चाम्लिङ परिवारले गरेको काम अनुकरणीय/अनुशरणीय : मेयर राई


हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले स्वर्गीय इन्द्रसेर राई र गउनसरी राईको सम्मान र सम्झनामा विद्यालय प्रवेशद्वार (गेट), सिँढी र रेलिङ निर्माण गरेर डिल्ली चाम्लिङ र मौलासरी राईले अनुकरणीय र अनुशरणीय काम गरेको बताए ।

स्वर्गीय इन्द्रसेर राई र गउनसरी राईको सम्झनामा निर्मित गेट र सिँढी उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख राईले उदाहरणीय र सराहनीय काम गरेको भन्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडासदस्य चाम्लिङ र चाम्लिङ परिवारको प्रशंसा गरेका थिए ।

‘हामी सबैले पितृलाई सम्झन्छौं । सम्मान पनि गर्छौं । विरलै मानिसले सबैलाई सम्झन बाध्य पार्छन्,’ उनले थपे, ‘जसका कारण समुदायले पनि लाभ लिन्छन् । डिल्ली चाम्लिङले स्वर्गीय मातापितालाई सम्झँदै गर्दा हामी सबैले उहाँहरूलाई सम्झिरहेका छौं । उहाँहरूलाई सम्झँदै गर्दा महेन्द्रोदय माध्यमिक विद्यालयमा अध्यापनरत र अध्ययनरतसमेत लाभान्वित भएका छन् ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यसमेत रहेका डिल्ली चाम्लिङले शैक्षिक उन्नयनका लागि पुर्याएको योगदानप्रति हलेसीवासी जानकार छन् । ‘यस विद्यालयको शैक्षिक सुधार, सुशासनमात्रै नभएर अन्य सामाजिक काममा उहाँले खेलेको भूमिका लोभलाग्दो छ,’ नगरप्रमुख राईको भनाइ थियो, ‘उहाँले गर्नुभएको असल कामको हामीले अनुशरण गर्नुपर्छ । उहाँले गर्नुभएको पुण्य कामबाट हामीले सिक्नुपर्छ । उहाँले गर्नुभएको काम नगरपालिकाकै लागि चुनौती ठानेको छु । एक व्यक्तिले मातापिताको नाममा दुईदेखि अढाई लाख रुपैयाँको योगदान गर्नु भनेको सामान्य काम होइन ।’

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको महेन्द्रोदय माविको पूर्वपट्टि आकर्षक ‘गेट’, सिँढी र रेलिङसमेत निर्माण गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाका नगरउपप्रमुख बिमला राईले स्वर्गीय इन्द्रसेर राई र गउनसरी राईको सम्मान र सम्झनामा गेट, सिँढी र रेलिङ निर्माणले उहाँहरूको आत्मालाई शान्ति मिलेको विश्वास व्यक्त गरेकी थिइन् ।

नगरउपप्रमुख राईले गेट, सिँढी र रेलिङ निर्माणले विद्यालयको शोभा बढाएको बताइन् । ‘शिक्षा भनेको पूर्वाधारको पनि पूर्वाधार हो । त्यो कामका लागि शिक्षक–शिक्षिकाबाट ठूलो अपेक्षा राखेकी छु,’ उनले भनिन्, ‘गेट, सिँढी र रेलिङ निर्माणसँगै डिल्ली चाम्लिङको परिवारले विद्यालय परिवारसँग गुणस्तरीय शिक्षाको अपेक्षा गर्नुभएको बुझेकी छु । त्यसका लागि जिम्मेवारीसाथ काम गर्न शिक्षक–शिक्षिकासँग अनुरोध गर्छु । जुन काम तपाईंहरूले गर्दै आउनुभएकै छ ।’

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडाध्यक्ष चइन्द्र राईले वडासदस्य डिल्ली चाम्लिङ तथा चाम्लिङ परिवारले गरेको सामाजिक कामको उच्च प्रशंसा गरेका थिए । वडाध्यक्ष राईले अहिलेको स्वार्थी दुनियाँमा चाम्लिङ परिवारले गरेको नमुना कामबाट सबैलाई सामाजिक काम गर्न अभिप्रेरित गरेको जिकिर गरे ।

राजनीतिक नेतामात्रै नभएर समाजसेवीका रूपमा फराकिलो परिचय बनाएका डिल्ली चाम्लिङले पितृको सम्मान र सम्झनामा हामी सबैले सकेको काम गर्ने हो गाउँठाउँका सानातिना कामका लागि सरकारको मुख ताकिरहन नपर्ने सुनाए । समाजसेवी चाम्लिङले नाम कमाउन वा प्रचार–प्रसारका लागि नभएर बुवाआमाको सम्मान गर्दै शैक्षिक उन्नयनमा टेवा दिन यो काम गरेको दाबी गरे ।

महेन्द्रोदय माविको पूर्वपट्टि निर्मित ‘गेट’को ढोका फलामको रहेको छ । ‘गेट’ प्रवेश गर्न सजिलोका लागि १९ वटा सिँढीसमेत निर्माण गरिएका छन् । सिँढीको दायाँबायाँ फलामको रेलिङ लगाइएको छ । फलामको ढोकालाई रंगरोगन गरेर आकर्षक बनाइएको स्थानीय बताउँछन् । ‘गेट’, सिँढी र रेलिङ निर्माणका लागि २ लाख ३३ हजार ८ सय ८ रुयैयाँ ५७ पैसा खर्च भएको थियो ।

महेन्द्रोदय माविका पूर्वशिक्षक नवीन चाम्लिङद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता स्व. इन्द्रसेर राईको कान्छा भाइ छत्रसेर राईले गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेवती केसीलगायतका वक्ताले स्व. इन्द्रसेर राई र गउनसरी राईप्रति श्रद्धासुमन व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्