अनेकतामा एकताको जगमै प्राचीनकालदेखि समाज निर्माण भएको तथ्यहरू पाइन्छन् । समयको परिवर्तन, प्राकृतिक प्रकोप, युद्ध, भय, सुख, दुःख, शत्रुता, मित्रता, बाध्यता आदि कारणले आफ्नो आवश्यकता पूरा गर्न मानिस एक ठाउँबाट अन्यत्र सर्दै आएको पाइन्छ । उनीहरू बसेका ठाउँका नाम पनि प्राकृतिक गुण, वनस्पति र जनावरको नाम, मानवीय गुण, व्यवहार, धार्मिक, सामाजिक, प्रशासनिक र सांस्कृतिक महत्वका आधारमा राखिएका छन् । ती नामहरू कतिपय लोपोन्मुख र अपभ्रंश भएका छन् भने केही जीवन्त छन् ।
यस्ता प्राचीन धरोहरले तत्कालीन समयको मानव सभ्यताको पहिचान दिने भएकाले नामकरणको खोज गर्न आवश्यक भएको हुँदा यहाँ खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा पर्ने ‘छापडाँडा’को नामकरणबारे उजागर गर्ने प्रयास गरिएको छ ।
हुन त धर्तीको कुन ठाउँ होला आफ्नो ऐतिहासिकता नबोक्ने । माझकिरातका गढीमध्ये मझुवागढी, महुरेगढी, खाम्तेलगढी पश्चिममा रहेको हलेसी गुफाभन्दा ३ किलोमिटर दूरीमा रहेको छापडाँडा समुद्र सतहदेखि १४०१ मिटर उचाइमा रहेको छ । यहाँ जनजाति, आर्य र दलित समुदायको बसोवास रहेको छ । यो भूमि आदिवासी राई समुदायको किपट रहेको ऐतिहासिक पृष्ठभूमि पाइन्छ ।
पृथ्वीनारायण शाहका सेनाले माझकिरातमाथि विजय गर्दै जाँदा हलेसीगढी कब्जा गरी सेनालाई वेतन बाँडी, केही दिन विश्राम गराई, सकल माझकिरात कब्जा गर्न थप बल तयारी गरेको कुरा किरात इतिहासको रूपरेखामा उल्लेख छ । एकीकरणपछि योद्धा र लडाकु किरातहरूलाई किपटका रूपमा जमिन छाड्ने तर गोरखाको नियम पालना गर्नुपर्ने गरी आफ्नो अधिनमा लिए । थुमथुममा चित्तेदार तालुक, जिमी पगरी खडा गरी जग्गा कर उठाउने जिम्मा राईहरूलाई नै छाडे । यहाँका नौ चित्तेदारहरू विभिन्न थर (पाछा)का राईहरू नै रहे । राज्यको भूमि व्यवस्था परिवर्तनअनुसार गोश्वाराबाट लालमोहरिया अधिकारपत्र लिनुपर्ने प्रथाअनुसार किपटका केही अंश यस्तो पाइएका छन् ।
इति संवत् १८७८ सालमा मार्फत भीमसेन थापा भई दिएको पत्रमा, ‘आगे माझकिरात मध्ये थुम हलेसीभर अम्बल…..छाप छप्पाली जिमी राईद्वारा सालबसाल मुसीर महिनामा अमाली छाप गाउँका राईले कम्पुको दफरषानामा दाखिला गरी गाउँ गुल्जार गरी बस’ भन्ने उल्लेख गरिएको छ ।
इति संवत् १८९८ सालमा मार्फत प्रसादसिंह बस्न्यात भई, ‘जस्कर्ण राईलाई दिइएको पत्रमा माझकिरात हलेसी अम्बलमध्ये राबु षेत मुरी । ३२ मध्ये मुरी । १६ मास्र्याषेत मुरी । ४० मध्ये । २० जम्मा मुरी । ३६ किपट भित्रको षेत जाँचगरी कम्पुमा भर्ना गरी मानाचावल थामी दिया’ भन्ने उल्लेख छ । (छाप चित्र नं. १ मा ।)
विक्रम संवत् १९५६ सालमा १७६ नम्बरमा दर्ता धोजवीर राईले १८ ।√। (अठार रुपैयाँ एघार आना) कर बुझाएको पत्रमा चार किसिमका छापहरू लगाइएका छन् । (चित्र नं. २ मा ।)
विक्रम संवत् १९५८ सालमा ५०६ नम्बरमा दर्ता भोलामान राईको नामबाट २ रुपैयाँ २ पैसा कर असुलेको पत्रमा रहेको तीनवटा छापमध्ये एउटामा श्री माझकिरात तहसिल ५६ साल उल्लेख छ ।
विक्रम संवत् १९६४ सालमा ८१६ नम्बरमा दर्ता जंगवीर राईबाट १ रुपैयाँ ३६ पैसा कर असुलेको पत्रमा पनि तीनवटा छाप र माझकिरात, तहसिल ५६ साल उल्लेख छ । (चित्र नं. ३ र ४ मा ।)
यी दस्तावेजहरू अध्ययन गर्दा राईहरू नै यहाँका चित्तेदार किपटिया थिए भन्ने प्रस्ट्याउँछ । किपट कस्तो भूमि थियो ? केही उदाहरण हेरौं :
टंकबहादुर राईद्वारा लिखित ‘किरात इतिहासको रूपरेखा’ २०६० मा किपटबारे विभिन्न व्यक्तिको भनाइ उल्लेख गरिएका छन् ।
चाल्र्स मक्दौलका अनुसार, ‘किपट भूमिको व्यवस्थाको विशेषता यो थियो कि राईबाहेक अरूलाई जमिन बिक्री गर्न वा स्थायी रूपमा स्वामित्व हस्तान्तरण गर्न सकिँदैन थियो । यद्यपि, अन्य राईलाई भने बेच्न सकिन्थ्यो ।’ (किरात इतिहासको रूपरेखा, पृष्ठ ११०)
राजेश गौतम र अशोक थापामगरका अनुसार, ‘किपट भन्नाले मानिसले अरूलाई बिक्री गर्न नसकिने जमिन हो ।’ (ऐ. पृष्ठ ११०)
मार्टिन ज्यान्जलका अनुसार, ‘यसप्रकारको भूमि व्यवस्थामा सबैभन्दा महत्वपूर्ण व्यवस्था हो । जमिनको हस्तान्तरण नहुनु, जब कि किपट भूमि सामाजिक समूहसँग जोडिएको थियो । जसको प्रकृतिअनुसार आप्रवासीलाई बिक्री गर्न सकिँदैनथ्यो ।’ (ऐ. पृ. ११२)
टंकबहादुर राईका अनुसार, ‘किपट व्यवस्था भन्नाले आवाद गरिएको जग्गा, आवाद नगरिएको बाँझो जग्गा, जंगल, गाईबस्तुको चरन, खर्क, खोला त्यहाँका विभिन्न खाद्य वा नगदी वस्तुमाथि किरातहरूको स्थायी र हस्तान्तरण नहुने स्वामित्व भन्ने बुझिन्थ्यो ।’ (ऐ. पृ. ११७)
यी भनाइहरूले ओल्लोकिरात, माझकिरात र पल्लोकिरातसम्मको सम्पूर्ण भू–भाग किरातहरूको किपट थियो भन्ने प्रस्ट पार्छ । पछिल्लो चरणमा गैरकिरातले कसरी उपभोग गर्न थाले भन्ने सन्दर्भमा महेशचन्द्र रेग्मीका भनाइ यस्ता छन् :
माझकिरातको किपट व्यवस्थाले राम्रो उदाहरण दिन्छ कि कसरी पारम्पारिक अधिकार र विशेषाधिकार उल्लंघन गरिन्छन्, जब यहाँका बासिन्दा त्यसलाई जोगाउने काममा ज्यादै असंगठित र कमजोर प्रमाणित हुन्छन् ।
१९०७ सम्ममा सरकारले माझकिरातमा किपट उन्मूलन गर्नेतर्फ कदम बढायो । राईहरूबाट भएको कडा विरोधको बाबजुद प्रधानमन्त्री चन्द्रशमशेर (१९०१–२९)ले यस आदेशलाई १९१० मा पुष्टि गरे । १९४०–४१ को राजस्व निर्णयअनुसार त्यस क्षेत्रको किपटअन्तर्गतका सम्पूर्ण पाखो जमिन रैकर व्यवस्थाअन्तर्गत ल्याइयो । (किरात इतिहासको रूपरेखा पृ. ११४)
कुमार प्रधानका अनुसार :
कृषियोग्य भूमिलाई सरकारको नियन्त्रणमा लिने र भूमि कब्जा गर्ने नीतिलाई चर्को पारियो, जसबाट किपटअन्तर्गतको जमिन घट्दै जाओस् ।
लामो प्रक्रियाद्वारा पूर्वी नेपालमा जमिनको सामूहिक स्वामित्वलाई धेरै कम पारियो । त्यसपछि झन् शिक्षित ब्राह्मणहरूले अशिक्षित किरातहरूबाट फाइदा उठाउन सक्थे, जब किपटियाहरू ऋण लिन्थे, तब उनीहरूले आफ्नो जमिन फिर्ता पाउन असम्भव पारिएको हुन्थ्यो । (पृ. ११६) ।
यी विभिन्न व्यक्तिका भनाइका आधारमा किरातप्रदेश किपट थियो र गैरकिरातलाई बिक्री पनि हुँदैनथ्यो । किरातहरूको अधिनमा रहेको किपट भूमि आ–आफ्नै असंगठन, सोझोपन, घमण्डता, राज्यको कुटिल नीति, गैरकिरातहरूको जालझेल, चाप्लुसी र धार्मिक प्रभाव आदि कारणले किपट खोसिँदै गए पनि पूर्वप्रमाणका आधारमा विक्रम संवत् १९९९ मा आफ्नो पगरीका आधारमा ७ नम्बरे फाराममा किपट जमिन दर्ता गराई जिमी, तालुक, पगरी कायम राख्न केही सफल भए पनि कर चर्को तिर्नुपर्यो ।
अर्कोतिर गैरकिरातले चित्तेदारलाई कोसेलीपात, चाप्लुसी गरी आश्रित बन्दै खुसी पारेर किपट जमिनमा अधिकार लिने प्रयास गरे ।
परिणामतः १६ आना छपेली बन्ने अवसर पाए । उनीहरूको बाहुल्य बढ्दै जानुका साथै विक्रम संवत् २०२१ को भूमिसुधार कार्यक्रमले किपट व्यवस्था कमजोर बनाउँदै लग्यो । विक्रम संवत् २०४०–४१ को जग्गा नापी कार्यक्रमले यो परम्परा समाप्तै भयो ।
यसरी किपट व्यवस्था अन्त्य भए पनि किरातले आफ्नो भाषा, विशेषता, सामाजिक संस्कार आदिका आधारमा राखिएका ठाउँहरूको नामले आजसम्म पनि ऐतिहासिक विशेषता बोकेको पाइन्छ । ८९ वर्षीय केशवप्रसाद दाहाल भन्छन्, ‘हजार, एघार सय सालतिर यहाँका राई, मकवानलाई ब्राह्मण चाहिएकाले लामेसोती पुगेर हाम्रा नौ भाइ पुर्खामध्ये एक भाइलाई आफूले रोजेको ठाउँ दिने वचनसाथ ल्याइयो । उनले खोक्चिलिप्पा पाखो रोजेपछि ‘खोक्चिलिप्पा पाखो–कमेरेपानी–सनमजीखोला–धोबीखोला–राबुखोला पानीढोलो’ राईको किपटबाट कुशदान लिई हाम्रा पुर्खा बसेका हुन् । उक्त कुशदानपत्र हाम्रो वंशावलीमा छ । त्यतिबेला खोक्सेली मालतिघारी थियो । मालतीलाई चाम्लिङ भाषामा खोक्चिलिप्पा भनिन्छ । त्यही खोक्चिलिप्पा शब्द अहिले खोक्सेली हुन आएको हो । हात्तीवनका पौडेलहरू भने सल्लेबाट तावाखोला हुँदै च्यास्मिटार आइपुगी विक्रम संवत् १९१६ तिर नौ चित्तेदारलाई ।६४ पैसा असुल गरी गेलुङखोला, फुस्रेडाँडा, हात्तीवनखोला, दूधकोसी सीमा लिई बसेका र उक्त ६४ पैसा नौ चित्तेदारहरूले भाग लगाई लिएको कहानी सुनेको छु । छापडाँडा भने तत्कालीन समयको प्रशासनिक ठाउँ हो ।’
छापडाँडामा रहेका क्षेत्रीहरूमध्ये बुढाथोकी र राउत अगाडिदेखि बसिआएका हुन् । बुढाथोकीहरू पश्चिमबाट आएका रे, पश्चिम कुन ठाउँ, गाउँबाट आएका हुन् भन्ने आफूहरूलाई थाहा नभएको स्थानीय बुढाथोकीहरू बताउँछन् । राउत थरका सगोत्रे दुईखालका छन् । एकखाल भोजपुरको आमचोकबाट आएको स्वीकार्छन् । यहाँका राईहरूले ‘आशाफुइँकी’ नाम दिएको र अर्को खालबारे धेरै भनाइ भए पनि दोलखादेखि सिन्धुली, उदयपुर (राउतखर्क) हुँदै खोटाङको हौंचुरमा बसोवास गरिरहँदा हलेसी थुममा छाप काटेर जग्गा दिँदै छ रे भन्ने सुनेर हाम्रा पुर्खा हौंचुरदेखि छापडाँडा आई बसेका रे भन्ने उनीहरूको भनाइ सान्दर्भिक छ । उनीहरूका खलकलाई यहाँका राईहरूले ‘मनोघुर्की’ नाम दिइएको भनाइ छ । जुन शब्दहरूले आ–आफ्नोखालको विशेषता प्रस्ट्याउँछ भनिन्छ । यसरी राईहरूको किपट भूमिमा बसोवास गर्दै आउँदा हितेरीमितेरी हुँदै चित्तेदारहरूलाई खुसी पारी १६ आना छपेली छाप काटेर लिन सफल भएको भनिन्छ । जस्कर्ण राईको सन्तान कितापसिं राईको किपट दर्ताको पत्रमा कटुवाल, कार्की, राउत थरका क्षेत्रीहरूका नाम फट्केमा उल्लेख छन् । तर, उक्त पत्रमा मिति उल्लेख गरिएको छैन । सो पत्रमा यस्तो लेखिएको छ– हलेसीमध्ये छापडाँडाका पगरी कितापसिं राई जिम्माका देहायमा लेखिएबमोजिम घरदर दुरुस्त छ भनी सही गर्ने निज :
१. परसे कतुुवाल –X– फट्के– ।५०– ।६।१–––।५६।१
२. धोजे कारकी –X– फट्के– ।५०– ।६।१–––।५६।१
३. हर्कु राउत –X– फट्के– ।५०– ।६।१–––।५६।१
४. हस्तु राउत –X– फट्के– ।५०– ।६।१–––।५६।१
‘यहाँ फट्के शब्दले राईहरूको किपटमा बाहिरबाट आई बसेका रैतीलाई बुझाउँछ ।’–हर्कराज राई
दुर्छिमनिवासी ८८ वर्षीय अम्बरजित राईका अनुसार, ‘हलेसी थुमको नौ चित्तेदारले किपट कायम गराउन जिमी, तालुक, पगरी गोश्वाराबाटै छाप लगाई लिएको र छाप काटेर अरूलाई दिने अधिकार पनि लिएको थियो । होम्दिम्छा पाछाको को हो, कसबाट हो, बिराछाको ईश्वरमान राई पगरी जिम्माबाट डिल्लीसेर राईमार्फत १६/१६ आना छाप काटेर छपेली राउतहरूले लिएका हुन् । सोबापत वैशाखे ६ पाथी कोदो, असार बेठी–बेगारी, दसैं सिसार बोको, बोकोको मुखमा पोको ।५० पैसा तालुकलाई बुझाउनुपथ्र्यो । उसलाई अधिकार दिइएको १६ आना जग्गाभित्रको टिप रसिदमा पगरीवालाले झैं नाम भएको औंठीछाप लगाइदिन पाउँथ्यो ।’ राई थप्छन्, ‘१९९७ सालतिर तिरो उठाउन डिल्लीसेर राई छापडाँडा जाँदा बौद्धमान राउतले ‘भुत्ले किरुवा’ भन्दा हातमा भएको लठ्ठीले टाउको फोरिदिएर खुन चुसेपछि हीनतावोध गरी उनले छापडाँडा छाडेर गएकाले उनको सन्तान यहाँ छैनन् ।’ उनको भनाइ छापडाँडाका राउतहरूले पनि स्वीकार्दै २०४२ सालसम्म वैशाखे, असारे र दसैं सिसार बुझाउन गएको सुनाउँछन् ।
हर्कराज राई, डिगसेर राई र रोमबहादुर राईका अनुसार, यहाँका राउत क्षेत्रीहरूले टिप रसिदमा आफ्नो नामको छाप लगाए पनि १६ आना छपेलीभित्रको मात्र पाउँथ्यो । एउटा तालुकबाट आवाद र अर्को तालुकबाट खोरिया पाखा १६ आना मागी लिने गरेकाले यिनीहरू छपेली हुन् ।
ज्ञानसरी राईका अनुसार ‘कोतडाँडामा राई राजाको गढी थियो । र, यो डाँडामा तालुक, पगरीहरूको नामको औंठीछाप काट्ने र थुमभरिका नौ चित्तेदार बोलाई कामी राखेर माना, पाथी, तुलोमा छाप लगाउने ठाउँ भएकाले त्यो डाँडाको नाम छापडाँडा रहन गएको भनिन्थ्यो ।’
८२ वर्षीय पहलमान खत्रीका अनुसार, ‘हलेसी थुम बस्ने सबै क्षेत्रीहरू १६ आने ६ पाथे छपेली हुन् ।’ पहिला राईहरूको किपट भूमि हो भन्दै खत्री भन्छन्, ‘भाराङखोलो पानीढोलो तीनताराले छिनेको, बोझेगैरा, सट्टा हाली विजयखर्क किनेको । भालुखोला, मयाङ्खु भन्ज्याङ लोहोकिल गाडी हट्टी छुट्ट्याई सट्टापट्टा गरेको ।’ वास्तवमा मयाङ्खु भन्ज्याङमा गाडिएको लोहोकिल ढुंगामा ‘षिकामा’ र चारवटा अंक लेखिएका छन् । जसमध्ये एकमात्र बुझ्न सकिन्छ । र, त्यसपूर्वलाई माथिल्लो हट्टी र पश्चिमको भू–भागलाई तल्लो हट्टी भनिन्छ । प्रशासनिक कार्य सञ्चालनका लागि सजिलो पार्न यो काम गरिएको भनाइ छ ।
यसरी माना, पाथी, तुलो कुशदान, १६ आना छपेली सम्पूर्ण क्षेत्रको छाप काट्ने स्थान र प्रशासनिक इकाइको अड्डा रही छाप लगाउने स्थान भएकाले यस डाँडाको नाम ‘छापडाँडा’ रहन गएको सार्थक देखिन्छ । यस डाँडाको नाम छापडाँडा रहन गए पनि एकीकरणपूर्व र एकीकरणपश्चात् १९४१ सम्म किरात राईहरूको किपट भूमि थियो । यहाँका आदिवासी किरात राईहरू नै थिए ।’
सन्दर्भ–सामग्री
१. स्व. पुण्यबहादुर राईसँग रहेका कागजात ।
२. दुर्छिम गतिविधि (पाश्र्वचित्र), २०५८ ।
३. राई, टंकबहादुर, (२०६०), किरात इतिहासको रूपरेखा, काठमाडौं ।
४. दाहाल, केशवप्रसाद, हतुनपा–४ खोक्सेली ।
५. राई, अम्बरजित, हतुनपा–५ दुर्छिम ।
६. खत्री, पहलमान, हतुनपा–३ बोझे ।
७. राई, हर्कराज, रोमबहादुर, डिगसेर र ज्ञानसरी, हतुनपा–५ साल्तेम्मा ।
८. राउत, कर्णबहादुर, रामबहादुर, पृथ्वीबहादुर, हतुनपा–५ छापडाँडा ।
९. राउत, दीपेन्द्र, हतुनपा–३ च्यास्मिटार ।
१०. महरा, भक्तबहादुर र रामबहादुर हतुनपा–५ साल्तेम्मा ।
११. प्राविधिक सहयोगी
–शंकर साम्पाङ राई
–टिवन राई
–मदन राई
–सुरेश राई
(लेखक, दुर्छिम माध्यमिक विद्यालय दुर्छिम डाँडाका पूर्वप्रधानाध्यपक हुन् ।)