मिनेट रूखमै बसेर अनलाइन कक्षा लिँदै आएका मगरलाई सुन्दर उपहार कसले दिए होलान् ? पाउनेले उपहारमा के–के पाए होलान् भनेर कौतूहल जाग्यो होला । यसबारे थाहा पाउन तपाईंले समाचार पूरै पढ्नैपर्छ ।

‘४ घन्टा ४० मिनेट रूखमै बसेर अनलाइन कक्षा’ शीर्षकमा तुवाचुङ डटकममा धनकुमार मगरको पहिलोपटक समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि मगरको साहस र मिहिनेतको सराहना गरियो । सराहना सराहनामै सीमित रह्यो । उनको साहस र मिहिनेतले चर्चा पायो । तर, हलेसी तुवाचुङ नगरापलिकाका उपमेयर बिमला राईले १० कक्षामा अध्ययनरत मगरलाई शैक्षिक सफलताका शुभकामनामात्रै दिइनन्, धनकुमार मगर अध्ययनरत विद्यालयमै पुगेर उनलाई हौसलास्वरूप शैक्षिक सामग्री उपहारस्वरूप थमाइन् ।

समाचारको प्रभाव बलशाली हुँदोरहेछ । तुवाचुङ डटकममा पहिलोपटक समाचार प्रकाशित भएपछि विभिन्न सञ्चारमाध्यम उनको समाचार प्रकाशित तथा प्रसारित भए । ‘भाइरल’ बनेका धनकुमार मगरले शैक्षिक सामग्री उपहार पाएको समाचार लेखिरहँदा पंक्तिकार खुसीले त्यत्तिकै पुलकित बनेका छन् । उनले पाएको उपहार पंक्तिकार आफैंले पाएजस्तो अनुभूति भइरहेको छ । उपहार पाउने व्यक्ति झन् कति खुसी होलान् भनेर ९८१६७८६८६३ मा धनकुमार मगरलाई पटक–पटक टेलिफोन गर्दा सम्पर्क हुन सकेन । अन्तिममा पुनः एकपटक टेलिफोन गर्न जाँगर चलिहाल्यो । नभन्दै सम्पर्क भयो ।

उपमेयरबाट उपहार पाउँदा कस्तो अनुभूति गर्नुभयो भनेर प्रश्न सोधियो । ‘सपनामा पनि चिताएको थिइनँ नि सर,’ उनले खुसी व्यक्त गरे, ‘उपप्रमुखजस्तो व्यक्तिबाट शैक्षिक सामग्री पाउँदा पढाइप्रति थप जिम्मेवार बनाएको छ ।’

हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडाध्यक्ष रमेश राउतसँगै अर्खौले पुगेकी उपमेयर राईले मगरलाई अजन्ता डिक्सनेरी, मोबाइलको पावर बैंक, झोला, पाँच थान कापी र मायाको चिनोस्वरूप हलेसी तुवाचुङ नगरपालिकाको डायरी थमाइन् ।

‘उपमेयरको हातबाट शैक्षिक सामग्री पाउँदा जति खुसी छु,’ मगरले थपे, ‘त्योभन्दा बढी त उहाँले मलाई दिनुभएको शैक्षिक सफलताको आशिर्वाद अमूल्य लागेको छ ।’

उपमेयरबाट प्राप्त डायरी कसरी सदुपयोग गर्नुहुन्छ ?

‘कविता लेख्छु सर,’ लगत्तै उनले भनिहाले, ‘दैनिकी पनि यसमै लेख्छु ।’

उपमेयर बिमला राई र धनकुमार मगरबीच भेटघाट कसरी भयो होला ?

‘उपमेयरज्यूले मलाई कल गर्नुभएको रहेछ । फोन लागेनछ,’ मगरले जानकारी गराए, ‘फोन सम्पर्क नभएपछि मेसेज पठाउनुभएको थियो । मेसेज पाएपछि कलब्याक गरें ।’

‘भाइ धनकुमार बाल दिवसको हार्दिक शुभकामना । प्रविधि सदुपयोग गर्दै तपाईंमा जुनखालको लगनशीलता छ, त्यसका लागि फेरि पनि बधाइ । फोन लागेन । मलाई कल गर्नुहोला ।
–बिमला राई, उपमेयर ।

उल्लिखित ‘मेसेज’ पाएपछि उनी तीनछक परे । नेपाली फन्टमा आएको मेसेज पढेपछि लगत्तै टेलिफोनमा दोहोरो वार्ता भयो । वार्ता भएपछि धनकुमार मगर हतार–हतार विद्यालय पुगे । उपमेयरबाट उपहार लिए । उपमेयर बिमला राईले पठाएको ‘मेसेज’ उनले सुरक्षित राखेका छन् ।

समावि अर्खौलेमा अध्ययनरत १० कक्षाका धनकुमार मगरले शैक्षिक सामग्री पाउँदा विद्यालयका निमित्त प्रधानाध्यापक नवीन चाम्लिङले कस्तो अनुभूति गरे होलान् । निमित्त प्रधानाध्यापक चाम्लिङले भने, ‘उपमेयरज्यूले मिहिनेती विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुहुँदा धनकुमार भाइलाई हौसल थपिएको छ । यो सुखद पक्ष हो ।’

समावि कक्षा १० का दोस्रो विद्यार्थी उनी भलिबलमा समेत अब्बल खेलाडी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्